Logo

समाचार

सरकारले स्वास्थ्य बीमा बन्द गर्नु हुँदैन: प्रदीप पौडेल



काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप पौडेलले आफू नेतृत्वमा रहँदा प्रतिबद्धताअनुसार सुधार कार्य अघि बढेको भए पनि अहिले अवरोध आएकोमा दुःख प्रकट गरेका छन् ।

‘बीमा हामी हुँदा कहीँ बन्द भएको थिएन,’ उनले भने,‘यो सरकारले पनि बन्द हुन दिनु हुँदैन ।’ काठमाडौँ ५ मा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफू स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीका रूपमा रहँदा स्वास्थ्य बीमाको सुधार गर्दै नीतिगत तथा व्यवहारिक सुधार अघि बढाएर कानुनी संशोधन गर्ने चरणमा पुगेका बेला सरकारबाट बाहिरिए पछि त्यो प्रक्रिया रोकिएको उनले गुनासो गरे ।

‘स्वास्थ्य बीमा बन्द भयो भने नागरिकले उपचार गर्नै नसक्ने भयावह स्थिति आउँछ,’ उनले भने । स्वास्थ्य बीमा सुधारको स्पष्ट दृष्टिकोणसहित प्रतिवेदन बनाएर राष्ट्रिय सभामार्फत कानुन संशोधन हुने कार्यसूचीमा रहेको उनले बताए ।

उनले आफू नेतृत्वमा रहँदा सुधार गरेकै आधारमा विपन्न सुविधासहित ३ लाखदेखि साढे ७ लाखसम्म प्राप्त गर्ने अवस्था सिर्जना भएको भन्दै स्वास्थ्य बीमालाई सुधार मात्रै विकल्प भएको बताए ।

‘हामीले तयार गरेको प्रतिवेदनको आधारमा प्रक्रिया लागु गर्ने हो भने एक वर्षमा १ खर्ब सम्म बीमाले आम्दानी गर्छ,’ उनले भने, ‘त्यसो भए चाहिनेलाई ५ लाख दिन कुनै गाह्रो हुने छैन । हामीले कसरी गर्ने, कसलाई दिने सबै तय गरेर छाडेका छौँ ।’

क्षेत्रको विकासमा प्रशस्त काम गरेको दाबी

विगतमा काठमाडौँ ५ को सांसद रहँदा क्षेत्रमा विकासका धेरै काम गरेको दाबी गरेका महामन्त्री पौडेलले रिङ रोडको विस्तारको काममा दबाब दिन संसद्‌मा प्रस्ताव लानेदेखि दबाब यात्रा सम्म गरेको र अहिले नतिजा देखिएको बताए ।

‘अब बसुन्धरासम्म दोस्रो काम चीनले गर्ने गरी अगाडि बढेको छ । महाराजगञ्जदेखि मण्डिखाटारसम्म अघिल्लो बजेटले काम भइरहेको छ । यो वर्ष बजेट परे पनि सरकारले निर्वाचनका लागि पैसा जोहो गर्न रद्द गरेको छ। । तर बन्ने सुनिश्चित छ ।’

उनले मेलम्चीको खानेपानी रिंगरोड बाहिर पनि जाने संयन्त्र बनाउनेदेखि चुहावट नियन्त्रणसम्मका काम भएको बताए । सार्वजनिक जग्गा संरक्षणमा क्याबिनेटबाट निर्णय गराउनेदेखि निजी जग्गासम्म किन्ने निर्णय गराएर जोगाएको उनले बताए ।

पौडेलले स्थानीय तहसँग मिलेर स्थानीय बाटा र विकासका कामलाई अगाडि बढाउन समन्वयकारी भूमिका गरेको कारणले थुप्रै काम अगाडि बढेको बताए । हाल विष्णुमती करिडोरअन्तर्गतका काम त्यसैको नतिजा भएको उनको भनाइ छ ।

महामन्त्री पौडेलले संसद्‌मा निजी विधेयक लैजाने आफू मात्र भएको भन्दै सांसदका रूपमा रहँदा ५ सार्वजनिक  महत्वको प्रस्ताव सँगै कुनै पनि ऐनमा जनचासो हेरेर संशोधन प्रस्ताव राखिएको बताए ।

सबैको आशीर्वादले मन्त्री भएको भन्दै उनले त्यस अवधिमा किशोरीहरूको ज्यान रक्षा गर्न पहिलो पटक पाठेघरको मुखको क्यान्सरविरुद्ध १५ लाखलाई खोप दिएर राष्ट्रिय कार्यक्रम थालिएको स्मरण गरे ।

नसक्नेका लागि जलनको उपचार निःशुल्क भएको समेत उनले बताए । आफ्नो विगतको कामका आधारमा सगौरव कांग्रेसका अग्रजहरूले दलका पक्षमा भोट माग्न मिल्ने अवस्था रहेको भन्दै उनले आफूलाई परिपक्व युवाका रूपमा प्रस्तुत गरे ।

प्रकाशित मिति : २६ माघ २०८२, सोमबार २१:१०   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।