Logo

अनलाइनपाना खोज

सिंहदरबार धाउँदै सम्पत्ति थुपार्दै चन्द्र ढकाल, सरकारी सम्पत्तिमा हालीमुहाली



काठमाडौं । वाग्लुङबाट रित्तो हात काठमाडौं आएका व्यक्ति हुन् व्यापारी चन्द्र प्रसाद ढकाल । उनको व्यापारीक यात्रा खासै लामो छैन तर अहिले उनको सम्पत्ति हिसाब गर्ने हो भने खर्बको रेन्जमा छ ।

होटल, बैंक, सिमेन्ट, गाडी, पार्टपुर्जा, रेमिट्यान्स, इन्स्योरेन्स, डिजिटल कम्पनी, विभिन्न उद्योगहरु तथा देशभर सार्वजनिक सम्पत्तिमा बनेका केवलकारका उनी मालिक हुन् । उनका ठुला कम्पनी सयको नजिक पुगेका छन् । उनले गर्ने मुख्य काम भनेको राजनीतिक दल तथा शक्तिकेन्द्र धाउने, पैसाको आडमा आफू अनुकूल नीति ल्याउन लगाएर व्यापार विस्तार गर्ने मात्रै हो ।

व्यापारी ढकालको अधिकांश समय आजकल सिंहदरबारमै बित्छ । उनी आफ्ना नियमित काम समेत थाती राखेर सरकारका मन्त्री, सांसद र सचिवहरुलाई दैनिक भेट्ने गर्छन् । उनीहरुसँग भेटेर अनेक प्रलोभन देखाउने र उनीहरूबाट अनुचित फाइदा दिने ढकालको दैनिकी काम नै बनेको छ ।

ढकाल आफू निकट रहेका मुख्य सचिवदेखि अन्य सचिवहरुसँग दैनिक भेटघाटमा व्यस्त रहन्छन् । सरकारी प्रशासनमा यति ठूलो पहुँच राख्ने ढकाल किन हरेक दिन गृह मन्त्रालय र मुख्य सचिवको कार्यालयमा पुगिरहेका छन् भन्ने कुरा खोज्दै जाँदा कर्मचारीलाई प्रलोभनमा पारेर फाइदा लिने गर्दा रहेछन् ।

देशभर सार्वजनिक सम्पती हडपेर आफ्नो निजी व्यापार विस्तार गर्दै आएका ढकाल यतिबेला खर्बौंका मालिक हुन्, तर उनी नेपालमा लगानी गरेर पछुतो लागेको भन्दै सरकार तथा आम सर्वसाधारणको सहानुभूति बटुल्न थालेका छन् । तर सार्वजनिक सम्पती कौडीको भाउमा हत्याउन सफल व्यापारी ढकालको काममा पाथीभराका स्थानीयले नै साथ नदिएपछि उनको व्यापार विस्तारमा ब्रेक लागेको छ ।

नेपालमै बसेर खर्बौंको सम्पत्ति जोड्न सफल ढकाल अहिले उल्टै नेपालमा लगानी गर्नु गल्ती भएको भन्दै प्रचार-प्रसार गर्दै अन्य लगानीकर्ताको समेत मनोबल गिराउने काम गरिरहेका छन् । विदेशी लगानीको प्रशंसा गरेर नथाक्ने तर देशमै लगानी गर्दा फाइदा नहुने भन्ने उनको भनाइ आश्चर्यजनक छ ।

ढकालले नेपालमै यत्ति धेरै सम्पत्ति जोडे कि उनको निजी सम्पत्ति देख्नेहरु अहिले जिब्रो टोक्ने गर्दछन् । तै पनि नेपालमा लगानी गरेर पछुताएको भन्न उनले भ्याएका छन् ।

