Logo

प्रमुख समाचार

पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाको नाफा झन्डै १५ प्रतिशतले घट्यो



चालु आर्थिक वर्षको पहिलो चार महिनामा बैंक तथा वित्तीय संस्थाहरू (बीएफआई) को खुद नाफा १४.७१ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंक (एनआरबी) को तथ्याङ्कअनुसार वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनी गरी तीनवटै वर्गका बीएफआईले साउनदेखि कात्तिक मध्यसम्म कुल २१ अर्ब ३१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।

अघिल्लो वर्षको सोही अवधिमा (लघुवित्त बाहेक) बीएफआईको खुद नाफा २४ अर्ब ९९ करोड रुपैयाँ रहेको थियो । बैंकर्सहरूका अनुसार अर्थतन्त्रको मन्दी, बैंकिङ कारोबारमा आएको सुस्तता, जेन–जी आन्दोलन र त्यससँग जोडिएका घटनाक्रमका कारण बैंकहरूको आम्दानी प्रभावित भएको हो ।

साथै, कर्जा ब्याजदरमा तीव्र गिरावट आउँदा ब्याज आम्दानी घट्नु पनि नाफा घट्नुको प्रमुख कारण बनेको छ । समिक्षा अवधिमा २० वटा वाणिज्य बैंकको मात्र खुद नाफा १३.११ प्रतिशतले घट्दै १९ अर्ब ३७ करोड रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्ष सोही अवधिमा वाणिज्य बैंकहरूले २२ अर्ब २९ करोड रुपैयाँ नाफा कमाएका थिए । एनआरबीका अनुसार आधारदर घटेसँगै बैंकहरूले लिने प्रिमियम दर पनि उल्लेख्य रूपमा घटाएका छन् । पहिले अधिकतम ५ प्रतिशतसम्म रहेको प्रिमियम दर हाल औसतमा करिब १.५ प्रतिशतमा झरेको छ ।

यद्यपि, चार वटा वाणिज्य बैंकको नाफा भने बढेको देखिएको छ। राष्ट्रिय वाणिज्य बैंकको नाफा १०५.२३ प्रतिशतले वृद्धि भएको छ । यस्तै, सानिमा बैंक, ग्लोबल आइएमई बैंक र एभरेष्ट बैंकको नाफा क्रमशः १९.६५ प्रतिशत, १८.९१ प्रतिशत र ०.२७ प्रतिशतले बढेको छ ।

नाफाको परिमाणका आधारमा ग्लोबल आइएमई बैंक २ अर्ब ५१ करोड रुपैयाँसहित अग्रस्थानमा रहँदा नबिल बैंकले २ अर्ब ४६ करोड रुपैयाँ नाफा कमाएको छ । बाँकी १६ वटा वाणिज्य बैंकको नाफा ०.७५ प्रतिशतदेखि १३२.९० प्रतिशतसम्मले घटेको छ ।

प्रकाशित मिति : २८ मंसिर २०८२, आईतवार ०८:३४   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।