Logo

अर्थ

सानिमा रिलायन्स लाइफका गुरुङ ५ पटक एमडीआरटी हुँदा ३ पटक सीओटी बन्न सफल



काठमाडौं । बीमा क्षेत्रमा सफलताको शिखर चुम्न धैर्य, निरन्तरता र इमानदार मेहनत चाहिन्छ। यही उदाहरण बनेका छन्, उत्तरी धादिङको खनियाबास गाउँपालिकाका नारायणबहादुर गुरुङ। आफ्नो सम्पूर्ण जीवन बीमा क्षेत्रमा समर्पित गर्दै उनी सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबाट ५ पटक एमडीआरटीको लक्ष्य हासिल गर्दै गर्दा ३ पटक सीओटी बन्न सफल भएका छन्।

हाल भक्तपुरको कमलविनायकमा बसोबास गर्दै आएका गुरुङ सानिमा रिलायन्स लाइफको बनेपा रिजनबाट बीमा व्यवसाय गर्दै आएका छन्। आज सफल अभिकर्ताको परिचय बनाएका गुरुङको बीमा यात्रा भने सहज थिएन। उनी २०६१ सालमा अन्जानमै बीमा क्षेत्रमा प्रवेश गरेका थिए। तर, त्यतिबेला उनले बीमालाई निरन्तरता दिन सकेनन्। जीवनले उनलाई अर्कै मोडमा पुर्यायो र झन्डै १० वर्ष वैदेशिक रोजगारका क्रममा खाडी मुलुकमा बिताए।

धादिङबाट एसएलसी उत्तीर्ण गरेर काठमाडौं छिरेका गुरुङ अध्ययनलाई नै छाडेर विदेशिए। लामो समय विदेशमा पसिना बगाएपछि स्वदेश फर्किएर उनले फेरि पढाइलाई निरन्तरता दिए। अहिले उनी समाजशास्त्रमा स्नातकोत्तर अध्ययनरत छन्। जीवनका उतारचढावबीच पढाइ र पेसालाई सँगसँगै अघि बढाइरहेका गुरुङको यात्रा धेरैका लागि प्रेरणादायी छ।

गुरुङको वास्तविक अभिकर्ता यात्रा भने काठमाडौंका घरबेटीबाट सुरु भएको हो। अभिकर्ता पेसामा सक्रिय घरबेटीको आग्रहमा उनले लाइसेन्स लिए। घरबेटीको शब्द आज पनि उनलाई स्मरणीय छ ‘तिम्रो कलेज बिहानको रहेछ, पार्टटाइममा यस्तो गर्न सकिन्छ।’

गुरुङ भन्छन्, ‘मैले खासै केही बुझ्या त थिइनँ तर केही हुन्छ भने गरौँ न भन्ने लाग्यो।’ यही साधारण सोचले उनको जीवनको दिशा नै बदलिदियो।

गुरुङको पारिवारिक पृष्ठभूमि पनि रोचक छ। उनका बुवा इन्डियन आर्मीमा कार्यरत थिए। त्यसैले उनको जन्म भारतमा भयो। तर, अध्ययन भने उत्तरी धादिङको खनियाबास गाउँपालिकास्थित बत्सलादेवी माध्यमिक विद्यालयबाट पूरा गरे। घरमा आमा–बुवा, तीनजना दाजुभाइ र दुईजना बहिनी गरी ठूलो परिवार। हाल भने उनको परिवार भक्तपुरमै बसोबास गरिरहेको छ।

विदेशबाट फर्किएपछि भूकम्पपछि पनि २–३ वर्ष खासै केही नगरी समय बित्यो। ‘के गर्ने, कस्तो गर्ने ?’ भन्ने द्विविधाकै बीच उनले फेरि बीमाकै कामलाई पूर्णकालीन रुपमा सुरु गरे। साबिक सानिमा लाइफ इन्स्योरेन्सको सुरुआती दिनदेखि नै उनी यस यात्रामा जोडिए।

सानिमा लाइफमा प्रवेश गर्नुको प्रसंग पनि विशेष छ। उनले काम गरिरहेको अघिल्लो कम्पनीको सम्पूर्ण टिम नै सानिमा लाइफमा प्रवेश गर्यो। यसले उनलाई नयाँ कम्पनीमा छिट्टै जम्न मद्दत गर्यो। गुरुङ भन्छन्, ‘नयाँ कम्पनीमा अलिकति दुःख पनि हुन्छ, सेवा–सुविधाका कुरा पनि हुन्छन्, अवसर र चुनौती दुवै हुन्छन्।’ यही सोचका साथ उनले आफूसँगै टिम निर्माणमा पनि कटिबद्ध भएर काम गरे। जसले सानिमामा उनको जग झनै मजबुत बनायो।

आजसम्म गुरुङले साढे ७०० भन्दा बढी बीमा पोलिसी जारी गरिसकेका छन्। बीमामा सक्रिय भएदेखि उनले आफूलाई पूर्णकालीन रुपमा यही क्षेत्रमा समर्पित गरे। ‘बीमाबाहेक अन्य क्षेत्र रोज्ने सोच नै आएन’, उनी स्पष्ट भन्छन्, ‘मैले अरु केही गर्ने कोसिस नै गरिनँ।’

हाल गुरुङको टिममा १५० भन्दा बढी अभिकर्ता आबद्ध छन्। तीमध्ये केही अत्यन्त सक्रिय छन् भने केही निष्क्रिय पनि। तर, गुरुङको विश्वास भने स्पष्ट छ, ‘सही मार्गदर्शन, अनुशासन र निरन्तरताले बीमा क्षेत्रमा जुनसुकै व्यक्तिले पनि सफलता हासिल गर्न सक्छ।’

