काठमाडौं । जय ट्रफी पुरुष एलिट कपमा नेपाल पुलिस क्लबले पहिलो जित निकालेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल एपीएफ क्लबमाथि ९ विकेटको शानदार जित निकाल्दै पुलिस क्लबले पहिलो अंक जोडेको हो।
एपीएफले दिएको ११३ रनको सामान्य लक्ष्य पुलिसले एक विकेटको क्षतिमा पूरा गर्यो । उसको जितमा कुशल भुर्तेलले ५३ बलमा नटआउट ७१ र अमित श्रेष्ठले नटआउट ३२ रनको योगदान गरे। सोहिल कुक्वर ७ रनमा भुवन कार्कीको बलमा बोल्ड भए।
यसअघि पहिलो इनिङ्समा १८५ रन बनाएको एपीएफले दोस्रोमा २०४ रन जोडेको थियो। उसका लागि दीपक बोहोराले ९४ रनको योगदान दिए । एपीएफले पहिलो इनिङ्समा १८५ रन बनाएको थियो।
धारिलो बलिङ गरेका पुलिसका ललित राजवंशीले ५ विकेट लिए । कुशल भुर्तेलले ३ विकेट झार्दा सागर ढकाल र शंकर रानाको नाममा एकएक विकेट रह्यो ।
यसअघि ५ विकेटको क्षतिमा १७९ रनबाट मंगलबार दोस्रो दिनको खेल थालेको पुलिसले ७ विकेटको क्षतिमा २७७ रनमा डिक्लियर गरेको थियो। पुलिसका लागि शंकर रानाले नटआउट १०५ रनको योगदान दिँदा दिल्साद अलीले ५८ र अमित श्रेष्ठले ५८ रन बनाए ।
पहिलो इनिङ्समा ४ र दोस्रोमा ५ विकेट लिएका ललित राजवंशी म्यान अफ द म्याच भए।
अर्को खेलमा भने बागमती प्रदेश र त्रिभुवन आर्मी क्लबले अंक बाँडेका छन्। बागमतीले दिएको ११८ रनको मध्यम लक्ष्य पछ्याएको आर्मीले दिनको खेलको समाप्तिमा ४ विकेट गुमाएर ३९ रनमात्र बनाउन सक्यो। पाँचौ ओभरको खेलमा बागमतीका कप्तान सन्दीप लामिछानेले ३ विकेट लिएपछि आर्मी लक्ष्य भेट्टाउन असफल रह्यो ।
आर्मीले पहिलो इनिङ्स ७ विकेटको क्षतिमा ३५२ रनमा डिक्लियर गरेको थियो। बागमतीले भने पहिलो इनिङ्स ७ विकेटको क्षतिमा २५९ रनमा र दोस्रो इनिङ्स ३ विकेटको क्षतिमा २१० रनमा डिक्लियर गरेको थियो।
आर्मीले पहिलो खेलमा नेपाल पुलिस क्लबलाई पराजित गरेको थियो भने बागमती एपीएफसँग पराजित भएको थियो।




















प्रतिक्रिया