Logo

अनलाइनपाना खोज

‘बैंकिङ प्रणालीमा विश्वास जोगाउनु सबैभन्दा ठूलो जिम्मेवारी हो’ : सीइओ सुजितकुमार शाक्य



काठमाडौं। वित्तीय सूचक, ऋणको गुणस्तर र बजारमा फैलिएको मनोवैज्ञानिक दबाब तथा महत्वाकांक्षी योजनाका कारण पछिल्ला केही वर्षदेखि चर्चा र विवादमा परेको एनआईसी एशिया बैंक लाई पुनः लयमा फर्काउने जिम्मेवारीसहित सुजित कुमार शाक्यले व्यवस्थापकीय नेतृत्व सम्हालेका छन्। प्रमुख कार्यकारी अधिकृतका रूपमा जिम्मेवारी सम्हालेपछि उनले बैंकलाई पुनः सुदृढ बनाउने लक्ष्यसहित रणनीतिक योजना, खर्च नियन्त्रण र वित्तीय अनुशासनमा जोड दिएका छन्।

शाक्यको विचारमा पछिल्ला केही वर्षमा एनआईसी एशिया मात्र होइन, समग्र बैंकिङ क्षेत्र नै चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेको छ। आर्थिक गतिविधिमा आएको सुस्तता, ऋण असुलीमा देखिएको दबाब र बजारमा फैलिएको मनोवैज्ञानिक त्रासले बैंकिङ क्षेत्रलाई असर गरेको उनी बताउँछन्। तर यस्तो परिस्थितिलाई नकारात्मक रूपमा मात्र नहेरी सुधारको अवसरका रूपमा लिनुपर्ने उनको धारणा छ। “चुनौतीको समयमा नै मैले नेतृत्व सम्हालेको छु। बैंक पुनः लयमा फर्किन्छ भन्नेमा म विश्वस्त छु,” उनी भन्छन्, “अहिलेको अवस्थालाई हामीले सुधार र पुनर्संरचनाको अवसरका रूपमा लिएका छौँ।”

व्यवसायिक रणनीतिका सन्दर्भमा शाक्यको विचारमा विगत केही वर्षमा बैंकले रिटेल र साना तथा मझौला उद्यम (एसएमई) बैंकिङमा बढी ध्यान दिएको थियो, जुन आवश्यक पनि थियो। उनका अनुसार एसएमई क्षेत्रले रोजगारी सिर्जना गर्ने भएकाले अर्थतन्त्रमा यसको भूमिका महत्वपूर्ण हुन्छ। तर दीर्घकालीन स्थायित्वका लागि बैंकको पोर्टफोलियो सन्तुलित हुनुपर्छ भन्ने उनको धारणा छ। त्यसैले अब कर्पोरेट बैंकिङतर्फ पनि ध्यान दिँदै समग्र व्यवसायलाई सन्तुलित ढंगले विस्तार गर्ने रणनीति अघि बढाइएको उनले बताए।

पूँजी व्यवस्थापनबारे उनको विचारमा बैंकिङ व्यवसाय विस्तारका लागि बलियो पूँजी आधार अनिवार्य हुन्छ। त्यसैले बैंकले १:१ अनुपातमा आग्राधिकार सेयर (राइट्स) जारी गर्ने योजना बनाएको छ भने करिब पाँच अर्ब रुपैयाँ बराबरको पर्पेचुअल प्रिफरेन्स सेयर ल्याउने तयारी पनि भइरहेको छ। यसले बैंकको पूँजी आधार बलियो बनाउने र व्यवसाय विस्तार गर्न सहज हुने उनको विश्वास छ।

आम्दानीका स्रोत विविधीकरणबारे नेपाली बैंकहरू अझै पनि धेरै हदसम्म ऋणबाट आउने ब्याज आम्दानीमा निर्भर रहेको उनी बताउँछन्। त्यसैले आगामी दिनमा गैर–ऋण आधारित शुल्क आम्दानी बढाउन आवश्यक रहेको को भनाई छ। बैंकसँग करिब ४० लाख ग्राहक रहेको उल्लेख गर्दै उनी त्यसलाई अवसरका रूपमा उपयोग गर्ने योजनामा रहेको बताउँछन्। डिजिटल सेवा, व्यापार वित्त र अन्य बैंकिङ सेवामार्फत fee-based income बढाउने रणनीति रहेको उनको धारणा छ।

