नेकपा सचिवालय बैठक बसेपनि नेताहरुबीच अन्तरविरोधी भावना बढेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पुनः सक्रियता देखाउनुभएको छ । यही क्रममा आज राष्ट्रपति भण्डारीले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीसंग भेट गर्नु भएको छ । आज साँझ प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेटन शीतल निवास पुग्नु भएको थियो ।
यसअघि पनि राष्ट्रपति भण्डारीले अध्यक्ष ओली निकट नेताहरुसँग छलफल गर्नु भएको शीतल निवास स्रोतले बताएको छ । तर कुन कुन नेताहरुसंग राष्ट्रपति भण्डारीले भेट गर्नु भएको हो भन्ने बारेमा स्रोतले केही खुलाउन चाहेन ।
पछिल्लो दुई दिनमा दर्जन बढी नेताहरुलाई भेटिसक्नु भएको उनको भनाइ छ । यसअघि, शुक्रबारको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले ओलीमाथि गम्भीर आरोप लगाएपछि नेकपाभित्रको कलह उत्कर्षमा पुगेको छ ।
दुबै अध्यक्षले आफ्ना निकट नेता एवं कार्यकर्तासँग छलफल गर्दै कुनै पनि परिस्थितिका लागि तयार रहन निर्देशन दिँदै आएको अवस्थामा यो भेट भएको हो । राष्ट्रको अभिभावक रहनु पर्ने राष्ट्रपति आफ्नो पूर्व पार्टी नेकपा भित्रको आन्तरिक विवादमा प्रवेश गरेर विगतदेखि आलोचित हुँदै आउनु भएको छ ।
प्रतिक्रिया