आनन्द विष्ट नेपाली कांग्रेसका प्रभावशाली नेता हुन्। कांग्रेसको पूर्वआमन्त्रीत केन्द्रीय सदस्यसमेत रहेका विष्ट नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापतिको जिम्मेवारीमा छन्। डोटी जन्मघर भई न्यूयोर्कमा बस्दै आएका विष्टले प्रवासमा पार्टीका गतिविधिहरूलाई क्रियाशील पार्दै आएका छन्। बाह्य देशसँग पार्टीको कूटनीतिक सम्बन्धलाई बलियो तुल्याउन पनि उनको अहम भूमिका छ। विष्टले त्यतिमात्र नभएर मुलुक विभिन्न दैविक विपत्तिमा पर्दा आर्थिक सहयोग गर्दै आएका छन्। गृहजिल्लामा एम्बुलेन्स उपलब्ध गराउन, भूकम्प पीडितहरूलाई सहयोग गर्न उनले देखाएको तत्परता निकै प्रशंसायोग्य छ। काठमाडौंको बुढानीलकण्ठमा समेत बसोबास रहेका विष्ट अधिकांश समय नेपालमा पनि बस्दै आएका छन्। उनी जहाँ सुकै हुँदा पनि पार्टीका गतिविधिहरूमा उत्तिकै क्रियाशील रहन्छन्। प्रस्तुत छ, अनलाइन पानाका लागि विष्टसँग वर्तमान राजनीति र कांग्रेसको भूमिकामा केन्द्रित रहेर गरिएको संवाद।
सरकारबाट बाहिरिएपछि कांग्रेस कुन रणनीतिमा छ?
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको इमानदार साथमाथि राजनीतिक बेइमानी गर्दै नयाँ गठबन्धन निर्माण गर्नु भयो। त्यो उहाँको राजनीतिक बेइमानी नै हो। प्रधानमन्त्री प्रचण्डमा अस्थिर चरित्र छ। उहाँले म जिउँदो हुँदासम्म देशमा उथलपुथल भइरहन्छ भन्नु नेपालीका लागि निकै दुर्भाग्यपूर्ण कुरा हो। उहाँको अभिव्यक्तिले देशमा कस्तो व्यक्तिले नेतृत्व गरिरहनु भएको छ भन्ने प्रस्ट पार्छ। प्रचण्डले राजनीतिक बेइमानी गरिसकेपछि देश र जनताका पक्षमा काम गर्न कांग्रेसले सरकारलाई सदन र सदन बाहिरबाट दवाव दिइरहेको छ। कांग्रेस जनताको साथमा छ र जनताको घरदैलोमा पुगिरहेको छ।
आफैँ राजनीतिक बेइमान भन्ने कांग्रेस सभापति शेरबहादुर देउवाले प्रचण्डलाई लुकिलुकी भेट्न थाल्नु भएको छ नि, यो चाहिँ के हो?
मुलुकको सबैभन्दा ठूलो राजनीतिक दलको पार्टी सभापतिले वर्तमान प्रधानमन्त्रीसँग भेट गरेर संवाद गर्नु स्वाभाविकै हो। त्यसमा राजनीतिक स्वार्थमात्र हुँदैन। अन्य विविध कारण पनि हुन्छन्। मुलुकमा भइरहेको राजनीतिक तरलताको निकास हुनुपर्छ भन्ने कांग्रेसको चाहना हो। राजनीतिक स्थायित्व मुलुकको आवश्यकता पनि हो। नेपालका ठूला राजनीतिक शक्तिहरूको २०४६ सालको जनआन्दोलनमा होस्, २०६२/६३ सालको आन्दोलनमा होस्, नेपालमा दुई पटक संविधान सभाको निर्वाचन सम्पन्न गरेर संविधान निर्माण गर्ने कुरामा होस् मुलुकको विकास र परिवर्तनका लागि ठूलो योगदान छ। त्यसैले मुलुकका ठूलो राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले मुलुकको अस्थिरतालाई सही बाटोमा ल्याउन मिलेर अगाडि बढ्नुपर्ने अवस्था देख्छु। प्रधानमन्त्री प्रचण्डले देखाउनु भएको भूमिकाले विकासको गतिमात्रै रोकिने नभएर जनतामा राजनीतिप्रति थप वितृष्णा बढाउने काम गरेको छ। उहाँको भूमिकाले राजनीतिप्रति जनताको विश्वास गुम्दै गइरहेको छ। यसले कुनै दिन ठूलो समस्या ल्याउन सक्छ। वर्तमान प्रधानमन्त्रीले दिने अभिव्यक्तिप्रति जनताले विश्वास नै गर्न छोडिसकेको अवस्था छ।
यहाँ गाली गर्दा हाइलाइट गर्ने परिपाटीको विकास डर लाग्दो रूपमा भइरहेको छ। राम्रा कुरा बोल्दा कसैले ध्यान नै दिँदैनन्।
राजनीतिक बेइमानको संज्ञा दिएका व्यक्तिलाई तपाईंको पार्टीका सभापतिले अपारदर्शी भेट गरिरहनु भएको छ, त्यस्तो भेटको अर्थ के हो?
