Logo

राजनीति

कोशी तटीय क्षेत्रलाई ‘माल्दिभ्स’ बनाउने बालेनको सपना, कोशीको पानीले धरानको प्यास मेटाउने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले पूर्वको सम्भावना र विद्यमान समस्या समाधानका लागि भावी कार्ययोजना प्रस्तुत गरेका छन्।

मंगलबार इटहरीमा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले पूर्वको कृषि, उद्योग, पर्यटन र खेलकुदको विकासमा राज्य चुकेको भन्दै रास्वपाले सप्लाई चेन सुधार्नेदेखि सिलाम साक्मा बनेर देश जोगाउनेसम्मको प्रतिबद्धता व्यक्त गरे।

मञ्चमा उक्लिनेबित्तिकै बालेनले उपस्थित जनसागरलाई प्रश्न गरे, ‘चिया खानुभयो ? कहाँको खानुभयो ? इलामको कि दमकको ?’ लगत्तै उनले अर्को प्रश्न तेर्साए, ‘बिहान खानामा तरकारी कहाँको खानुभयो ? बोर्डर पारीको ?’

पूर्वका पहाडी जिल्लाहरू तेह्रथुम र पाँचथरमा उत्पादन भएको तरकारी बजार नपाएर कुहिएर जाने तर तराईका भान्सामा भारतीय तरकारी पाक्नुपर्ने अवस्था देशको दुखद् विडम्बना भएको बताउँदै उनले भने, ‘हाम्रै पहाडको उत्पादन तल तराईका झापा, सुनसरी र विराटनगरमा खान नपाइनु दुःखको कुरा हो। यो ‘सप्लाई चेन’ को समस्या हो। यो समस्या समाधान गर्ने पार्टी रास्वपा बन्न चाहन्छ।’

पूर्वी तराईका ३-४ वटा जिल्लाले मात्रै सही व्यवस्थापन गर्न सके सिंगो देशलाई पुग्ने धान चामल उत्पादन गर्न सक्ने क्षमता राख्ने उनले बताए। वर्षामा बाढी र हिउँदमा सिँचाइ अभावका कारण यो सम्भावना खेर गइरहेको भन्दै उनले रास्वपाले तटबन्ध र बाह्रै महिना सिँचाइको व्यवस्था गर्ने बताए।

पूर्वको औद्योगिक साख गिरेकोप्रति उनले आक्रोश पोखे। ‘यो क्षेत्र देशकै पहिलो कलकारखाना खुलेको ठाउँ हो, तर आज बन्द छन्,’ बालेनले भने, ‘नयाँ फ्याक्ट्री खोल्न १० जना नेता र कर्मचारीलाई ढोग्नुपर्छ। फ्याक्ट्री खुलेपछि चन्दा आतंक सुरु हुन्छ। अब उद्योगीले नेता ढोग्नुपर्ने र चन्दा दिनुपर्ने दिनको अन्त्य गर्नुपर्छ।’

नेपालका ६० देखि ७० प्रतिशत फुटबल खेलाडी पूर्वबाटै उत्पादन हुने तथ्य पेस गर्दै बालेनले यहाँको खेल पूर्वाधार दयनीय रहेको बताए। ‘खेलाडी उत्पादन हुन्छन् तर यहाँ एउटा रंगशाला छैन, ग्रास-रुट लेभलको ट्रेनिङ सेन्टर छैन,’ उनले भने, ‘एउटा राम्रो खेलाडी बन्न १० हजार घण्टा अभ्यास चाहिन्छ। त्यो वातावरण बनाएर १० वर्षपछिको नतिजा देखिने गरी लगानी गर्ने सोच रास्वपाको छ।’

पर्यटनको प्रसंगमा उनले किरातहरूको आस्थाको केन्द्र (खुवालुङ, मुकुम्लुङ, पाथीभरा) को विकासमा जोड दिए। उनले उदयपुरको कोशी तटीय क्षेत्रलाई ‘इन्डोनेसिया र माल्दिभ्स’ जस्तै पर्यटकीय गन्तव्य बनाउन सकिने सम्भावना औंल्याए।

यस्तै, धरानको खानेपानी समस्याबारे बोल्दै उनले राजनीतिक दलहरूको इच्छाशक्तिको अभावलाई दोष दिए। ‘कोशीबाट मेकानिकल लिफ्टिङ गरेर धरानमा पानी ल्याउन ५/६ अर्ब लाग्छ। डिपिआर पहिले नै भइसक्यो तर काम भएन,’ उनले प्रश्न गरे, ‘अब कुन पार्टी सरकारमा पुग्दा हुन्छ ? रास्वपाले यो भेगको तिर्खा मेटाउने जिम्मा लिन्छ।’

उनले किराती समुदायमा प्रचलित ‘सिलाम साक्मा’ को बिम्ब प्रयोग गरे। ‘जसरी सिलाम साक्माले मृत्युलाई छेक्छ र मान्छेलाई कालबाट जोगाउँछ, त्यसरी नै रास्वपा देशलाई संकटबाट जोगाउने ‘सिलाम साक्मा’ बन्न चाहन्छ,’ बालेनले हुँदै भने।

उनले देशमा उत्पादन बढाएर, युवालाई स्वदेशमै रोजगारी दिएर र तीनै तहको निर्वाचनमा रास्वपालाई जिताएर देशको मुहार फेर्न सकिने दाबी गरे।

प्रकाशित मिति : १२ फाल्गुन २०८२, मंगलवार २०:३९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।