Logo

राजनीति

नेकपा बिवाद झन् उत्कर्षमा : सचिवालय बैठक सार्न ओलीले गरेको प्रस्ताव प्रचण्डद्वारा ठाडै अस्वीकार



पछिल्लो समय गैरजिम्मेवार किचलोमा फसेको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ताण्डव अझै बढ्ने देखिएको छ । पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश बोकेर बुधबारका लागि तय भएको सचिवालय बैठक सार्न आग्रह गर्दै खुमलटार पुगेका पार्टी महासचिव विष्णु पौडेललाई कार्यकारी अध्यक्ष पूष्पकमल दाहाल “प्रचण्ड”ले अस्वीकारको सन्देश दिएर बालुवाटार फर्काएपछि ताण्डव झनै लम्बिने संकेत बढेको हो । 

समस्या समाधानको सूत्र खोजेर मात्रै बैठक बस्न उपयुक्त हुने ओलीको सन्देश बोकेर खुमलटार पुगेका महासचिव पौडेललाई अध्यक्ष प्रचण्डले बैठक सार्ने प्रस्ताव कुनै पनि हालतमा मान्न नसकिने र बुधबार जुनसुकै हालतमा पार्टी सचिवालयको बैठक बस्ने बताएर पठाएको खुमलटार श्रोतले दावी गरेको छ । ‘पार्टीभित्रको विवादको समाधान खोजेर मात्रै सचिवालय बैठक बसौँ । त्यसका लागि बुधबारको बैठक केही दिन पर सारौँ र सहमतिका लागि छलफल गरौँ भन्ने ओलीको प्रस्तावलाई अध्यक्ष प्रचण्डले सिधै अस्वीकार गर्नुभयो’ अध्यक्षले बैठकको मिति भएकाले बैठक सार्नुको सट्टा बुधबारको बैठकमा बाँकी छलफल गरौंला भनेपछि महासचिव सोही सन्देश बोकेर बालुवाटार जानुभएको छ ।’ प्रचण्ड निकट एक नेताले भने । 

नेकपामा बिवादले तीब्र रुप लिएपछि कार्यकारी अध्यक्ष प्रचण्ड तथा बरिष्ठ नेता माधव कुमार नेपाल पक्षले सचिवालय बैठक बुधबार दिउँसो १ बजेलाई बोलाइएको छ । यसअघि अध्यक्ष प्रचण्डले ओलीलाई गम्भीर आरोपसहित पेश गरेको गरेको प्रस्तावमा ओली सकारात्मक छैनन्, बरु उक्त प्रस्तावले आली प्रचण्ड ध्रुवीकरणलाई झन् मलजल गरेको ओली पक्षको बुझाई रहेको छ ।  

प्रचण्डको बैठक नरोक्ने जवाफ बोकेर महासचिव विष्णु पौडेल मंगलबार नै बालुवाटार पुगेपछि ओलीले आफू निकटका नेताहरुलाई बालुवाटारमै बोलाएर छलफल गरेका छन् । सो छलफलमा पनि ओलीले पहिला दुई अध्यक्षबीच सहमति कायम गरेर मात्रै सचिवालय बैठक बस्नुपर्ने भन्दै आफ्नो अडानमा दरिलो हुन आग्रह गरेका छन् ।

बालुवाटार श्रोतका अनुसार प्रचण्ड तथा नेपाल पक्षले बोलाएको सचिवालय बैठकमा आफ्नो पक्ष जाने कि नजाने वा सहभागी भए कसरी अडानलाई कायम राख्ने भन्ने बारेमा निकटका नेताहरुसँग ओलीले राय मागेका थिए । सचिवालयमा सहभागिताका लागी समेत ओली पक्षका नेताहरुकै मत बाझिएको बताईन्छ । 

पछिल्लो समय पूर्व माओवादी नेता तथा नेपाललाई समेत आफ्नो पक्षमा पार्न खोजे पनि ओलीले प्रयासलाई सार्थक बनाउँन सकेका छैनन् । सोमबारको भेटमा पार्टी उपाध्यक्ष बामदेव गौतमलाई सहयोग गर्न आग्रह गरेपनि गौतमले ओलीलाई पहिले आफैं सच्चिन सुझाएका थिए । 

प्रकाशित : २ मंसिर २०७७, मंगलबार