शंका गर्न सकिन्छ। दुई नेताहरूबीच भएको भेटलाई शंकाको नजरले हेर्नु हुँदैन म भन्दैन। हाम्रो चाहना भनेको एउटै व्यक्तिबाट पटक-पटक कति धोका खाने भन्ने हो। प्रत्येक चार/चार, पाँच/पाँच महिनामा सरकार परिवर्तन भइरहने हो भने मुलुकको अर्थतन्त्रले पनि कसरी धान्छ। यस्तो अवस्था रहेमा देश कहाँ जान्छ भन्ने ठूलो चिन्ता हामीमा छ। फेरि पनि कांग्रेस-माओवादी गठबन्धन हुनु हुँदैन। त्यस्तो भएमा पार्टी र देशका लागि फाइँदा हुँदैन। ३२ सिटको बलमा सबै पार्टीलाई धोका दिँदै आफैँ प्रधानमन्त्री बन्ने प्रचण्डको खेल हो। उहाँलाई देश र जताको माया छैन। प्रचण्डको गैरजिम्मेवार भूमिकाप्रति जिम्मेवार दलहरूले सोच्नुपर्ने बेला आइसकेको छ। सत्ताको स्वाद लिनु कसैका लागि पनि नौलो विषय रहेन। नयाँ आएका दलहरू पनि दुई/दुई पटक सत्तामा गइसक्नु भएको छ। यो नयाँ राजनीतिक दलको पनि परिक्षणकाल हो। अहिलेसम्म उहाँहरू बाहिरबाट अरूलाई गाली गर्दै स्थापित हुनु भएको छ। काम गर्ने क्षमता कति छ?, उहाँहरूको भिजन के छ?, मुलुकको अर्थतन्त्रलाई कता लैजानुहुन्छ? जनताका समस्यालाई कसरी समाधान गर्नुहुन्छ?, तरलतामा रहेको राजनीतिलाई कसरी ट्रयाकमा ल्याउन सक्नुहुन्छ? भन्ने परीक्षणमा नयाँ राजनीतिक शक्ति रहेकोमा उहाँहरूको भूमिका पनि आस लाग्दो देखिएन। अनियमितता, न्यायालयका कुरा, सरुवा-बढुवाका कुरामा नयाँ शक्तिहरूको चरित्र उदाङ्गो भइसकेको छ। नयाँ राजनीतिक दलका पदाधिकारीहरूले स्ट्यान्डबाजीमात्र जान्नु भएको छ। यहाँ गाली गर्दा हाइलाइट गर्ने परिपाटीको विकास डर लाग्दो रूपमा भइरहेको छ। राम्रा कुरा बोल्दा कसैले ध्यान नै दिँदैनन्। प्रहरीमा नेताहरूका पिएसओको धमाधम बढुवा हुँदा एक नम्बरका प्रहरी अधिकारीहरू ओझेलमा पर्नुभयो। हिजो सत्ता बाहिर हुँदा नयाँ राजनीतिक दलका साथीहरूले यही कुराको विकास गर्नु भएको होइन? अनि आज आफैँ गृहमन्त्री हुँदा नेताहरूका पिएसओलाई किन बढुवा गर्या? कता हरायो नैतिकता? हिजो पत्रकार हुँदा घोक्रो फुट्नेगरी नेताहरूले अनियमितता गरेको भन्दै आलोचना गर्ने व्यक्ति सोही ठाउँमा पुग्दा आफैँले किन सोही प्रवृत्ति दोहोर्याएको? यो सब खोक्रो आदर्श रहेछ भन्ने त देख्खिसक्यो नि।
ती व्यक्तिसँग कांग्रेसले नै सत्ता सहकार्य गर्ने अवस्था पनि त आउन सक्छ नि?
