Logo

प्रमुख समाचार

अमेरिकामा पत्नी र छोरीको हत्या गर्ने नेपालीको प्रहरीको गोलीबाट मृत्यु



काठमाडौं । अमेरिकाको भर्जिनिया राज्यस्थित फेयरफ्याक्स काउन्टीमा घरेलु हिंसाको भयावह घटनामा आफ्नै परिवारका सदस्यको हत्या गरेका एक नेपाली प्रहरी कारबाहीमा मारिएका छन् ।

सोमबार मान्टुआ नजिकैको एउटा अपार्टमेन्टभित्र आफ्ना तीन जना परिवारका सदस्यहरूलाई क्रुरतापूर्वक खुँडा प्रहार गर्ने एक व्यक्तिलाई फेयरफ्याक्स काउन्टीका प्रहरी अधिकारीले गोली हानी मारेका हुन् ।

नेपाली समाचार पोर्टल खसोखास डट कमका अनुसार मृतकहरू ५१ वर्षीया बिन्दा थापा र उनकी ३१ वर्षीया छोरी ममता थापा हुन् । घटनामा संलग्न व्यक्ति उनीहरूका परिवारकै सदस्य छत्रबहादुर थापा रहेको उल्लेख गरिएको छ । आक्रमणमा परेका ३५ वर्षीय ज्वाइँ सन्तोषकुमार थापा प्रहरी पुग्दासम्म ज्यान जोगाउन संघर्ष गरिरहेका थिए ।

फेयरफ्याक्स काउन्टी प्रहरी प्रमुख केभिन डेभिसले पत्रकार सम्मेलनमा भने, ‘प्रहरी घटनास्थलमा पुग्दा संदिग्धले आफ्ना ज्वाइँमाथि खुँडा प्रहार गरिरहेका थिए । पटक पटक हतियार भुइँमा फाल्न दिइएको आदेश नमानेपछि एक अधिकारीले गोली चलाउनुपर्‍यो ।’ गोली लागेपछि प्रहरीले तत्काल सीपीआर दिए पनि घटनास्थलमै ती व्यक्तिको मृत्यु घोषणा गरिएको उनले बताए ।

घटनाका बेला अपार्टमेन्टभित्र एक वर्षको बच्चा पनि रहेको तर उसलाई कुनै चोट नलागेको प्रहरीले जनाएको छ । बच्चालाई हाल बाल संरक्षण सेवाको जिम्मा लगाइएको छ ।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार १२:२८   :  बजे

471
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।