Logo

राजनीति

स्वतन्त्र उम्मेद्वार नेपालीद्धारा कांग्रेसका ढकाललाई समर्थन



स्याङ्जा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा स्वतन्त्र उम्मेद्वार बनेका मनोज नेपाली दर्जीले नेपाली कांग्रेस स्याङ्जाका उम्मेद्वार भरतराज ढकाललाई समर्थन गरेका छन् । आफूले उठाउँदै आएका अजेण्डा ढकालले आत्मसाथ गरेको भन्दै परियारले समर्थन गरेका हुन् ।

स्याङ्जाको आँधीखोला गाउँपालिका–१ पञ्चमूलमा मतदाता भेटघाट तथा घरदैलो कार्यक्रम पश्चात भएको कोणसभालाई सम्बोधन गर्दै स्वतन्त्र उम्मेद्वार परियारले कांग्रेसका उम्मेद्वार ढकाललाई समर्थन गरेका थिए । संघीय संसदमा प्रतिनिधित्व गर्ने संसदले नीति बनाउने हो, नीति बनाउन ढकाल सक्षम भएको भन्दै उनले काँग्रेसका उम्मेद्वारलाई जिताउन आग्रह गरे ।

लामो समयदेखि आफूले धनी र गरिबको दुरी कम गर्दै गरिबी हटाउने अभियान चलाएको बताउँदै परियारले गरिबी हटाउने र रोजगारी सृजना गर्ने अभियानलाई प्रभाबकारी बनाउन कांग्रेसका उम्मेद्वार ढकाललाई समर्थन र मतदान गर्न आव्हान गरे । कांग्रेस उम्मेद्वार ढकालले उठाएका अजेण्डाहरु उत्पादनमुलक, आर्थिकउर्पाजन र रोजगारी सृजना गर्ने उनले बताए ।

कार्यक्रममा बोल्दै उम्मेद्वार ढकालले बदलिएको कांग्रेसले बदलिएको नेपाली समाजलाई उचित तवरबाट नेतृत्व गर्न सक्ने सुनाए । ‘हामी र हाम्रो नेतृत्व बदलिएको छ, बदलिएको नेतृत्वले समाज बदल्ने अठोट गरेको छ ।’ उम्मेद्वार ढकालले भने, ‘नेपालीको आर्थिक र सामाजिक अवस्थामा परिवर्तन ल्याएर काँग्रेसले रोजगारी सृजना गर्दै आत्मनिर्भर समाज बनाउने छ ।’

कांग्रेस उम्मेद्वार ढकालले आफ्नो निर्वाचन क्षेत्र स्याङ्जा–१ का हरिनाश, बिरुवा, अर्जुनचौपारी, आँधीखोला, भीरकोट, वालिङ र पुतलीबजार नगरपालिकाका अधिकांश वडाहरुमा मतदातासँग भेटघाट र घरदैलो कार्यक्रम गरेका छन् । घरदैलो कार्यक्रममा उम्मेद्वार ढकालले स्थानीयलाई उत्पादनसँगै आत्मनिर्भर, पूर्वाधारको विकासबाटै समृद्धि र रोजगारी सृजनाबाट समुन्नत स्याङ्जा निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।

मुक्तिनाथ विकास बैंक तथा मुक्तिनाथ कृषि कम्पनीका पूर्वअध्यक्ष भरतराज ढकाललाई नेपाली कांग्रेसले उम्मेद्वार बनाएपछि स्थानीय मतदाता उत्साहित भएका छन् । हजारौंलाई रोजगारी र लाखौंको आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका ढकाललाई निर्वाचन क्षेत्रका मतदाताले समर्थन गर्दै चुनावी प्रचार–प्रसारमा केन्द्रित बनेका छन् ।

प्रकाशित मिति : ४ फाल्गुन २०८२, सोमबार १७:५९   :  बजे

1.5K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।