नेपालको संविधानमै एकल पार्टी निर्वाचनमा होमिने कुरा उल्लेख गर्नुपर्छ। अन्यथा गठबन्धन बनाएर निर्वाचनमा होमिने हो भने यो अवस्था यस्तै भयावह रहन्छ। सरकार निर्माण गर्दा कसै न कसैसँग मिलेर नै अगाडि बढ्नुपर्ने जनम्यान्डेट छ। एकल बहुमत नभएका कारण विभिन्न दलहरूबीच गठबन्धन गरेर अगाडि बढ्नु पर्ने भएकाले कांग्रेस पनि त्यसबाट अछुतो रहन सक्दैन। प्रचण्ड र नयाँ राजनीतिक शक्तिका नेताहरूको चरित्र देख्खिसकेकाले कांग्रेसले अहिलेको अवस्थामा सत्ता सहकार्य गरेर अगाडि बढ्नु हुँदैन भन्नेमा म दृढ छु। कांग्रेसले यसको दीर्घकालीन समाधान खोज्नुपर्छ।
अहिलेको अवस्थामा राजनीतिक स्थायित्वका लागि के गर्नुपर्ला?
अहिलेको अवस्थामा नेपाली कांग्रेस र एमालेले मिलेर स्थायी समाधान खोज्नुपर्छ। कांग्रेस र एमालेलाई देशको लोकतन्त्र, गणतन्त्र, संविधान र जनताप्रति माया छ। उहाँहरू जनताप्रति उत्तरदायी पनि हुनुहुन्छ। यी कुराको महसुस गरेर दुईटा पार्टीले मिलेर अगाडि बढ्नुपर्छ।
महा काण्डका नाइकेहरू अहिले सरकारमा छन्। उहाँहरूले आफ्ना काण्डलाई छायामा पार्न अरू काण्डहरू बाहिर ल्याइरहनु भएको छ।
तपाईंहरूले यति बु्झ्नुभा छ। तर, एमालेसँग सत्ता सहकार्य गर्न किन तयार हुँदैन कांग्रेस?
नेकपा एमालेसँग मिल्नु हुँदैन भन्ने धारणा हाम्रो सभापतिको छैन। सबै दललाई मिलाएर लैजान सक्ने क्षमता भएको व्यक्ति नै कांग्रेस सभापति हो। हामी त सधैँ एमालेसँग संवादका लागि तयार छौं। तर, एमाले नै तर्किएर परपर जान्छ। तर पनि अब कांग्रेस र एमाले एउटा विन्दुमा आउनुपर्छ भन्ने मेरो धारणा हो।
गृहमन्त्रीमाथि छानबिन गर्न माग गर्दै कांग्रेसले सदनमा कुरा उठाइरहेको छ, सत्ता गठबन्धनले छानबिन समिति बनाउने लक्षण देखाएको छैन। अब कांग्रेसले के गर्छ?
महा काण्डका नाइकेहरू अहिले सरकारमा छन्। उहाँहरूले आफ्ना काण्डलाई छायामा पार्न अरू काण्डहरू बाहिर ल्याइरहनु भएको छ। गृहमन्त्री रवि लामिछाने कुन नैतिकतामा बसेर सत्तामा हुनुहुन्छ भन्ने कुरा प्रस्ट भइसकेको छ। उहाँको आफ्नै नागरिकताको विषय छानबिनमा छ, सहकारी ठगीको विषय छानबिनमा छ। उहाँ काण्डै काण्डमा आफैँ मुछिनु भएको छ। प्रधानमन्त्री, एमाले अध्यक्ष र देशका आइजिपीहरू सत्ता स्वार्थका लागि उहाँका बचाउनुमा उत्रिनु भएको छ। यो निकै लज्जाको विषय हो।
कांग्रेस मुलुकको ठूलो दल भएर पनि राजनीतिक पेलान्तमा छ नि है?
कांग्रेसलाई कसैले पेल्न सक्दैन। कांग्रेसलाई कसैले भित्तामा पुर्याउन सक्दैन। कसैले त्यस्तो सोच्छ भने त्यो दिवासपनामात्र हो। कांग्रेस जनताको पार्टी हो। कांग्रेसलाई जनताले विश्वास र माया गरिरहनु भएको छ र गरिरहनु हुनेछ भन्नेमा हामी विश्वस्त छौं।
प्रतिक्रिया