काठमाडौं। गोरखबहादुर बिष्ट ‘आनन्द’का लागि सपनाको पुञ्ज होइन राजनीति, पवित्र भावका साथ जनताको सेवा गर्ने थलो हो। जहाँ रहेर उनी सुशासन, समृद्धि र दिगोविकास जस्ता जनताका अभिष्ट पूरा गर्न तीन दशकदेखि सक्रिय छन्।
बिष्ट सुदूरको दूर भूमि डोटीको गड्सेरामा २०२९ जेठ १३ गते जन्मिए। उनी मध्यमवर्गीय परिवारमा जन्मिएका व्यक्ति हुन्। पहाडीया दैनिकी कष्टकर थियो। बाटोघाटो, शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता थुप्रै आधारभूत आवस्यकताको अभाव थियो। बुबाआमाको जीवन मेलापातमा अभाव, चुनौति र संघर्षका सुस्केरा सुसेल्दै वित्यो। तर, उनीहरूमा आफ्ना सन्तानहरूलाई राम्रो शिक्षादिक्षा दिएर शिक्षित बनाउनुपर्छ भन्ने चेतनको हुटहुटी थियो।
बिष्टले दुई कक्षासम्म डोटीको गडसेराको खहडास्थित महेन्द्र प्राथमिक विद्यालयमा अध्ययन गरे। त्यसपछि परिवार बसाइ सरेर धनगढी पुग्यो। उनले धनगढीस्थित पञ्चोदोय माद्यामिक विद्यालयबाट एसएलसी पास गरे। थप अध्ययनका लागि भारतको देहरादुन, काठमाडौं हुँदै अमेरिकासम्म पुगे। र, आफ्ना माता–पिताको सपना पूरा गरे।
जहाँ पुगे पनि उनलाई राष्ट्र प्रेमले कहिले छोडेन। बाका हलोसँगै जोतिएका संघर्षका कथा, आमाका घाँसको दाम्लोसँगै निधारमा कोरिएका दुःखका व्यथा बिष्टको आँखामा जहिल्यै घुमिरहेका हुन्थे। ती कथाव्यथा उनका बुबाआमाका मात्र नभएर सिंगो गाउँलेका पनि थिए। त्यसैले बिष्टको मनमा सधैँ आफ्नो गाउँठाउँका लागि केही गर्नुपर्छ भन्ने चेतना थियो। त्यसैले बेलाबखत देशका दूरदराजमा बिष्ट सकेको सहयोग गरिरहेका हुन्छन्।
कांग्रेसमा विष्टको योगदान
उनी तीन दशकदेखि कांग्रेसमा रहेर राजनीतिका माध्यमले लोकतान्त्रिक आन्दोलन र समाजसेवामा सक्रिय भूमिका निर्वाह गरिरहेका छन्। उनी आफ्ना शुभचिन्तकमाझ गोरखबहादुर भन्दा बढी आनन्द बिष्ट नामले सुपरिचित छन्। बिष्ट नेपाली कांग्रेसका एक इमान्दार सिपाही हुन्।
बिष्टमा विद्यार्थी जीवनबाट नै राजनीतिप्रति उच्च चेत थियो। नेपालमा २०४६ सालमा जनान्दोलनको राप–ताप थियो। बिष्ट अध्ययनका लागि देहरादुन पुगेका थिए। नेपालमा बहुदलीय प्रजातन्त्रको माग गर्दै आन्दोलन हुँदा विदेशमा समेत त्यसको पक्षमा नारा घन्किरहेको थियो। उनी जनआन्दोलनमा जोडिएर भारतमा रहेका नेपालीहरूले गरेको प्रदर्शनमा भाग लिन देहरादुनबाट नयाँ दिल्लीसम्म पुगेका थिए। यसरी विद्यार्थी जीवनबाटै बिष्ट कांग्रेसको बैचारिक धारमा जोडिएका थिए। नेपाल फर्केर उनी राजधानीको शंकरदेव क्याम्पसमा भर्ना भए। शंकरदेवमा अध्ययन गर्दैगर्दा सन् १९९८ मा विष्ट अमेरिका पुगे।
