काठमाडौं। ग्लोबल आईएमइ बैंक लिमिटेडमा भएको करोडौँ भ्रष्टाचारमाथि अनुसन्धान गरिरहेको नेपाल राष्ट्र बैंकले आर्थिक अनियमितता गर्ने कर्मचारीसहित बैंकका सिईओ र डेपुटी सिईओ समेतलाई स्पष्टीकरण सोधेको छ।
बैंकका मार्केटिङ विभाग प्रमुख योगेश पोखरेलले श्रीमतीका नाममा कम्पनी खडा गरी मासिक लाखौँ रुपैयाँ असुल गर्दै आएको तथ्यसहित उजुरी परेपछि अनुसन्धान सुरु गरेको नियामक निकाय नेपाल राष्ट्र बैंकले प्रारम्भिक प्रक्रियाअनुसार पोखरेल स्वयं र बैंकका अख्तियार प्राप्त उच्च अधिकारीलाई बोलाएर स्पष्टीकरण सोधिएको हो।
यस सम्बन्धमा बैंकको नियमित सुपरिवेक्षणका क्रममा समेत कैफियत भेटिएकाले बैंकका सिईओ सुरेन्द्र राज रेग्मी, डेपुटी सिईओ सुमन पोखरेल र योगेश पोखरेललाई स्पष्टीकरण सोधिएको नेपाल राष्ट्र बैंक बैंक सुपरिवेक्षण विभागका निर्देशक ईश्वरीप्रसाद भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार उनीहरु सबैलाई लिखित रुपमा समेत स्पष्टीकरण दिन भनिएको छ। राष्ट्र बैंकका अनुसार उनीहरुको लिखित जवाफ आएपछि थप कारबाही प्रक्रिया अघि बढाइनेछ।
पोखरेलले श्रीमति प्रभा पन्थीका नाममा ‘थर्ड पोल मिडिया ग्रुप’ खडा गरी मासिक दुइ लाख रुपैयाँ निरन्तर रुपमा बैंकबाट लिँदै आएका छन् । उनको यस अवैध कार्यमा बैंकका सिईओ डेपुटी सिईको समेतको मिलेमतो रहेको उजुरीमा उल्लेख । प्राप्त विवरणअनुसार पोखरेलकी श्रीमती पन्थी आँफै पनि ग्लोबल आईएमइ बैंककी कर्मचारी हुन् । उनी बैंकको मनमैजु साखामा कार्यरत छिन्।
बैंकका गुनासो अधिकारी अनिल जोशीले यस किसिमको अनियमितता कर्मचारीबाटै भएको भेटिए त्यस्ता कर्मचारीलाई निलम्बन गर्ने, लिएको रकम अशुल समेत गर्ने र अपराधको प्रकृति हेरी केन्द्रिय अनुसन्धान व्युरोलाई पत्राचार गरी पक्राउ गर्न सिफारिस समेत गर्ने सम्मको कारबाही हुने उनले बताएका थिए। तर, बैंक व्यवस्थापनले अझैसम्म उनीमाथि स्पष्टीकरण सोध्ने समेत हिम्मत गरेको देखिँदैन। त्यस्तै बैंक सूचना अधिकारी भनिएका सुमन पोखरेलले त झन् फोन
उठाउने गरेका छैनन्।
पोखरेल र पन्थी हालसम्म पनि बैंकमै जागिर खाईरहेका छन्। पोखरेल अध्यक्ष चन्द्र ढकाल निकट भएका कारण उनीमाथि कारबाही नभएको र भोलि पनि कारबाही गर्ने हिम्मत कसैको नहुने बैंककै कर्मचारीहरु दावी गर्छन्। साथै, पोखरेल प्रकरणले कर्पोरेट सुशासनको धज्जी उडाएको उनीहरुको गुनासो छ।
के हुन्छ कारबाही ?
बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफा ८२ तथा नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशिका नम्बर (६) मा भएको संस्थागत सुशासन सम्बधि व्यवस्थाको (५) मा पदको दुरुपयोग गर्न नहुने व्यवस्थाअनुसार कर्मचारीले आफ्नो पद र नाम दुरुपयोग गरी कुनै पनि किसिमको व्यक्तिगत फाइदा हुने क्रियाकलापमा संलग्न हुन पाइने छैन । इजाजतपत्रप्राप्त सार्वजनिक संस्थाका कर्मचारी र निजका परिवारले समेत निज बहाल रहेको इजाजतपत्र प्राप्त संस्थासँग कारोबार गर्दा पारिवारिक सम्बन्धलाई जोड्न पाइने छैन परिवारको विवरण खुलाई त्यस्ता परिवारले इजाजतपत्रप्राप्त संस्थाबाट कर्जा लिने भएमा सो सम्बन्धी छलफल र निर्णयमा भाग लिन पाइने छैन । साथै, सामानहरुको खरिद बिक्री गर्दा सेयर लगायत अन्य प्रत्याभूतिहरुको कारोवारमा प्राथमिकता पाउन वा दिनका लागि पदको उपयोग गर्न पाइने छैन । यसैगरी सुन, चाँदी, विदेशी विनिमय र विदेशी सुरक्षणपत्रहरुको सट्टापट्टा गर्दा पदीय प्रभाव पार्न पाइने छैन।
त्यस्तै, बाफियाको दफा ९९ को (ङ) मा यस ऐन विपरीत वा अस्वाभाविक तलव भत्ता तथा अन्य सुविधा कुनै बैंक वा वित्तीय संस्थाले लिएको वा दिइएको भएमा त्यस्तो सम्पूर्ण सेवा सुविधा वा सो बापत लाग्ने रकम तथा प्रचलित कानून बमोजिमको व्याज त्यस्तो सेवा सुविधा दिने व्यक्तिबाट असुल उपर गर्ने व्यवस्था गरिएको छ । साथै सोहि दफाको (च) मा बैंक तथा वित्तीय संस्थाको सञ्चालक, पदाधिकारी वा कर्मचारी व्यावसायिक रुपले सम्बद्ध भएको निकाय समक्ष कारबाहीका लागि लेखी पठाउन सम्बन्धित बैंक वा वित्तीय संस्थालाई आदेश दिने व्यवस्था गरिएको छ।
कुनै पनि बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीले वित्तीय अनियमिता गरेको आशंका लागेमात्र पनि अविलम्ब छानबिन गरी आवश्यक कारबाही गरिने राष्ट्र बैंकका प्रवक्ता तथा कार्यकारी निर्देशक गुरु पौडेल बताउँछन्। उनी भन्छन्, ‘यदि बैंकभित्र यस्ता किसिमका अनियमितता र वित्तीय अपराध भएको भेटिएमा सम्बन्धित बैंक तथा व्यक्तिमाथि समेत कडाभन्दा कडा कारबाही हुन्छ।’ अपराध गर्ने कर्मचारी या व्यवस्थापक जो कोहि भएपनि त्यस्ता व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याईने र दोषी भेटिए बैंकबाटै हटाईने उनको भनाइ छ।




















प्रतिक्रिया