Logo

प्रमुख समाचार

सोशल मिडियाको बलमा रास्वपाको उदय !



काठमाडौं । भदौ २३-२४ को ध्वंशका जगमा फागुन १२ गते गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा अकल्पनीय परिणाम आएको छ ।

स्थापित पुराना राजनीतिक दल तथा व्यक्तित्व, छनि, काम केही नहेरी मतदाताले नयाँका नाममा राष्ट्रिय स्वतन्त्र पार्टीलाई एकतर्फी बहुमत दिएका छन् ।

सामाजिक सञ्जालमार्फत फैलाइएको नयाँ र पुरानाको भाष्य- ‘एल्गोरिदम’ ले नेपाली मतदाताको मानसिकता नै एकोहोरो बनाइदिएर रास्वपालाई ‘वाख्राको मुखमा फर्सी’ राखिदिएजस्तो मत परिणाम दिएको छ ।

अव रवि लामिछाने, बोन्द्र शाहको टीमले आममतदाताको अपेक्षा पूरा गर्नुपर्ने भएको छ । ०६२/०६३ को जनआन्दोलनपछि ठूला दलले भनेका थिए- अब राजनीतिक परिवर्तनका लागि जनताले कहिल्यै पनि विद्रोहको झण्डा उठाउनुपर्ने छैन ।’

अर्थात्, देश समृद्धि र विकासको मार्गमा डोयाउने जिम्मेवारी उनीहरुले लिए। त्यसैकारण ०७२ मा संविधान बनेपछि जनता एक प्रकारले ठूला दलको परीक्षण गरिरहेका थिए ।

तर, देश विकास र समृद्धिको मार्गमा अघि बढ्नुसट्टा सत्तालिप्सा र संसदीय राजनीतिका विकृतिले राजनीति दुर्गन्धित भयो । सुशासनको सट्टा जताततै भ्रष्टाचार मौलायो।

सत्तामा बस्नेहरूले काखा र पाखाको व्यवहार गर्न थाले । शासकका व्यवहार र शैलीबाट जनता वाक्कदिक्क भए। मुलुकमा रोजगारीका अवसर खुल्नुको सट्टा अर्थतन्त्र शिथिल हुँदै गयो ।

त्यही विकृति र विसंगतिलाई कारण देखाउदै ‘जेन जी पुस्ता’ लाई हतियारका रुपमा प्रयोग गरी भदौ २३ र २४ गते विध्वस मच्याइयो ।

त्यही विध्वसको बलमा पुराना दुई ठूला दल नेपाल कम्युनिस्ट पार्टी एमाले दल र कांग्रेसलगायत अन्य पार्टीसमेतको समर्थनसहित दुई तिहाइको सरकार अपदस्थ भयो ।

अन्तरिम सरकार गठन गरी चुनाव गर्ने म्यान्डेड दिइयो । परम्परागत दलका विकृति र विसंगतिवाट निराश जनताको आवेग पोखियो प्रतिनिधिसभा निर्वाचनमा ।

पुराना दलप्रति दिक्क भएका जनता नयाँ र पुराना भनी घोलिएको मानसिक रसादि पिए र लठिए । व्यक्तित्व, काम, प्रवृत्ति केही विचार नगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चुनाव चिन्हमा मेसिनले झै छाप लगाइदिए । परिणाम यस्तो देखियो- भदौमा असिना पर्यो, फागुनमा बाढी आयो, रास्वपाबाहेक अरुलाई बढार्यो ।

उपत्यका सर्लक्कै

काठमाडौं उपत्यकालगायत अधिकांश क्षेत्रमा रास्वपाकै पक्षमा लहर देखियो । उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा रास्त्रपाले जित्यो । काठमाडौंका १० वटै, भक्तपुरका दुई वटै र ललितपुरका ३ वटै क्षेत्रमा रास्वपाले जित्यो ।

यहाँका जनताले न सिंहदरबार, सर्वोच्च अदालत जलाइएको सम्झे न त भक्तपुरमा नेपाल मजदुर किसान पार्टी अनि नेकपा एमालेका महेश बस्नेताले गरे गराएको विकास निर्माण कार्यको सम्मान गरे । आँखा चिम्लेर घण्टीमा छापकै लगाए ।

