Logo

राजनीति

औपचारिक बैठकको आयोजना गरियो भने त्यो नै फुटको घोषणाको बिन्दु हुने ओलीले भन्नुभयो – प्रचण्ड



सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले औपचारिक बैठकको आयोजना गरियो भने त्यो नै फुटको घोषणाको बिन्दु हुने बताएको अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

केन्द्रीय कार्यालय धुम्बाराहीमा सहभागी सचिवालय सदस्यहरुसँग उनले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले औपचारिक बैठक राखे पार्टी फुटको बिन्दु नै त्यही हुने बताएको ब्रिफिङ भएको हो । 

प्रधानमन्त्री ओलीले औपचारिक बैठक नराख्न भनेपछि उनकै सल्लाहमा अध्यक्ष प्रचण्डले अनौपचारिक बैठक राख्नुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। अनौपचारिक छलफलका लागि नाै जना सचिवालय सदस्यलाई नै बोलाइएको तर बैठकमा पाँच जना मात्रै सहभागी हुनुभएकाे प्रवक्ता श्रेष्ठको भनाइ छ । शुक्रबारकाे छलफलमा अध्यक्ष प्रचण्डसहित उपाध्यक्ष वामदेव गौतम, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनाल एवं प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनुभएको थियो । 

बैठकमा प्रधानमन्त्री ओलीसहित महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा र उपप्रधानमन्त्री ईश्वर पोखरेल सहभागी हुनुभएन । औपचारिक बैठक भएको भए अनिवार्य उपस्थित हुनुपर्ने तर अनौपचारिक भएकोले कार्य व्यस्तताका कारण आउन नसक्नुभएको प्रवक्ता श्रेष्ठले बताएका छन् । बैठकले पछिल्लो समय देखिएका विवाद समाधानका लागि जतिसक्दो छिटो बैठक डाक्न प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीसँग आग्रह गर्ने निर्णय गरेको छ ।

शनिबार ओलीलाई भेटेर सहमतिको आधारमा जतिसक्दो छिटो बैठक डाक्न आग्रह गरिने छलफलमा सहभागी भएका सचिवालय सदस्यहरुको भनाइ छ । प्रवक्ता श्रेष्ठका अनुसार शुक्रबार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीकै सहमतिमा अनौपचारिक छलफल गरिएको हो ।

गएको भदौ २६ को स्थायी कमिटी बैठकले गरेको सहमतिअनुसार शीर्ष नेताहरु अघि बढ्न नसक्दा समस्या भइरहेको प्रवक्ता श्रेष्ठले बताए ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता, भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुखसँग प्रधानमन्त्री ओलीको भेट, राजदूत नियुक्तिलगायत विषयमा विवाद हुँदा नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डबीचको तिक्तता बढेको छ ।

प्रकाशित मिति : कार्तिक २१, २०७७ शुक्रबार  ९ : ३१ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।