नेपाल आउने विदेशी नागरिकलाई ट्रयाक गर्ने विदेशी नागरिक दर्ता तथा अनुगमन प्रणाली (एफएनआरटिएस) स्थगित भएको छ । अध्यागमन विभागले १ असोजबाट यो प्रणाली कार्यान्वयनमा ल्याउने तयारी गरेको थियो । जेन–जी आन्दोलनका कारण एफएनआरटिएस कार्यान्वयन स्थगित गरिएको विभागले जनाएको छ ।
नेपालमा विनाभिसा र भिसा दुरुपयोग गरी बस्ने विदेशी नागरिकको संख्या बढेपछि विभागले यो प्रणाली कार्यान्वयनमा ल्याउन खोजेको थियो । नेपालमा अहिले आठ हजार २०६ जना विदेशी नागरिक विनाभिसा बसिरहेको विभागको दाबी छ । तर, उनीहरू बसेको ठाउँ र गरिरहेका कामको सम्बन्धमा भने विभाग अनभिज्ञ छ ।
विभागका महानिर्देशक रामचन्द्र तिवारीले विदेशी नागरिकलाई ट्रयाक गर्ने प्रणाली कार्यान्वयन हालका लागि स्थगित गरिएको बताए । ‘नेपालमा विनाभिसा र प्राप्त भिसाको प्रयोजनविपरीत बसोबास गर्ने विदेशी नागरिक धेरै रहेको सूचना आयो । यो समस्या समाधान गर्न एफएनआरटिएस प्रणाली लागू गर्न खोजेका थियौँ । यसका लागि आवश्यक सबै तयारी पूरा भएकै वेला आन्दोलन भयो । त्यसैले अहिलेलाई यो प्रणाली कार्यान्वयन स्थगित गरिएको छ,’ उनले भने ।
विभागका अनुसार प्रणाली कार्यान्वयनका लागि होटेल एसोसिएसन नेपाल (हान), ट्रेकिङ एजेन्सी अफ नेपाल (टान), होटेल तथा पर्यटन व्यवसायी संघ नेपाललगायत संघसंस्था सहमत भएका थिए । यसका लागि विभागले गत २२ भदौमा प्रदर्शनीमार्गस्थित पर्यटन बोर्डमा बृहत् छलफल गरेको थियो । त्यसको भोलिपल्टै चर्किएको जेन–जी आन्दोलनले योजना प्रभावित बन्यो ।
हानका अध्यक्ष विनायक शाहका अनुसार हिल्टनलगायत २४ होटेलमा आगजनी तथा तोडफोड भए । जसबाट २५ अर्ब रुपैयाँभन्दा धेरैको क्षति पुग्यो । आन्दोलनपछि विदेशी पर्यटकको आगमन पनि प्रभावित बन्यो । सोही कारण तत्कालका लागि एफएनआरटिएस प्रणाली कार्यान्वयन स्थगित गरिएको विभागका प्रवक्ता टीकाराम ढकालले बताए । ‘एफएनआरटिएस प्रणाली लागू गर्न सरोकारवाला सबै निकाय राजी थिए । यसका लागि बृहत् छलफल गरिएको थियो । प्रणाली पनि चुस्त रूपले विकास गरिएको थियो । यही वेला जेन–जी आन्दोलन भयो । जसको असर पर्यटन क्षेत्रमा पर्यो । त्यसो हुँदा तत्कालका लागि यो प्रणाली कार्यान्वयन स्थगित गरिएको हो,’ उनले भने ।
विभागका अनुसार विशेषगरी पर्यटन र बिजनेस भिसामा नेपाल बस्ने विदेशी नागरिकको गतिविधि शंकास्पद देखिएको छ । पछिल्लो तथ्यांकअनुसार नेपालमा १२ लाख विदेशी नागरिक पर्यटन भिसामा भित्रिएका छन् । जसमध्ये चार सयभन्दा धेरैको गतिविधि शंकास्पद देखिएको अध्यागमनको भनाइ छ । बिजनेस भिसा लिएर नेपाल बसेका नागरिकको संख्या करिब चार हजार छ । त्यसमध्ये ५० प्रतिशत अर्थात् झन्डै दुई हजार विदेशी नागरिकको गतिविधि शंकास्पद देखिएको छ ।
अध्यागमन नियमावली, २०५१ को नियम २० (१)मा पर्यटन भिसा लिएर नेपाल बस्ने विदेशी नागरिक वा परिवारका सदस्यलाई पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न बन्देज गरेको छ । ‘नियमावलीबमोजिम पर्यटक र परिवारको सदस्यको हैसियतले भिसा पाउने विदेशीले नेपालभित्र रहँदा पारिश्रमिक लिई वा नलिई कुनै उद्योग, व्यापार, व्यवसाय वा संस्थामा काम गर्न पाउनेछैन । नियमावलीबमोजिम भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यको निमित्त भिसा प्राप्त गरेको हो सोबाहेक अन्य काम गर्न पाइने छैन,’ नियममा भनिएको छ ।
सोही नियमावलीको नियम २८ मा भिसाको उद्देश्यविपरीत गतिविधिमा संलग्न विदेशी नागरिकको भिसा विभागले जुनसुकै वेला रद्द गर्न सक्नेछ । नियमावलीको नियम २८ (झ) मा भनिएको छ, ‘जुन उद्देश्यका लागि भिसा प्रदान गरिएको हो, सोअनुरूपको कार्य नगरी अन्य कामकुरा गरेमा वा जुन प्रयोजनका लागि भिसा लिएको हो, सो समयअगावै त्यस्तो प्रयोजन समाप्त भएमा अध्यागमले त्यस्ता विदेशी नागरिकको भिसा रद्द गर्न सक्नेछ । विशेषगरी भिजिट र बिजनेस भिसामा नेपाल बस्ने विदेशी नागरिकको गतिविधि अध्ययन गरी शंकास्पद देखिए कारबाही प्रक्रिया अघि बढाउनेछ ।’ त्यसबाहेक भिसा दुरुपयोग गर्ने विदेशी नागरिकलाई अध्यागमनले ५० हजार रुपैयाँ जरिवाना र देशनिकालासम्म गर्न सक्नेछ । त्यसअघि घटनामा संलग्न विदेशी नागरिकविरुद्ध अध्यागमन अधिकृतले अनुसन्धान गर्नेछ । र, प्रतिवेदन अध्यागमन महानिर्देशकसमक्ष पेस गर्नेछ । सोही आधारमा कसुरदार देखिए महानिर्देशकले त्यस्ता नागरिकलाई देशनिकालासम्म गर्न सक्नेछ ।
अध्यागमन ऐन, २०४९ को दफा ९ (१) मा भनिएको छ, ‘ऐनबमोजिम अध्यागमन अधिकृतले कुनै विदेशीको हकमा अपराधको तहकिकात पूरा गरी महानिर्देशकसमक्ष प्रतिवेदन पेस गरेपछि सो प्रतिवेदनको आधारमा महानिर्देशकले तोकिएबमोजिम नियमित गर्नुपर्ने कुराहरूको हकमा नियमित गरी त्यस्तो विदेशीलाई नेपाल सरकारको स्वीकृति लिई अवधि तोकी वा नतोकी पुन: नेपाल राज्यमा प्रवेश गर्न नपाउने गरी नेपाल राज्यबाट निष्कासन गर्न सक्नेछ ।’ विभागले गत २९ साउनमा मात्रै भिसा दुरुपयोग गरी बसोबास गर्र्ने फ्रान्सेली नागरिकलाई पक्राउ गरेको थियो । साभार: नयाँ पत्रिकाबाट




















प्रतिक्रिया