ढकाल जुन सरकार आए पनि फाइदा लिन सक्ने व्यक्तिमा पर्छन् । कुनै समय उनी आफुलाई माओवादी भन्दथे । अनि एमालेको सरकार छ त्यसैले उनी आफुलाई एमाले हुँ भन्छन् । कुनै समय वाग्लुङकै माओवादी सांसद देवेन्द्र पौडेलसँग मिलेर सिंहदरबार छिर्ने गरेका चन्द्र ढकाल अहिले ठुला पार्टीका शिर्ष नेतासँग मिलेर व्यापार विस्तार गरिरहेका छन् । राजनीतिक रंग बदल्न माहिर ढकाल जसको सरकार आउँछ, आफू त्यसकै मान्छे भएको दाबी गर्दै हिँड्छन् ।

सरकार परिवर्तनसँगै उनी सत्ता नजिक पुग्ने तरिकाले काम गर्छन् । उनको यो काम गर्ने शैलीले हरेक सरकारका आर्थिक गतिविधि उनको नजिक रहन्छन् ।

त्यतिमात्र होइन सरकारी सम्पत्ति कसरी हत्याउन सकिन्छ त्यो उनलाई राम्रोसँग थाहा छ । त्यसो त चन्द्र ढकाललाई साथ दिएर सरकारी अधिकारी धेरैले फाइदा पनि लिएका छन् । स्थानीय जनप्रतिनिधि तथा सरकारी कर्मचारीकै मिलेमतोमा चन्द्र ढकाललाई अहिले देशैभरीका ठुला डाँडाहरु कौडीको मुल्यमा भाडामा लगाइएको छ ।

यसरी सरकारी सम्पत्ति सजिलै दोहन गर्न पाइने भएपछि उनले चन्द्रागीरिदेखि लिएर देशका कैयौं ठाउँमा केवलकारको नामबाट सरकारी जंगल दोहन गरेका गरिसकेका छन् । यो शृङ्खला अहिले पाथीभरा केवलकारसम्म पुग्दा स्थानीयले नै विरोध जनाएपछि विवादास्पद बनिरहेको छ ।

नेपालीमा एउटा उखान छ ‘आफ्नै हात जगन्नाथ’ यो उखान उनै चन्द्र ढकाललाई लागु भएको छ यतिबेला । किनकी उनी नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष हुन् । उनी ग्लोबल आइएमई बैंकको पनि अध्यक्ष हुन् । आफ्नै बैंक भएपछि बैंकबाट जसजसलाई जति पैसा बाँड्न पनि मिल्यो । कुनै समय राष्ट्र बैंकले व्यापारी र बैंकरलाई अलग गर्नुपर्ने अबधारणा अधि सारेको थियो । तर त्यो अवधारणा अन्तत लागु भएन चन्द्र ढकालजस्तै अरु पात्रको समेत दवाबबाट ।

अहिले चन्द्र ढकालले बैंकबाट पैसा चलाउने माध्यम बनेका छन् बैंकका डेपुटी सिइअओ सुमन पोख्रेल । ‘आफ्नै बैंक भएपछि चन्द्र ढकालले भनेको कुरा मान्नै पर्ने भयो । कर्मचारीको अरु के नै उपाय हुन्छ र ।’ बैंकका सिइओ र डेपुटी सिइओले विभिन्न ठाउँमा भन्दै आइरहेको कुरा हो यो । कुन कुन समुहलाई कति रकम दिने र कुन शक्तिलाई कति दिने भन्ने कुुरा बैंकका कर्मचारीले उनै चन्द्र ढकाललाई सोध्ने गर्दछन् ।

बैंकमा मात्रै होइन उनले सहकारीबाट पनि उसैगरी रकम अपचलन गर्दै आएका छन् । विभिन्न निजी कम्पनी खडा गर्ने, त्यसको आइपीओ बाड्ने र आइपीओबाट जनताको रकम उठाउने उनको अर्को गज्जवको रणनीति छ ।

प्रकाशित मिति : १० चैत्र २०८१, आईतवार ११:४३   :  बजे

11.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।