Logo

राजनीति

प्रधानमन्त्री ओलीको त्यो प्रस्ताव गोकर्ण विष्टले गरिदिए ठाडै अस्विकार



सत्तारुढ दल अहिले फुटको संघारमा पुगेको छ । पूर्व माओवादी र पूर्व एमाले कित्ता दुई धुर्वमा बाँडिएका छन् । पुष्पकमल दाहाल प्रचण्डको समुहलाई माधव नेपालको समुहको पनि साथ छ ।

प्रधानमन्त्रीले एकलौटी रुपमा मन्त्रीमण्डल पुनर्गठन गरेको, कर्णाली प्रदेशमा मुख्यमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव ल्याउन उक्साएको लगायतका आरोप लगाउँदै प्रचण्ड खेमा अहिले विरोधमा छ ।

यस्तो अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले गोकर्ण विष्टलाई मन्त्री बन्न प्रस्ताव गरेको खुलेको छ । ११ महिना अघि मन्त्रीबाट हटाएकै कारण पनि निकै ठूलो आलोचना सहेका प्रधानमन्त्रीले फेरी विष्टलाईइ मन्त्री बन्ने प्रस्ताव गरेको बुझिएको छ ।

अघिल्लो वर्षको मंसिर ४ गते मन्त्रिपरिषद् पुनर्गठन गर्दै श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रीबाट बिष्ट हटाएर रामेश्वर राय यादवलाई मन्त्री बनाएका थिए ।

राम्रो काम गर्ने मन्त्रीको सूचीमा रहेका विष्ट लगायतका केही मन्त्रीलाई हटाएको भन्दै आलोचना भएको थियो । कार्य सम्पादन मुल्यांकनमा राम्रो अंक ल्याएका बिष्ट, लालबाबु पण्डितसहितका मन्त्रीलाई हटाएका हुन् ।

हालै गएको बडादशैँका बेला बालुवाटारमा बोलाएर बिष्टलाई प्रधानमन्त्री ओलीले मन्त्री बन्न प्रस्ताव गरेको स्रोतले बताएको छ । तर उनले प्रधानमन्त्रीको यस्तो प्रस्ताव अस्विकार गरेका छन् ।

अघिल्लो वर्ष राम्रो काम गर्न नसकेको वा आवश्यकता नठानेर हटाइएको आफूलाई पुनः मन्त्री बनाउँदा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको कडा आलोचना हुने भन्दै उनले अस्विकार गरेको बुझिएको छ ।

नेकपा विवादको संघारमा पुगेका बेला बिष्टलाई मन्त्री बन्न प्रधानमन्त्री ओलीले प्रस्ताव गरेका हुन् । पूर्व एमाले पक्षधरलाई एकजुट बनाउने उद्देश्यले प्रधानमन्त्री ओलीले उनलाई मन्त्री बनाउन प्रस्ताव गरेका हुन् ।

सोमबार बिष्टले नेता र पार्टी भन्दा ठूलो देश र जनता मान्नुपर्ने बताएका छन् । देश र जनतालाई केन्द्रभागमा राखेर अघि बढ्नु पर्ने भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘देश र जनता भन्दा नेता ठूलो, पार्टी भन्दा गुट ठूलो ठान्ने प्रवृत्तिलाई सच्याएर मात्रै आन्दोलनलाई थप सशक्त र एकताबद्ध बनाउन सकिनेछ ।’

प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार  ७ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।