Logo

ट्रम्पले राष्ट्रपतीय प्रशासनलाई अवरुद्ध बनाइराखे थप मानिसहरूको ज्यान जान सक्ने बाइडेनको चेतावनी



अमेरिकी नवनिर्वाचित राष्ट्रपति जाे बाइडेनले विद्यमान राष्ट्रपति डाेनाल्ड ट्रम्पले राष्ट्रपतीय प्रशासनलाई अवरुद्ध बनाइराखे थप मानिसहरूको ज्यान जान सक्ने चेतावनी दिएका छन् ।

साेमबार डेलावेयरमा बोल्दै बाइडेनले कोरोनाभाइरसको प्रकोप रोक्नका लागि ट्रम्प प्रशासनले आफूहरूसँग समन्वय गर्न आवश्यक रहेकाे बताए । बाइडेनले राष्ट्रपति ट्रम्पलाई उनले अहिलेसम्म अस्वीकार गर्दै आएको हारलाई अब स्वीकार्न आह्वान पनि गरे। ट्रम्पले अझै पनि हार स्वीकार गरेका छैनन् ।

बाइडेनले चुनाव जित्न चाहिने २७० इलेक्टरल भोटभन्दा बढी ३०६ इलेक्टरल भोट पाएका छन् । तर अझै पनि रिपब्लिकन वर्तमान राष्ट्रपति ट्रम्पले हार स्वीकारेका छैनन् । उनले सोमवार मात्रे बिहान ट्वीट गरेका थिए, ‘मैले चुनाव जितेँ ।’

बिबिसीका अनुसार राष्ट्रपतीय निर्वाचनपछि सङ्क्रमणकालीन कार्यहरू गर्ने सरकारी निकाय जनरल सर्भिसेज एड्मिनिस्ट्रेसन (जीएसए) ले पनि अझै बाइडेन र उनकी चुनावी साथी कमला ह्यारिसलाई विजेताका रूपमा मान्यता दिइसकेको छैन ।

डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति जितेका बाइडेनले काेराेना संक्रमण न्यून गर्ने याेजनाहरू लागु गर्दैछन् । उनका सहयोगीहरूले ट्रम्पद्वारा सङ्क्रमणमा उनीहरूलाई सामेल गर्न अस्वीकार गर्नु भनेको बाइडेनको समूहलाई खोप वितरण रणनीतिको योजना बनाउनबाट बाहिर राख्नु रहेकाे  प्रतिक्रिया दिएका छन् ।

प्रकाशित : २ मंसिर २०७७, मंगलबार