मधेस प्रदेशका अधिकांश क्षेत्र, कोशीका झापा, मोरङ र सुनसरीमा रास्वपाकै पक्षमा जनमत देखिएको छ । बागमती प्रदेशका चितवन, मकवानपुर, काभ्रे, धादिङलगायत अधिकांश जिल्लामा पनि रास्वपाकै प्रभुत्व देखिएको छ ।

गण्डकीका कास्की, स्याङजा, तनहुँ, नवलपुरलगायत जिल्लामा पनि उस्तै छ । लुम्बिनीका रूपन्देही, पश्चिम नवलपरासी, पाल्पा, गुल्मीलगायत जिल्ला, दाङ, बाँके, बर्दिया, सुदूपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरालगायत जिल्लामा रास्वपाकै वर्चस्व देखिएको छ ।

छिटपुटबाहेक देशभर नै रास्वपा अर्थात् घण्टीमय भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी उपसभापति डोरप्रसाद अर्यालले पार्टी सभापति र वरिष्ठ नेताप्रति जनताको भरोसाको परिणाम चुनावमार्फत जनताले प्रकट गरेको बताउँछन् ।

‘हामीले ल्याएको लहरलाई मतदाता जनताले शंका गर्नु पाउनुपर्छ,’ उनले भने, ‘जनताले शंका गर्न पाउनुहुन्छ । हामीलाई प्राक्टिकल्ली काम गर्न दिनुपर्यो । हामीले जनताको आशंका कामबाट मेटने छौं ।’

देश निर्माणकै लागि रास्वपाको उदय भएको उनले बताए । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत नेताहरुले चुनावबाट पार्टीको बहुमत ल्याउने दावी गरिरहेका थिए।

तर, ओलीसमेत सबै पदाधिकारी, पूर्व सांसदहरु पराजित भए। विशेष महाधिवेशन गरेर बदलिएको नयाँ कांग्रेस भनेर सभापति गगन थापा भोट मागिरहेका थिए ।

तर, गगन आफैँ सर्लाही ४ हारे । गगन नेतृत्वमा ‘बदलिएको’ काग्रेसको प्रभाव नै चुनावमा परेको देखिएन। अघिल्लो निर्वाचनमा ८९ सिट ल्याएर सबैभन्दा ठूलो पार्टी कांग्रेस र ८८ सिट ल्याएर दोस्रो ठूलो पार्टी बनेको एमालेको ‘हरिविजोग’ नै देखिएको छ ।

कांग्रेस एमाले पराजित भएका क्षेत्रमा रास्वपाका उम्मेदवारसँग ठूलो मतान्तर देखिएको छ । उता २२-२३ वटा पार्टी मिलाएको भन्दै ठूलो बन्ने सपना सुनाइरहेको नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल बाहेक अन्य पदाधिकारी नेताहरु पराजित भए।

एमाले छाडेका पूर्व प्रधानमन्त्री माधव नेपाल त गृहजिल्लाको निर्वाचन क्षेत्रमा चौथो नम्बरमा पुगे । थ्रेस होल्ड कटाउन पनि नेपाली कम्युनिस्ट पार्टीलाई हम्मेहम्मे परेको छ । मधेस केन्द्रित दल त पत्तासाप नै भएका छन् ।

राजतन्त्र र हिन्दुराज्यको एजेन्डा लिएर चुनावी मैदानमा रहेको राप्रपाको त झन के हालत ! यो निर्वाचनमा सबैभन्दा ठूलो क्षति एमाले र कांग्रेसलाई भएको छ । जेन-जी अन्दोलनको बेला सरकारको नेतृत्व एमालेको भएकाले उसमाथि चौतर्फी आक्रमण थियो नै ।

जेन-जी आन्दोलनमा दमन गरेको, सामाजिक सञ्जाल बन्द गरेको लगायत आरोप खण्डन गर्दै एमाले चुनावमा होमिएको थियो । निर्वाचन प्रचारमा भन्दा पनि एमाले रक्षात्मक अवस्थामा रहनुपरेको थियो ।

तर, त्यो आरोपको जवाफ दिन नपरेको, बदलियो बांग्रेस, बदल्छौं देश भन्दै मत मागेको कांग्रेसको झोली पनि रित्तै भयो । कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा यो जनादेशको संकेत २०७९ सालको स्थानीय निर्वाचनले नै दिएको बताउँछन् ।

