मोरङ । आसन्न प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते हुने निर्वाचनमा मोरङका गाउँगाउँमा चुनावी वातावरण बन्दै गएको छ ।
जिल्लाका १५६ वटै वडामा मतदाता शिक्षा प्रभावकारी रूपमा अघि बढिरहेको कोशी प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । मतदाता शिक्षासँगै मतदातामा चुनावी उत्साह देखिन थालेको छ ।
जिल्लाका एक हजार ८१२ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सञ्चालन प्रशिक्षण सञ्चालन भइरहेको कोशी प्रदेश निर्वाचन कार्यालयका निमित्त प्रमुख निर्वाचन अधिकृत चोलाराज दङ्गालले जानकारी दिए ।
निर्वाचनका सम्पूर्ण सामग्रीसहित मतपत्र छ वटै निर्वाचन क्षेत्रमा पठाइसकिएको दङ्गालले बताए । उनका अनुसार जिल्ला सुुरक्षा समितिले वर्गीकरण गरेको अतिसंवेदनशील निर्वाचन केन्द्रमा थप सुुरक्षाकर्मी पठाएर विशेष सुरक्षा व्यवस्था गर्नुका साथै उल्लेख्य रूपमा कर्मचारीको व्यवस्थापन गरिएको छ ।
मोरङको बेलबारी–१० भाउन्नेस्थित शुक्रमाया राई उमेरले ८० वर्ष पूरा भइसकेकी छन् । पटकपटकका निर्वाचनमा मतदान गरे पनि अहिले दिइएको मतदाता शिक्षाले थप सजिलो बनाएको उनले बताइन् ।
बेलबारी–११ का राजन खतिवडाले पहिलो पटक मतदान गर्दै छन् । उनले मतदान शिक्षा लिइसकेको र आफ्नो मत बदर नहुनेमा ढुक्क रहेको उल्लेख गरे ।
रङ्गेल नगरपालिका–२ का कैलाश ऋषिदेवले पहिलो पटक मतदान गर्न लागेको बताउँदै आफूले मतदान शिक्षा लिइसकेको जानकारी दिए ।




















प्रतिक्रिया