Logo

राजनीति

रामचन्द्र, शशांक र सिटौलालाई देउवाले यसरी थर्काए



पार्टीका संस्थापक नेता विपी कोइरालाको १०७ औ जन्मजयन्तीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेताहरुलाई थर्काएका छन् । प्रतिकुल परिस्थिति रहेको जानकार हुँदाहुँदै आफूमाथि मात्रै दोष थोपरेर महाधिवेशन महाधिवेशन भनेर गनगन गरेपछि देउवाले विपीकै जन्मजयन्तीमा नेताहरुलाई हप्काएका हुन्।

देउवाले १४ औं महाधिवेशनबारे आफू पनि चिन्तित रहेको बताउँदै परिस्थिति नै प्रतिकुल रहेकाले कसरी टाइममा गर्ने भनि नेताहरुमाथि प्रश्न तेर्स्याए । कांग्रेसको महाधिवेशन फागुनमा तोकिएको छ । तर कोभिड महामारीका कारण वडा गाउँ र जिल्लाको काम समेत अघि बढेको छैन ।

यस्तो बेला फागुनमा महाधिवेशन नहुने देखिँदै गर्दा नेताहरुले देउवामाथि प्रश्न उठाइरहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल, कृष्ण सिटौला, महामन्त्री शशांक कोइरालाले आफूमाथि प्रश्न उठाइरहेका बेला देउवा उनीहरुसँग जंगिएका हुन् ।

आफू अधिवेशन हुनुपर्छ भन्ने पक्षमा रहेको र समयमै महाधिवेशनका लागि आफूले हरसम्भव प्रयास गरेको सभापति देउवाको भनाई थियो ।

‘अधिवेशन हुनैपर्छ। हुनै नसक्ने अवस्था आए सबै साथीहरुले जे भन्छ म त्यही गर्न तयार छु। कोरोनाका कारण हुँदैन भने मैले के गर्न सक्छु। सार्नुपर्ने भए कहिले सार्ने ? देउवाले सोधे, ‘मलाई पनि थाह छ संविधानअनुसार एक वर्षभन्दा बढी बढाउनुहुन्न भनेर । भन्नै पर्दैन।’

सरकारले कोरोनाको नाममा भ्रष्टाचार गर्नेबाहेक केही नगरेको बताउँदै सभापति देउवाले प्रश्न गरे, ‘हामी त आन्दोलन गर्ने पक्षमा हो । तर कोरोनाले गर्दा कहाँ आन्दोलन गर्ने ?’ प्रतिपक्षीको भूमिकामाथि प्रश्न उठिरहेका बेला देउवाले यो प्रश्न उठाएका हुन् ।

प्रकाशित मिति : २५ भाद्र २०७७, बिहिबार  २ : २० बजे