काठमाडाैं । प्रतिनिधि सभाको २१ फागुनमा सम्पन्न निर्वाचनबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एकल बहुमत हासिल गरेसँगै सरकार गठनको प्रक्रिया निर्णायक चरणमा पुगेको छ। रास्वपाका सभापति बालेन्द्र शाह चैत १३ गते प्रधानमन्त्री नियुक्त हुँदै भोलि नै पूर्ण मन्त्रिपरिषद्सहित शपथ लिने तयारीमा छन्।
यसअघि पहिलो चरणमा चार मन्त्री टुंगो लगाइसकेको रास्वपाले अब विस्तारित मन्त्रिपरिषद्को अन्तिम सूची पनि तयार पारेको स्रोतले जनाएको छ। प्रारम्भिक सूचीअनुसार उपसभापति स्वर्णिम वाग्ले अर्थमन्त्री, डिपी अर्याल गृहमन्त्री, शिशिर खनाल परराष्ट्रमन्त्री र मनिष झा सञ्चार तथा सूचना प्रविधिमन्त्री बन्ने लगभग निश्चित भइसकेको छ।
यससँगै प्रधानमन्त्री शाहले रक्षा मन्त्रालय समेत आफैं सम्हाल्ने भएका छन्। थप मन्त्रालयहरूमा पनि नियुक्ति टुंगिएको छ। स्रोतका अनुसार सुनिल लम्साल भौतिक पूर्वाधार तथा योजना मन्त्री, दीपक बोहरा उद्योग वाणिज्य मन्त्री, सस्मित पोखरेल शिक्षा मन्त्री, बिपिन आचार्य सामान्य प्रशासन मन्त्री, सुधन गुरुङ युवा तथा खेलकुद मन्त्री र सोबिता गौतम कानुन मन्त्री बन्ने निश्चित भएको छ।
यस्तै, सिन्धुली–२ बाट निर्वाचित आशिष गजुरेललाई समेत मन्त्री बनाउने तयारी गरिएको एक नेताले बताएका छन्, यद्यपि उनको मन्त्रालय टुंगो लाग्न बाँकी रहेको जनाइएको छ।
रास्वपाले संघीय संसद्को नेतृत्व संरचनामा पनि सन्तुलन कायम गर्ने रणनीति लिएको छ। सभामुख पद आफ्नै दलबाट लिने र उपसभामुख पद नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई दिने आन्तरिक सहमति बनेको छ। संवैधानिक परिषद् लगायतका निकायमा सहकार्य सहज बनाउने उद्देश्यले यस्तो समझदारी गरिएको बताइएको छ।
बहुमतसहित सत्तामा आएको रास्वपामाथि जनताको अपेक्षा पनि उच्च छ। भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा सुधार, आर्थिक स्थायित्व र रोजगारी सिर्जना जस्ता एजेन्डालाई प्राथमिकतामा राख्दै सरकार अघि बढ्ने तयारीमा देखिएको छ।
प्रधानमन्त्री बन्न लागेका शाहले ‘नयाँ राजनीतिक संस्कार’ स्थापना गर्ने प्रतिबद्धता दोहोर्याउँदै आएका छन्। सोहीअनुसार मन्त्रीमण्डल चयनमा कार्यक्षमता, पारदर्शिता र जवाफदेहितालाई मुख्य आधार बनाइएको दाबी गरिएको छ।
भोलि हुने शपथसँगै नयाँ सरकार औपचारिक रूपमा गठन हुनेछ भने त्यसपछि नीति तथा कार्यक्रम, बजेट तयारी र पूर्ण कार्यान्वयनतर्फ सरकार केन्द्रित हुनेछ।


















प्रतिक्रिया