अमेरिका पुगेपछि पनि उनी निरन्तर नेपालको प्रजातन्त्रलाई बलियो बनाउन विश्व समुदायको ध्यानाकर्षण गराउने अभियानमा सक्रिय रहे। सन् १९९९ मा बिष्टसहित लोकतन्त्र पक्षधर न्यूयोर्कमा रहेका युवाहरूले ‘नेप्लिज डेमोक्रेटिक युथ काउन्सिल’ संस्था स्थापना गरे। बिष्ट त्यसको संस्थापक संयोजक बने। त्यही काउन्सिलको अगुवाइमा आम लोकतन्त्र पक्षधर अमेरिकाका नेपालीहरूको तर्फबाट सन् २००२ को सेप्टेम्बरमा संयुक्त राष्ट्र संघको भवन अगाडी नेपालमा लोकतन्त्रको पक्षमा र निरङ्कुश राजतन्त्रको विपक्षमा विशाल र्यालीको आयोजना गरियो। त्यसको नेतृत्वदायी भूमिका पनि बिष्टले नै निर्वाह गरेका थिए।
चार वर्षसम्म संयुक्त राष्ट्रसंघ, ह्वाइटहाउस, क्यापिटलहिल, युरोपियन युनियन र विभिन्न अन्तर्राष्ट्रिय मानव अधिकारवादी संघ संस्थालाई नेपालमा लोकतन्त्र पुर्नवहालीको लागि ज्ञापन पत्र बुझाउने काम पनि उनकै नेतृत्वमा भयो। संयुक्त राष्ट्रसंघको साधारण सभामा आउने विभिन्न देशका राष्ट्राध्यक्षहरूलाई पनि लोकतन्त्र पुर्नवहालीका लागि उनी नेतृत्वको समूहले दवाव सिर्जना गरिरह्यो।
‘२०६२/६३ को जनआन्दोलनमा मेरो नेतृत्वमा अमेरिकामा भएको प्रदर्शन राजनीतिक जीवनकै टर्निङ् प्वाइन्ट बन्न पुग्यो। हामीले न्यूयोर्क, वासिंगटन डिसीलगायतका सहरमा लोकतन्त्रको पक्षमा विश्व समुदायको ध्यानाकर्षण गराउँदै सहयोग माग गरेका थियौं। त्यसले नेपालमा लोकतन्त्रको पक्षमा अन्तर्राष्ट्रिय सहयोगका लागि ‘माइल स्टोन’को काम ग¥यो। मूलधारका सञ्चार माध्यममा प्रधान रुपमा समाचार प्रकाशन भयो। त्यसपछि कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले मलाई फोन गरेर बधाई ज्ञापन गर्नुभयो,’ बिष्ट सम्झिन्छन्।
सोही क्रममा बिष्टलाई कोइरालाले कांग्रेस निकट साथीहरूलाई समेटेर नेपाली जनसम्पर्क समिति गठन गर्न निर्देशन दिए। सन् २००५ मा विष्टले नेपाली जनसम्पर्क समिति अमेरिकाको संस्थापक संयोजक भएर पार्टीले सुम्पिएको जिम्मेवारी बहन गर्दै संगठनलाई अमेरिकाभर विस्तार गरेका छन्। त्यसपछि सन् २००८ मा न्यूयोर्कमा जनसम्पर्क समितिको पहिलो अधिवेशनबाट बिष्ट निर्विरोध सभापति चयन भए।
सन् २०१४ मा दोस्रो पटक भारी मतका साथ समितिको अधिवेशनमार्फत सभापतिमा निर्वाचित भएका विष्टको नेतृत्वमा हाल अमेरिकामा २६ वटा च्याप्टर विधिवत रुपमा क्रियाशील छन्। बिष्टले ११औं, १२औं, १३औं र १४औं महाधिवेशनबाट कांग्रेसको महासमिति सदस्य चयन भएर काम गरेका छन्। १३औं महाधिवेशनपछि तत्कालीन सभापति शेरबहादुर देउबाले बिष्टलाई कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए। यसरी भूगोल बाहिरबाट कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य मनोनित हुने बिष्ट पहिलो व्यक्ति हुन्। उनले अमेरिकामा मात्र नभएर विश्वभर कांग्रेसको संगठन निर्माणका लागि अहम भूमिका निर्वाह गरेका छन्।
उनको त्यही इमान्दारिता र लगावको कदर कर्दै कांग्रेसले यसपटक प्रतिनिधिसभा कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को उम्मेदवार बनाएको छ। यतिबेला बिष्ट घरघर पुगेर जनमनका कुरा सुनिरहेका छन्। उनले भने, ‘आफ्ना कुरा सुनाएर मात्र परिवर्तन सम्भव छैन, अहिले मेरो कोसिस भनेको जनताका कुरा सुन्ने, पीडा सुन्ने, त्यसलाई मनन गर्ने र त्यसैमुताविक जनपेक्षाअनुसार काम गर्ने हो। मैले गर्ने कामहरू घोषणा पत्रमार्फत सार्वजनिक गरिसकेको छु।’