‘२०७९ को स्थानीय निर्वाचनमा नै हामीले पुस्तान्तरण गर्नुपर्छ भन्ने संकेत त्यतिबेलै पाएका थियौं । त्यो लहर देखेरै रास्वपाको जन्म भयो, उपसभापति शर्माले भने, ‘२०७९ को प्रतिनिधिसभा चुनावमा रास्वपा आयो र त्यो हाम्रा लागि अर्को संकेत थियो दल र सरकार रूपान्तरण गर्ने ।

रूपान्तरण समयमा गर्न नसक्दा यो विस्फोट भएको हो ।’ एमाले यति कमजोर देखिन‌मा पार्टी र अध्यक्ष बोलीमाथि जेन-जी आन्दोलन प्रमुख कारण बन्यो । तत्कालीन सरकारको नेतृत्व गरेका ओली नेतृत्वको सरकारले आन्दोलनमा दमन गरेको आरोप लागेको थियो ।

यद्यपि, ओलीले सिंहदरबार, सर्वोच्च र संसद् भवन जलाउनेलाई जनताले ठेगान लगाउने भन्दै भाषण गरिरहेका थिए। तर, जैन-जी आन्दोलनपछि नयाँ र पुराना दल भन्ने बहस तीव्र भयो । अधिकांश जेन-जीले नयाँ दललाई भोट हाल्नुपर्ने अभियान नै सुरु गरे ।

त्यसको फाइदा रास्वपाले उठायो । एमालेमा उम्मेदवारी चयनमा भएको विभेदले पनि निर्वाचन नतिजामा निकै असर परेको देखिएको छ ।

युवा नेता एवं एमाले उपमहासचिव योगेश भट्टराई, गोकुल बाँस्कोटा, कर्ण थापालगायतलाई उम्मेदवार नबनाइएको भन्दै एमाले पंक्तिमा व्यापक असन्तुष्टि उत्पन्न भयो ।

मिलन गुरुङ (चके मिलन) जस्ता विवादित पात्रलाई टिकट दिनुलगायत विषयले परिणाम असर गरेको देखिएको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी फ्याक्टरले पनि एमालेलाई असर परेको देखिन्छ ।

भण्डारी पार्टीमा फर्कन चाहेकी थिइन् । तर, उनलाई पार्टी फर्कनबाट अवरोध गरियो । यो विषयमा पार्टीभित्र ठूलै विवाद भयो। एमालेको महाधिवेशनमा इतर पक्षमा लागेको भनेर कतिपय सक्षम नेताहरू पनि नेतृत्वमा आउन पाएनन् ।

यसले असन्तुष्टि सिर्जना गर्यो । पछिल्ला समयमा एमाले अध्यक्ष ओलीसँग नेता र कार्यकर्ताको दरी धेरै रह्यो । ओलीलाई भेट गर्न कार्यकर्तालाई मात्रै होइन, एमाले नेतालाई सकस थियो । त्यो झापा ५ मा भोट माग्ने क्रममा ओलीसँग स्थानीय जनताले गुनासो नै राख्न नपाएको दुखेसो पोखेका खबर करेन्ट साप्ताहिकमा उल्लेख छ ।

अध्यक्ष ओली र उनी निकटका नेताहरूमा रहेको दम्भ र अहंकारले पनि पार्टीलाई क्षति पुगेको एमालेकै नेताहरू बताउँछन् । पछिल्लो दलहरूमा चुनावी गठबन्धनको संस्कार भित्रियो ।

यो संस्कारले आफू मतदान गर्दै आएको चुनाव चिह्नमा कार्यकर्ताले भोट हाल्न पाएनन् । जसले उनीहरूलाई भोट परिवर्तन गर्ने विषय सामान्य बन्दै गयो ।

विगतमा अर्को दलको चिह्न भोट हाल्न पनि दलका कार्यकर्ता हच्किन्थे तर पार्टी र नेताले गठबन्धनमा नाम भोट जसलाई हाल्न केही नहुने रहेछ भन्ने भाष्य निर्माण भयो । देशी विदेशी प्रभाव यो निर्वाचनमा एमाले ठूलो धक्का लागेको छ ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०८२, शनिबार २०:१२   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।