Logo

मलेसियामा महामारी पुनः फैलिन थालेपछि नयाँ श्रमिक लैजाने योजना अनिश्चित



नेपालीको श्रम गन्तव्य मलेसियामा कोभिड–१९ महामारी पुनः फैलिन थालेपछि नयाँ श्रमिक लैजाने योजना अनिश्चित बनेको छ । कोभिड–१९ महामारी नियन्त्रणमा आएको भन्दै मलेसियामा जनवरीदेखि नयाँ श्रमिक लैजाने योजना बनाइएको थियो ।

‘नयाँ श्रमिक ल्याउन मागपत्र प्रमाणीकरण गर्ने सोचमा थियौं । यहाँ फेरि संक्रमण फैलिन थाल्यो । अब नयाँ श्रमिक ल्याउने अवस्था छैन । सम्भवतः भ्याक्सिन नआएसम्म नयाँ श्रमिक आउन सक्दैनन्,’ मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले भने ।

मलेसियाले जुन पहिलो सातादेखि सेप्टेम्बर पहिलो सातासम्म कोभिडलाई नियन्त्रणमा राखेको थियो । त्यसपछि भने दिनहुँ संक्रमण बढिरहेको छ । शनिबार १ हजार १ सय ६८ जनालाई संक्रमण देखिएको थियो । नयाँ श्रमिक ल्याउने अवस्था नभएपछि रोजगारदाता कम्पनीहरूले करार अवधि समाप्त भएका नेपाली श्रमिकलाई घर आउनसमेत दिएका छैनन् । रोजगारदाताले अवधि सकिएका श्रमिकलाई फकाएर करार नवीकरणका लागि आग्रह गर्न थालेको पाण्डेले बताए ।

मलेसियाले श्रमशक्तिको संकटलाई समाधान गर्न आन्तरिक बजारबाटै विदेशी श्रमिक आपूर्ति गर्न पाइने गरी सहजीकरण गर्न थालेको छ । यसअघि अन्य रोजगारदाता कम्पनीमा काम गर्ने श्रमिकलाई आपूर्ति गर्न निकै कठिन थियो । यसले रोजगारी गुमाएर मलेसियामै काम गर्न इच्छुक नेपालीसहित विदेशी श्रमिकले मलेसिया छाड्नुपर्ने छैन । याे खबर कान्तिपुर दैनिकमा छ ।

प्रकाशित : २४ कार्तिक २०७७, सोमबार