अमेरिकी इतिहासमा डेमोक्राटिक पार्टीका उम्मेद्वार जो बिडेन सबैभन्दा बढी मत हासिल गर्ने व्यक्ति बनेका छन् । योसँगै उनले १२ वर्ष अघि २००८ मा पूर्व राष्ट्रपति बराक ओबामाले बनाएको रेकर्ड तोडेका छन् ।
नेश्नल पब्लिक रेडियो (एनपीआर) को समाचार अनुसार चार नोभेम्बरसम्ममा बिडेनले ७.०७ करोड मत प्राप्त गरेका छन् । जुन अहिलेसम्म राष्ट्रपति पदको चुनावमा एकजना उम्मेदवारले प्राप्त गरेको सबैभन्दा बढी मत हो ।
एनपीआरका अनुसार यो संख्या २००८ को चुनावमा ओबामाले प्राप्त गरेको मतभन्दा झन्डै ३ लाखले बढी छ । बिडेनले लोकप्रियतामा मतको आधारमा ओबामालाई पछाडि पारिदिएका छन् । २००८ मा ओबामाको पक्षमा ६ करोड ९४ लाख ९८ हजार ५ सय १६ मत खसेको थियो ।
बिडेनले वर्तमान राष्ट्रपति तथा रिपब्लिकन पार्टीका उम्मेद्वार डोनाल्ड ट्रम्पलाई ह्वाइट हाउसको दौडमा कडा टक्कर दिइरहेका छन् । बिडेन अहिलेसम्म लोकप्रियताकोे हिसाबले ट्रम्प भन्दा २७ लाख मतले अगाडि छन् । जति धेरै मतगणना भईरहेको छ त्यति नै बिडेन र ट्रम्पबीचको मतको भिन्नता बढिरहेको छ ।
एनपीआले भने अनुसार अझै पनि लाखौं मत गणना हुन बाँकी नै छ । जसमा क्यालिफोर्नियालगायतका शहरहरू पर्दछ । अहिलेसम्म जम्मा ६४ प्रतिशत मत गणना गरिएको छ । बुधवारसम्म ट्रम्प पनि ओबामाको रेकर्ड नजिक पुग्न लागेको छ । ट्रम्पले पनि ६.७३२ करोड मत पाईसकेका छन् ।
एनबीसी न्यूजका अनुसार यस पटक करिब १० करोड मतदाताले ई–मेल मत–पत्रमार्फत मतदान गरेका छन् । जसमध्ये अझै पनि २.३ करोड मत गणना गर्न बाँकी छ ।




















प्रतिक्रिया