Logo

अर्थ

आईपीओ निष्कासनको तयारीमा अग्नि सिमेन्ट: पुँजीभन्दा २.३० गुणा बढी ऋण, सर्वसाधारणको पैसा डुब्ने जोखिम



काठमाडौं । प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)मार्फत् सर्वसाधारणबाट पूँजी उठाउने तयारी गरेको अग्नि सिमेन्ट इन्डष्ट्रिजको वित्तीय अवस्था नाजुक देखिएको छ । व्यापार विस्तारको गतिमा केहि सुधार देखिए पनि व्यवसाय टिकाइराख्ने आधार भने निकै कमजोर छ । कम्पनीको नाफा, नगद प्रवाह, ऋण भार र उत्पादन संरचनाले यसको व्यवसायिक स्थायित्वमाथि आशंका उत्पन्न गरेको छ।

कम्पनीको वार्षिक कारोबार सन् २०२४ को ३९ करोड ८० लाख रुपैयाँबाट सन् २०२५ मा बढेर ५८ करोड ९० लाख रुपैयाँ पुगेको छ । यधपि यो वृद्धिलाई स्थायी सुधारको संकेत मान्न भने सकिँदैन । किनकि सन् २०२३ मा कम्पनीको व्यापार ६७ करोड रुपैयाँ पुगेको थियो । कम्पनीले सन् २०२५ मा व्यापार बढाएको भए पनि पछिल्ला वर्षमा यसको व्यापारमा निरन्तरता र स्थायित्व देखिएको छैन ।

कम्पनीको व्यापार बढे पनि नाफा घट्नुले कम्पनीको वास्तविक चुनौती उजागर गरेको छ । सन् २०२५ मा यस कम्पनीले जम्मा २ करोड रुपैयाँ खुद नाफा कमाएको छ, जबकि अघिल्लो वर्ष यही नाफा ४ करोड ९० लाख रुपैयाँ थियो । कारोबार विस्तारसँगै आम्दानी घट्नुले लागत नियन्त्रण कमजोर रहेको र सञ्चालन खर्च उच्च बन्दै गएको देखाउँछ ।

कम्पनीको नगद अवस्था पनि दबाबमा देखिएको छ । सन् २०२४ मा २ करोड १० लाख रुपैयाँ रहेको नगद सञ्चिति घटेर सन् २०२५ मा १ करोड ८० लाख रुपैयाँमा सीमित भएको छ । घट्दो नगद सञ्चितिले उद्योगको सञ्चालन लचकता कमजोर हुँदै गएको र आकस्मिक वित्तीय दबाब धान्ने क्षमता घटिरहेको देखाउँछ ।

अग्नि सिमेन्टको सबैभन्दा संवेदनशील पक्ष भने यसको उत्पादन संरचना हो । कम्पनीसँग आफ्नै क्लिङ्कर उत्पादन इकाइ छैन । यसले बजारमा उपलब्ध क्लिङ्कर खरिद गरेर मात्रै सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योग पूर्ण रूपमा ग्राइन्डिङ मोडलमा आधारित भएकाले कच्चा पदार्थको मूल्य बढ्दा कम्पनी प्रत्यक्ष प्रभावित हुने अवस्था छ ।

क्लिङ्कर, स्ल्याग, फ्लाइ ऐश र जिप्सम जस्ता सामग्रीको लागत बढेमा त्यसको असर सिधै उत्पादन लागतमा पर्छ । तर प्रतिस्पर्धात्मक बजारका कारण मूल्य वृद्धि ग्राहकमा सार्ने क्षमता सीमित हुँदा कम्पनीको नाफा मार्जिन थप खुम्चिने जोखिम देखिन्छ । आफ्नै क्लिङ्कर उत्पादन गर्ने प्रतिस्पर्धी कम्पनीहरू तुलनात्मक रूपमा सुरक्षित अवस्थामा रहँदा अग्नि सिमेन्ट बाह्य आपूर्तिमै निर्भर छ ।

ऋणको दबाब पनि कम्पनीका लागि अर्को जोखिम बनेको छ । सन् २०२५ सम्म कम्पनीको ऋण–पुँजी अनुपात २.३० गुणा पुगेको छ । अर्थात् कम्पनीसँग भएको प्रत्येक १ रुपैयाँ पुँजीको तुलनामा २ रुपैयाँ ३० पैसा बराबर ऋण रहेको अवस्था हो । यस्तो संरचनाले ब्याज खर्चको दबाब बढाउनुका साथै भविष्यमा वित्तीय जोखिम पनि थप गहिरो बनाउने देखिन्छ ।

सन् २००७ मा स्थापना भएको कम्पनी सन् २०२२ मा सार्वजनिक कम्पनीमा रूपान्तरण भएको थियो । हाल कम्पनीले दैनिक ९ सय मेट्रिक टन क्षमतामा पीपीसी र ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको छ । ‘अग्नि’, ‘ओरियन्ट’, ‘त्रिवेणी’ र ‘अल्फा’ ब्रान्डमार्फत बजार विस्तार गरिरहेको कम्पनी ३१ जिल्लामा उपस्थित भए पनि बजार प्रभाव र ब्रान्ड स्थायित्व अझै बलियो बनिसकेको देखिँदैन ।

यस उद्योगले दीर्घकालीन र अल्पकालीन कर्जाका लागि कुल १ अर्ब ५ करोड रुपैयाँ बराबरको रेटिङ गराएको छ । तर, वित्तीय सूचकहरू हेर्दा कम्पनी अहिले पनि विस्तारको महत्वाकांक्षा र कमजोर आधारबीच संघर्षरत अवस्थामा देखिएको विश्लेषण गरिएको छ । आईपीओमार्फत सर्वसाधारणको लगानी आकर्षित गर्न खोजिरहेको कम्पनीका लागि आगामी वर्षहरूमा लागत नियन्त्रण, ऋण व्यवस्थापन र स्थिर नाफा कायम राख्नु सबैभन्दा ठूलो चुनौती हो।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलवार १०:४७   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।