Logo

राजनीति

प्रचण्डसहितका बहुमत सचिवालय सदस्यले बुझाए प्रधानमन्त्री ओलीलाई लिखित पत्र



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित पाँच जना सचिवालय सदस्यले प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर लिखित पत्र बुझाएका छन्।

शनिबार बिहान धुम्बाराहीमा अनौपचारिक छलफलपछि दाहालसहितका नेताहरुले सचिवालय बैठक माग गर्दै प्रधानमन्त्रीलाई लिखित पत्र बुझाएका हुन्। शनिबार बालुवाटारमा अध्यक्ष ओलीसंग भेट गर्दै पार्टीभित्र देखिएका समस्या र तत्कालिन राजनीतिक परिस्थितिबारे निक्र्यौलमा पुग्न बैठक अपरिहार्य रहेको निष्कर्शसहित लिखित अनुरोध गरिएको सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।

कोरानाले सिर्जना गरेको संकट सम्बोधन गर्न, स्थायी कमिटिले गरेका निर्णयहरुको कार्यान्वयन प्रक्रिया अगाडि बढन नसकेको स्थितिको समिक्षा तथा पार्टीमा उत्पन्न संकटको बारेमा छलफल गरेर पार्टीको एकताको रक्षा गर्न समयमा नै छलफल आवश्यक रहेकाले तत्काल सचिवालयको बैठक बोलाउन लिखित अनुरोध गरेको उनले बताए। सो क्रममा अध्यक्ष ओलीले बैठकका बारेमा निष्कर्श नदिएको प्रवक्ताको भनाई छ ।

लिखित पत्र बुझेपछि प्रधानमन्त्री ओलीले दाहाल लगायतका नेताहरुले गुटबन्दी गरेको भन्दै आपत्ति जनाएका थिए। अध्यक्ष दाहालसहित वरिष्ठ नेताहरू झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ छलफलका लागि बालुवाटार पुगेका थिए।

प्रकाशित : २३ कार्तिक २०७७, आइतबार