बिष्टको सामाजिक छवी
बिष्ट राजनीतिकर्मी मात्र होइनन्। उनको लोभलाग्दो सामाजिक छवी छ। उनले आफ्नो जीवनमा थुप्रै सहयोग गरेका छन्। अमेरिका पुग्ने प्रत्येक नेपालीका लागि बिष्टको घरको दैलो सदा खुला रहन्छ। बिरानो मुलुकमा पुगिसकेपछि सहजता प्रदान गर्ने आफ्नो मान्छे पाउनै गाह्रो हुन्छ। तर, अमेरिका पुग्ने नेपालीका लागि बिष्ट सधैँ सहयोगी बनेर उभिएको गर्विलो सहृदयता उनीभित्र छ।
त्यहाँ बस्ने चाँजोपाँजो मिलाउनेदेखि हाजारौं विद्यार्थीलाई रोजगारी खोजी दिनेसम्मको सहयोग उनले गरेका छन्। अमेरिकामा कुनै नेपालीको निधन भएमा शव नेपाल पठाउने वा त्यतै अन्त्यष्ठि गर्ने काममा पनि बिष्टले ठूलो सहयोग गरिका छन्। कोही बिरामी भएमा उपचारका लागि उनको अथक सक्रियता रहन्छ। यसरी बिष्टले अमेरिकामा रहने नेपालीका सुखदुःखका सारथी बनेर ठूलो सहयोग गरेका छन्। हालसम्म बिष्टले अमेरिकामा विभिन्न अप्ठ्यारोमा परेका हजारौं व्यक्तिलाईसहयोग गरिसकेका छन्।
कोरोना महामारीको बखत अमेरिकाको न्यूयोर्क सिटी उच्च जोखिममा थियो। सबै मान्छे त्रासमा थिए। तर, बिष्ट चुप थिएनन्। उनी रातदिन नभनी ज्यान जोखिममा राखेर बिरामीहरूको सहयोगका लागि सक्रिय थिए। उनले अमेरिकाका अन्य राज्यसँग समन्वय गरेर उच्च कोरोना प्रभावित न्यूयोर्क सिटीका जनताको लागि मेडिकल सामग्री माक्स, सेनिटाइजर, ग्लोब्सल, सिटामोलगायत औषधि संकलन गर्दै बिरामीहरूलाई प्रदान गरेका थिए। उनले आफ्नो नेतृत्वमा अन्य राज्यका विभिन्न संघ संस्थालाई गोलबद्ध गराएर दैनिक ४०/५० जना स्वयं सेवकलाई खटाएर प्रत्येक दिन औषधि बोकेर बिरामीको घर–घर पुर्याउने काम गरेका थिए। उनकै नेतृत्वमा अप्ठ्यारोमा परेका व्यक्तिहरूको घरमै पुगेर खाद्य सामग्री प्रदान गर्ने काम भएको थियो। त्यसरी सहयोग गर्दा कुनै देशको नागरिक हेरिएको थिएन, केवल मानवता हेरिएको थियो। बिष्टले अप्ठ्रोमा परेका जुनसुकै व्यक्तिलाई पनि सहयोग गरेका थिए।
कोरोना महामारीमा न्यूयोर्कमा हजारौं विद्यार्थी होस्टेल बाहिर पुगे। ती विद्यार्थीको खानपानको व्यवस्था र औषधि उपचारको व्यवस्था पनि बिष्टकै नेतृत्वमा भएको थियो। न्यूयोर्कका विभिन्न अस्पतालका प्रतिनिधिले घरमै पुगेर आफूहरूसँग सकिएको मेडिकल सामग्री बिष्टबाट लगेर बिरामीको उपचार गरे। बिष्टले गरेको समाजसेवाबाट प्रभावित भएर न्यूयोर्कका तत्कालिन मेयर दुई पटक उनको घरमै पुगे। बिष्टको साहस र सहयोगप्रति उनले निवासमै पुगेर सम्मान अर्पण गरे। बिष्टको त्यो सक्रियता र सहयोगको उच्च मूल्यांक गर्दै अमेरिकाका तत्कालिन राष्ट्रपति जोबाइडेनले ‘उत्कृष्ठ सामाजिक सेवा’ सम्मानबाट सम्मानित गरे।
