Logo

अन्तर्राष्ट्रिय

अरिजित सिंहलाई प्लेब्याक गायन नछाड्न आमिर खानको आग्रह



काठमाडौं । बलिउड संगीत क्षेत्रमा गत महिना ठूलो हलचल मच्चिएको थियो, जब चर्चित गायक अरिजित सिंहले प्लेब्याक गायनबाट पछि हट्ने घोषणा गरे । उनको घोषणापछि फिल्म उद्योग र उनका प्रशंसकहरू आश्चर्यचकित बनेका थिए ।

घोषणापछि केही दिनमै बलिउड सुपरस्टार आमिर खान स्वयं अरिजितलाई भेट्न उनको गृहजिल्ला मुर्शिदाबाद पुगेको खबर सार्वजनिक भएको थियो ।

सोमबार जुनैद खान अभिनीत फिल्म ’एक दिन’ को शीर्ष गीत निर्माणसम्बन्धी ‘बिहाइन्ड द सिन्स’ भिडियो सार्वजनिक भएपछि उक्त भेटघाटका झलकहरू बाहिरिएका हुन् । जुनैद खान आमिर खानका छोरा हुन् ।

भिडियोमा आमिर खान अरिजित र उनको परिवारसँग घरमै समय बिताएको, सँगै खाना खाएको, पतंग उडाएको तथा ‘एक दिन’ को शीर्ष गीत रेकर्ड गरेको देखिन्छ । भिडियोले दुवैबीचको आत्मीय सम्बन्ध र पारिवारिक वातावरणलाई उजागर गरेको छ ।

भेटका क्रममा आमिरले अरिजितसँग भावुक आग्रह गर्दै प्लेब्याक गायन नछाड्न अनुरोध गरेका छन् । भिडियोमा आमिरले भनेका छन,“केही समयका लागि ब्रेक लिन चाहन्छौ भने ठीक छ, तर हिन्दी फिल्मका लागि नै नगाउने भन्ने कुरा नगर्नुस, हाम्रो के हुन्छ भाइ ?”

यसअघि जनवरी महिनामा अरिजितले इन्स्टाग्राममार्फत सन्देश जारी गर्दै अबदेखि नयाँ प्लेब्याक असाइनमेन्ट नलिने घोषणा गरेका थिए ।

उनले लेखेका थिए, “सबैलाई नयाँ वर्षको शुभकामना । यतिका वर्षहरूमा मलाई माया गर्ने सबै श्रोताप्रति धन्यवाद । अबदेखि म प्लेब्याक भोकलिस्टका रूपमा कुनै नयाँ असाइनमेन्ट लिने छैन । यो एक अद्भुत यात्रा थियो ।”

अरिजितको उक्त निर्णयले संगीतप्रेमीहरूलाई निराश बनाएको छ भने आमिर खानको आग्रहपछि उनले आफ्नो निर्णय पुनर्विचार गर्ने हुन् कि होइनन् भन्ने विषयमा चर्चा सुरु भएको छ । एएनआई

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार ०९:२९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।