Logo

उद्योग

नियम र कानुन मिचेर नेपाल टेलिकममा निमित्त प्रमुख नियुक्ति, कर्मचारी संगठनको गम्भीर आपत्ति



काठमाडौँ । नेपाल सरकारको बहुमत स्वामित्व रहेको नेपाल टेलिकममा प्रचलित ऐन, नियम र कानुनी प्रक्रियालाई बेवास्ता गर्दै निमित्त प्रबन्ध निर्देशक नियुक्त गरेपछि यसको चौतर्फी बिरोध भएको छ।

कर्मचारी सेवा शर्त विनियमावलीमा भएको स्पष्ट व्यवस्थाको उल्लंघन गर्दै योग्यता नपुगेकी कनिष्ठ कर्मचारी रीना डंगोललाई निमित्त प्रबन्ध निर्देेशक नियुक्त गरिएपछि टेलिकमकै कर्मचारी संगठनहरुले समेेत बिरोध जनाएका छन् ।

नेपाल टेलिकमका दुई आधिकारिक कर्मचारी संगठनले आज एक संयुक्त विज्ञप्ति जारी गर्दै नेपाल टेलिकम कर्मचारी सेवा शर्त विनियमावली, २०६७ को नियम १४(३) को ठाडै उल्लंघन गरी डंगोललाई नियुक्ति गरिएकोमा बिरोध जनाएका हुन्।

दुरसञ्चार विनियमावलीमा “कार्यालय प्रमुख बिदा, काज वा पद रिक्त भएको अवस्थामा वरिष्ठतम कर्मचारीलाई मात्र निमित्त जिम्मेवारी दिनुपर्ने” स्पष्ट व्यवस्था गरिएको छ। तर, सो कानुनी प्रावधानलाई बेवास्ता गर्दै विनियमावलीमा तोकिएको योग्यता नपुगेकी कनिष्ठ कर्मचारी रीना डंगोललाई निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको संगठनको आरोप छ।

कर्मचारी संगठनका अनुसार डंगोलको नियुक्ति विनियमावलीको उल्लंघन मात्र नभई सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ६ मा उल्लेख गरिएको पारदर्शिता, निष्पक्षता र कानुनको पालना गर्ने मूल मर्मविपरीत पनि हो। सार्वजनिक स्वामित्वको संस्थामा पदस्थापन गर्दा योग्यता, वरिष्ठता र प्रक्रिया पालना गर्नुपर्ने कानुनी दायित्व हुँदाहुँदै मनपरी ढंगले जथाभावी निर्णय गर्नु गम्भीर कानुनी त्रुटि भएको संगठनको ठहर छ।

निर्वाचन आयोगले जारी गरेको संघीय संसद निर्वाचन आचारसंहिता, २०८१ लागू रहेको समयमा गरिएको नियुक्तिले सरकार आँफैले नियम उलंघन गरेको संगठनको दावी छ।

आचारसंहिताको दफा ४(ख) अनुसार आचारसंहिता लागू भएपछि सरकारी तथा सार्वजनिक निकायले दीर्घकालीन असर पर्ने पदस्थापन वा निर्णय गर्न नपाउने स्पष्ट व्यवस्था छ। कर्मचारी संगठनका अनुसार सो व्यवस्था विपरीत गरिएको नियुक्तिले आचारसंहिता उल्लंघनको प्रश्न समेत खडा गरेको बिग्यप्तीमा उल्लेख छ।

कर्मचारी संगठनद्वारा जारी विज्ञप्तिमा टेलिकमभित्र बढ्दो पक्षपात, अपारदर्शिता र अधिकारको दुरुपयोग ले कर्मचारी मनोबल खस्किएको र यसले संस्थाको दीर्घकालीन स्थायित्व, सेवा प्रवाह तथा सार्वजनिक विश्वसनीयतामा नकारात्मक असर पार्ने चेतावनी दिइएको छ। राष्ट्रिय ढुकुटीमा ठूलो योगदान गर्ने नेपाल टेलिकमलाई व्यक्तिवादी स्वार्थको अखडा बनाउने प्रयास गरिएकोले यो निर्णय तत्काल रोक्नुपर्ने संगठनको माग छ।

कर्मचारी संगठनले प्रचलित ऐन, नियम र विधिको पूर्ण पालना गर्दै नियमविपरीत गरिएको निर्णय तत्काल सच्याउन, कानुनी प्रक्रिया अनुसार निमित्त प्रमुख तोक्न र टेलिकमलाई संस्थागत रूपमा सुरक्षित राख्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

  यो पनि

विनियमावली विपरीत नेपाल टेलिकममा निमित्त प्रबन्ध निर्देशक नियुक्ति, सचिवको भूमिका संकास्पद

प्रकाशित मिति : २७ माघ २०८२, मंगलवार १७:३०   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।