गाउँबाट सहर, विदेशदेखि स्वदेश, संघर्षदेखि सफलता गुरुङको कथा केवल व्यक्तिगत उपलब्धिमात्र नभएर नेपाली बीमा क्षेत्रमा सम्भावनाको सशक्त उदाहरण हो।

बीमालाई दैनिक जीवनसँग जोडेर बुझाउने अभियान
गुरुङ बीमालाई केवल वित्तीय उत्पादनमात्र नभएर भोलिको सुरक्षित जीवनको आधारका रुपमा प्रस्तुत गर्ने व्यक्तित्वका रुपमा परिचित छन्। बीमा क्षेत्रमा लामो अनुभव सँगालेका गुरुङले आफ्ना व्यक्तिगत सम्बन्ध, व्यवहारिक सोच र निरन्तर मेहनतका आधारमा उल्लेखनीय उपलब्धि हासिल गरेका छन्।

गुरुङले बीमा व्यवसायको सुरुआत चिनेजानेकै आफ्ना नातेदार, पारिवारिक नातागोता र साथीभाइबाट गरेका थिए। सुरुमा सीमित दायराबाट अगाडि बढे पनि कामप्रति देखाएको इमान्दारिता र परिणामले गर्दा एक परिवारबाट अर्को परिवार र एक सदस्यबाट अर्को सदस्य थपिँदै गयो। अहिले हेर्दा अचम्म लाग्ने उदाहरण पनि छन्।

गुरुङका अनुसार एउटै परिवारका चारजना सदस्यले १३ वटासम्म बीमा पोलिसी लिएका छन्। समय, आम्दानी र आवश्यकताअनुसार उनीहरुले बीमालाई निरन्तरता दिँदै आएका छन्। बजारमा अन्य लगानीका विकल्पबाट अपेक्षित प्रतिफल नआएको अवस्थामा बीमालाई सुरक्षित र भरपर्दो विकल्पका रुपमा लिन थालिएको उनी बताउँछन्।

गुरुङ बीमा ‘गरौँ, गराऔँ’ भन्ने शैलीमा भन्दा पनि जीवनसँग जोडेर बुझाउने प्रयास गर्छन्। उनी भन्छन्, ‘म बीमालाई सामान्य भाषामा सोझो पाराले बुझाउँछु। गाँस, बास र कपासपछि स्वास्थ्य र शिक्षा प्राथमिकतामा राख्नुपर्छ। स्वास्थ्य र शिक्षाका लागि बचत अनिवार्य हुन्छ।’

नेपाली समाजको संरचनालाई उदाहरण दिँदै गुरुङ थप्छन्, ‘हाम्रो समाजमा छोराछोरीको बिहे, परिवारको दायित्वजस्ता धेरै जिम्मेवारी हुन्छन्। यिनै दैनिक जीवनसँग जोडिने विषयलाई समेटेर म बीमाको आवश्यकता बुझाउँछु।’

गुरुङको व्यावसायिक यात्राको अर्को महत्वपूर्ण पक्ष अन्तर्राष्ट्रियस्तरको मान्यता एमडीआरटी हो। गुरुङले सानिमा रिलायन्स लाइफबाट निरन्तर ५ पटक एमडीआरटी हासिल गरिसकेका छन्। यसमध्ये ३ पटक सीओटी र २ पटक एमडीआरटी छन्।

सानिमा रिलायन्स लाइफमा आबद्ध हुनु अघि काम गरेको कम्पनीमा पनि एमडीआरटी क्वालिफाइड भए पनि औपचारिक दाबी नगरेको गुरुङ बताउँछन्। सन् २०२२ देखि २०२६ सम्म र यो पटकसहित उनले ५ पटक एमडीआरटीमा दर्ता गरिसकेका छन्। सीओटी उपलब्धि भने सन् २०२२, २०२५ र २०२६ मा हासिल गरेका हुन्।

व्यावसायिक प्रदर्शनका आधारमा सानिमा रिलायन्स लाइफमा गुरुङ अग्रणीमध्ये एक मानिन्छन्। कम्पनीभित्र रोल मोडलका रुपमा आफूलाई प्रस्तुत गरिरहेका छन्। एमडीआरटी सम्मेलनमा सहभागी हुन सन् २०२२ मा आवेदन दिएका थिए तर अस्ट्रेलियाको भिसा नपाएको अनुभव पनि उनीसँग छ। साथै, एमडीआरटीको विश्वव्यापी मान्यताका लागि बुझाउनुपर्ने शुल्क नेपालजस्तो मुलुकका लागि खर्चिलो हुने उनी बताउँछन्।

गुरुङको दृष्टिमा बीमा भनेको केवल जोखिम व्यवस्थापनमात्र नभएर भोलिको बचत र परिवारको आर्थिक सुरक्षाको माध्यम पनि हो। ‘केही परिआयो, भवितव्य भयो भने तपाइँको अनुपस्थितिमा परिवारले आर्थिक जोखिमबाट राहात पाउँछ’, उनी भन्छन्।

यसका साथै गुरुङले समाजमा बचत संस्कृतिको आवश्यकता औँल्याउँछन्। ‘थोरै कमाए थोरै बचत, धेरै कमाए धेरै बचत गर्ने बानी बसाल्नुपर्छ। यहाँ बचत भनेको पैसाको मात्र होइन, समय र अन्य स्रोतको पनि हो’, उनी जोड दिन्छन्।

बीमालाई जीवनशैलीसँग जोडेर बुझाउने यही सोच र निरन्तरताले गुरुङलाई बीमा क्षेत्रमा प्रेरणादायी व्यक्तित्वका रुपमा स्थापित गरेको छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८२, बुधबार १४:०७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।