Logo

खेलकुद

विश्वकप अभ्यास खेलमै नेपालको पहिलो जित



काठमाडौँ  । दीपेन्द्रसिंह ऐरी र आरिफ शेखको अर्धशतकमा नेपालले ट्वान्टी–२० विश्वकपको आफ्नो पहिलो अभ्यास खेलमा मंगलबार यूएईलाई सजिलै ७ विकेटले पराजित गरेको छ ।

तेस्रो पटक विश्वकप खेलेको नेपालले अभ्यास खेल नै जितेको यो पहिलो अवसर हो । २०१४ मा पहिलो पटक विश्वकप खेल्ने क्रममा बंगलादेशमा नेपाललाई अभ्यास खेलमा आयरल्यान्डले ५ विकेट र यूएईले ६ विकेटले पराजित गरेको थियो ।

यूएईसँग नेपालले निर्धारित २० ओभर खेली ९९ रनमा अलआउट भएको थियो । दुई वर्षअघि अमेरिकामा नेपाललाई अभ्यास खेलमा क्यानडाले ६३ रनले पराजित गरेको थियो । त्यस्तै अमेरिकासँगको अभ्यास खेल मौसमका कारण एक बल पनि नफाली रद्द भएको थियो ।

चेन्नईको चेपकस्थित एमए चिदाम्बरम रंगशालामा नेपालले टस जितेपछि कसिलो बलिङ गरेको थियो, जसका कारण पहिला ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय ४५ रनमात्र बनाउन सक्यो ।

दीपेन्द्र र आरिफले चौथो विकेटमा १ सय ३ रनको अविजित साझेदारी गरेपछि नेपालले १७ ओभरमै १ सय ४८ रन बनाएको थियो । उपकप्तान दीपेन्द्रले ५० रन बनाए ।

उनले ३१ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । आरिफ ३७ बल खेली ६१ रनमा अविजित रहे । आरिफले ८ चौका र २ छक्का प्रहार गरे ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार ०७:२९   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।