जोखिम व्यवस्थापनलाई उनी बैंकिङ व्यवसायको मूल आधार मान्छन्। बैंकिङ दीर्घकालीन व्यवसाय भएकाले जोखिम व्यवस्थापनलाई विशेष प्राथमिकता दिनुपर्ने उनको विचार छ। उनका अनुसार अहिलेको अवस्थामा रातारात ठूलो परिवर्तन सम्भव नभए पनि क्रमिक सुधारमार्फत आगामी दुई वर्षभित्र उल्लेखनीय सुधार देखिने अपेक्षा गरिएको छ।

सञ्चालन खर्च नियन्त्रणबारे पनि उनले स्पष्ट रणनीति अघि सारेका छन्। कोभिड–१९ पछि बैंकिङ कारोबारको स्वरूप परिवर्तन भई धेरै सेवा डिजिटल माध्यममा सरेको उनको विश्लेषण छ। त्यसैले महानगर क्षेत्रमा केही शाखा एकीकृत गर्ने वा मर्ज गर्ने योजना बनाइएको छ, जसले सञ्चालन खर्च घटाउन मद्दत गर्ने उनको भनाइ छ।

तर, खर्च घटाउने नाममा कर्मचारी कटौती गर्ने नीति भने नरहेको उनले स्पष्ट पारेका छन्। शाखा एकीकृत भए पनि त्यहाँ कार्यरत कर्मचारीलाई अन्य व्यवसायिक क्षेत्रमा व्यवस्थापन गर्ने योजना रहेको उनको भनाइ छ।

डिजिटल बैंकिङ र कृत्रिम बुद्धिमत्ता (एआई) प्रयोगबारे शाक्यको विचारमा बैंकिङ क्षेत्रको भविष्य नै डिजिटल प्रविधिसँग जोडिएको छ। बैंकका आन्तरिक प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाउने काम भइरहेको र ग्राहक सेवाहरूलाई पनि क्रमशः डिजिटल प्लेटफर्ममा लैजाने योजना रहेको उनले बताए। कागजी मेमो हटाएर ई–मेमो प्रणाली लागू गरिसकेको उनले जानकारी दिए।

नयाँ व्यवसाय विस्तारका सम्भावनाबारे उनको विचारमा अहिलेको प्राथमिकता ऋण असुली सुधार गर्नु हो। त्यसपछि पूँजी कम लाग्ने तर बजारमा माग भएको रिटेल पोर्टफोलियो विस्तार, गोल्ड लोन जस्ता योजनाहरू अघि बढाउने तयारी भइरहेको उनले बताए।

एसएमई क्षेत्रमा बैंकको करिब ३५ प्रतिशत व्यवसाय केन्द्रित रहेको बताउँदै उनले यस क्षेत्रमा केही चुनौती भए पनि औसत कर्जा आकार करिब ५० लाख रुपैयाँ भएकाले जोखिम अत्यधिक ठूलो नभएको बताए।

कर्पोरेट बैंकिङका सन्दर्भमा भने बैंकले आक्रामकभन्दा सन्तुलित रणनीति अपनाउने उनको धारणा छ। अहिले बैंकको कर्जा पोर्टफोलियो करिब २२० अर्ब रुपैयाँ रहेको र रिकभरी सुधारसँगै यसमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको उनले बताए।

निक्षेपकर्ताप्रति सन्देश दिँदै शाक्यको विचारमा बैंकिङ प्रणालीको आधार नै विश्वास हो। “बैंकको पहिलो दायित्व निक्षेपकर्ताको पैसा सुरक्षित राख्नु हो,” उनी भन्छन्। बैंकिङ क्षेत्रमा अनावश्यक त्रास फैलाउने प्रवृत्तिले समग्र वित्तीय प्रणालीलाई असर गर्न सक्ने भएकाले त्यस्तो प्रवृत्तिबाट बच्नुपर्ने उनको धारणा छ। निक्षेपकर्ताको हित र सुरक्षालाई प्राथमिकतामा राख्दै बैंक अघि बढिरहेको उनले बताएका छन्।

प्रकाशित मिति : २९ फाल्गुन २०८२, शुक्रबार १२:४०   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।