Logo

समीकरण ‘भत्काउने’ प्रधानमन्त्री ओलीको प्रयास कति सफल ?



गम्भीर आरोप र अप्रत्यक्षरुपमा राजीनामाकै माग गरेर अध्यक्ष पुष्पकमल दाहालले छुट्टै राजनीतिक प्रस्ताव पेस गरेपछि दबाबमा आएका प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको पछिल्लो समीकरण भत्काउने कोसिस जारी राखेका छन् ।

मंगलबार साँझसम्म आन्तरिक समीकरण भत्काउने उनको प्रयास सफल भएको स्पष्ट संकेत भने आइसकेको छैन । बरु, पार्टीका दुई अध्यक्षबीच लिखितरुपमै आरोप–प्रत्यारोप र सवाल–जवाफ भएपछि नेकपाको आन्तरिक राजनीतिमा झनझन् कठोर धुव्रीकरण बन्दै गएको छ ।

आफ्नाविरुद्ध आएको प्रस्तावको पक्षमा सचिवालयका बहुमत सदस्य उभिएपछि प्रधानमन्त्री ओलीले समीकरण भत्काउनका लागि शीर्ष नेताहरुसँग भेट, पूर्व माओवादी समूहका नेताहरुसँग छलफल, आफ्नै समूहका नेताहरुसँग नियमित छलफल र राष्ट्रपतिसँग परामर्श गरेका छन् । एकातिर आन्तरिक समीकरणमा फेरबदलका लागि कोसिस गरिरहेका प्रधानमन्त्री ओलीले अर्कोतिर बुधबार बोलाइएको सचिवालय बैठक स्थगनका लागि प्रस्ताव फिर्ताको अडान राखेका छन् ।

विगतमा जस्तै राष्ट्रपतिसँग लगातार परामर्श गरेर प्रधानमन्त्री ओलीले आफ्नो विपक्षमा रहेका नेतामाथि मनोवैज्ञानिक दबाब बनाउने प्रयास पनि गरेका छन् । पार्टीभित्र दबाबमा आएपछि प्रधानमन्त्री ओलीले चाल्न सक्ने सम्भावित कदमबारे छलफल गर्न अध्यक्ष दाहाल मंगलबार साँझ राष्ट्रपतिलाई भेट्न शितलनिवास पुगेका थिए । ओली र दाहालबीच विवाद हुँदा मिलाउनका लागि राष्ट्रपतिले समेत भूमिका खेलेको आरोप लाग्दै आएको छ ।

पार्टी सचिवालयमा दाहालको एकल राजनीतिक प्रस्ताव पेश भएपछि ओलीले आइतबार वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमसँग छुट्टाछुट्टै भेटेर फकाउने प्रयास गरेका थिए । उनले दुवै नेतालाई आफूसँग मिलेर जान आग्रह पनि गरेका थिए । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : मंसिर ३, २०७७ बुधबार  ८ : २६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।