Logo

राजनीति

केपी ओली बिच्किए के होला ?



सत्ताधारी दल नेकपा भित्रको विवाद छताछुल्ल भयो । एकता हुँदै शंका चुलिएको यो पार्टीको एकताको समयमा जस्तो शंका भयो त्यस्तै अन्तर्य झल्किरहेको छ । पार्टी तितरबितर भइरहेको छ । समाल्ने पाईलटहरुनै नेतृत्व विवादले तनाबमा परेकाछन् । विवाद बढ्दै गएपछि नेकपाका सचिवालय सदस्यहरुले आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने भएका छन् । 

वार्ताका लागि समय मिलाइएको प्रधानमन्त्री निकट श्रोतले जनाएइको छ । नेकपाको सवैभन्दा माथिल्लो संरचनाको रुपमा रहेको नौ सदस्यीय सचिवालय सदस्य मध्ये असन्तुष्ट पक्षले आज पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई भेट्ने भएका हुन् ।

त्यसका लागि अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता एबं पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र झलनाथ खनालहरु केहि दिनदेखि छलफलमै जुटेकाछन् । उनीहरुले आज भेटेर पार्टीको बैठक बोलाउन ओलीलाई आग्रह गर्नेछन् । अस्विकार गरेमा कार्यकारी अध्यक्ष दाहालकै नेतृत्वका पार्टीका काम अगाडि बढाउने असन्तुष्ट पक्षको तयारी छ । 

पार्टी मुख्यालय धुम्बाराहीमा हिजो बसेको बहुमत सचिवालय सदस्यहरुको अनौपचारिक बैठकले ओलीलाई भेटेर सचिवालयको बैठक बोलाउन माग गर्ने निर्णय गरेको थियो । हिजोको बैठकमा प्रधानमन्त्री बाहेक अन्य सवैलाई बोलाइएकोमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ गरी पाँच जना सहभागी हुनुभएको थियो ।

तर प्रधानमन्त्री ओलीसहित उपप्रधानमन्त्री इश्वर पोखरेल, अर्थमन्त्री तथा पार्टीका महासचिव विष्णु पौडेल र गृह मन्त्री रामबहादुर थापा बादल गरी चार जना भने सहभागी हुनुभएको थिएन । बैठकमा सचिवालय सदस्यको बहुमत भएपनि अहिले नै बहुमतीय प्रक्रियामा जानुभन्दा सहमतीय प्रक्रियालाई नै जोड दिनुपर्ने निश्कर्षका साथ ओलीलाई भेटेर बैठक बोलाउन माग गर्ने निर्णय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

विषेश गरेर भारतीय गुप्तचर प्रमुख सामन्त कुमार गोयलसँगको गोप्य र रहस्यम भेटवार्ता, मन्त्रीहरुको चयन, सरकारका कतिपय विवादास्पद निर्णय, पार्टी एकिकरणको बाँकी कामलगायतका विषयमा छलफल गर्न उनीहरुले सचिवालय बैठक बोलाउन माग गर्दै आएका छन् ।

पार्टी अध्यक्ष ओलीले भने अहिले बैठकको आवश्यकता नरहेको भन्दै बैठक बोलाउन अस्विकार गर्दै आउनु भएको छ । ओलीले पार्टी फुटाएर जान अर्का अध्यक्ष प्रचण्डलाई सुझाव दिएको विषयले पनि पार्टी भित्रको विवाद चर्किदै गएकाले बैठकको आवश्यकता भएको असन्तुष्ट पक्षको दावी छ ।

तर प्रधानमन्त्री एबं अध्यक्ष ओली बिच्किए के होला ? भन्नेमा पार्टीका नेता,कार्यकर्ता चिन्तित रहेकाछन् । अहिलेको पार्टी भित्रको असहजताले आम नागरिकमा नकारात्मक सन्देश समेत गएकोमा उनीहरु चिन्तित भएका हुन् । 

प्रकाशित मिति : कार्तिक २२, २०७७ शनिबार  ४ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।