नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले एक वर्षपछि आज प्रतियोगिता खेल्दै छ । राष्ट्रिय फुटबल टोलीले आज साँझ ढाकामा बङ्गलादेशसँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।
खेल नेपाली समयअनुसार साँझ पौने पाँच बजे हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले बताएको छ । नेपालले गत वर्षको नोभेम्बरमा विश्वकप छनोटअन्तर्गत कुबेतसित फुटबल खेलेको थियो । नेपाल सो खेलमा कुबेतसित १–० गोलले पराजित भएको थियो । कोरोना भाइरसको महामारीका कारण त्यसपछि नेपालले कुनै पनि प्रतियोगिता खेल्न सकेको थिएन । महामारीकै बीच बङ्गलादेशले नेपाललाई दुई मैत्रीपूर्ण खेलका लागि बोलाएको हो ।
नेपाल र बङ्गलादेशबीच अर्को मैत्रीपूर्ण खेल आउँदो मङ्सिर २ गते हुँदैछ । दुवै देश सन् २०१८ को साफ च्याम्पियनसिपमा भिडेका थिए । उक्त प्रतियोगितामा नेपालले बङ्गलादेशलाई २–० गोलले पराजित गरेको थियो ।




















प्रतिक्रिया