उनले अमेरिका मात्र नभइ नेपालमा पनि ठूलो सहयोग गरेका छन्। बिष्टको संयोजकत्वमा नेपालमा कोरोना महामारी नियन्त्रण्का लागि नेपाली कांग्रेसका तत्कालिन सभापति शेरबहादुर देउवासँग जुम मिटिङमा छलफल गरेर अमेरिकामा संकलित एक करोड ३५ लाख रुपैयाँ कांग्रेसको खाता जम्मा गरेका थिए। २०७२ बैशाख १२ गते नेपालमा विनाशकारी भूकम्प गयो। नागरिक तरासमा थिए। तर, बिष्ट दोस्रो दिन राहत सामग्री बोकेर नेपाल पुगे। उनी प्राण जोखिममा राखेर भूकम्प प्रभावित जिल्लाहरूमा पुगेर सहयोग तथा राहत प्रदान गर्न थाले। त्रिपाल प्रदान गर्ने, अस्थायी टहरा निर्माण गर्ने, खाद्यय सामग्री प्रदान गर्ने, विद्यालय पुनःनिर्माण गर्ने जस्ता कार्यमा उनी सक्रिय हुन थाले। काठमाडौंको गागलफेदीमा उनकै नेतृत्वमा भूकम्पले भत्काएको विद्यालय निर्माण भयो। उनले भूकम्पमा टुहुरा भएका थुप्रै विद्यार्थीलाई गिरिजाप्रसाद मेमोरियल कलेजमा छात्रवृत्तिमा पढाउने व्यवस्था गरे। थुप्रै भूकम्प पीडिलको औषधि उपचारको व्यवस्था गरे।
नेपाल सरकारको दैविक कोषमा उनको नेतृत्वमा ठूलो रकम जम्मा गरियो। २०७९ सालमा दार्चुलामा ठूलो बिनाशकारी बाढीपहिरो गयो। त्यो बेला पनि उनले लाखौको सहयोग गरेका थिए। तराईंका जिल्लामा हुरी बतासले क्षति पुर्याउँदा उनले लाखौं रकम सहयोग गर्दै आएका छन्। शितलहरको समयमा प्रभावित जिल्लामा पुगेर न्यानो लुगा वितरण गर्ने, खाद्य सामग्री वितरण गर्ने कार्यमा उनी अग्रमोर्चामा हुन्छन्। गोरखाको लाप्राक सिविरमा पनि उनले ठूलो सहयोग गरेका छन्।
उनले देशका थुप्रै अनाथालय र वृद्धाश्रममा सहयोग गरेका छन्। देशका विभिन्न भूभागमा आर्थिक अभावमा उपचार गर्न नसकिरहेका हजारौं मानिसलाई उपचारार्थ सहयोग गरेका छन्। हजारौं बालबालिकाको अध्ययनका लागि सहयोग गरेका छन्। उनले हालसम्म नेपालका साढे दुई दर्शन जिर्ण स्कुल भवन निर्माणका लागि सहयोग गर्नुका साथै सयौं विद्यार्थीहरूका लागि स्कलरसिप उपलब्ध गराउने काम पनि गरेका छन्। बिष्टकै पहलमा डोटीमा दुईवटा एम्बुलेन्स सेवा उपलब्ध छन्।
उनले पार्टीले प्रदान गरेको जिम्मेवारी सधैँ कुसलतापूर्वक निर्वाह गर्दै आएका छन्। उनलाई पार्टीले २०८० सालमा १० दिने अभियानका लागि हुम्ला खटाएको थियो। उनले त्यहाँ पुगेर आफ्नो जिम्मेवारी कुसलतापूर्वक निर्वाह गरे। हुम्ला, खोटाङ्, बझाङलगायत थुप्रै दुर्गम जिल्लामा पुगेर उनले पार्टीले प्रदान गरेको जिम्मेवारी निर्वाह गरेका छन्। बिष्टलाई भाषण गरेर नेता भइन्छ भन्ने विश्वास छैन। उनी नेताको असल कर्म समाजसेवा भएको ठान्छन्। जबसम्म समस्यामा रहेका जनताको पीडा महशुस गर्न सकिँदैन तबसम्म मासिले जिम्मेवारी बोध गर्न सक्दैन भन्ने उनको बुझाइ छ। उनी यसरी निरन्तर तीन दशकदेखि आफ्नो व्यक्तिगत काम, घर, परिवार नभनी समाज सेवामा सक्रिय छन्। बिष्टका एक छोरा, एक छोरी र श्रीमती छन्।




















प्रतिक्रिया