Logo

राजनीति

नेपाली कांग्रेसको ‘फेक’ प्रष्टिकरण ! ओलीले सत्ता साझेदारीको कुरा गरेको होईन



काठमाडौं । आफ्नै पार्टीबाट सरकार र आफू अफ्ठेरोमा परेको महसुस गरेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पार्टी सभापति शेर बहादुर देउवाले आईतबार डेढ घण्टासम्म गोप्य वार्ता गरेको बारेमा नेपाली काँग्रेसले मुख खोलेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले प्रधानमन्त्री ओली र सभापति देउवाको भेटको बारेमा प्रस्टिकरण दिएका हुन् । 

सोमबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै प्रवक्ता शर्माले प्रधानमन्त्री ओलीले सभापति देउवासँग गरेको भेटवार्तालाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गरे । प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसँग नजोड्न शर्माले आग्रह गरेका हुन् ।

संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताको बीचमा हुने भेटघाटका निश्चित विषयवस्तु र कार्यसूची हुनैपर्छ भन्ने नभएको बताउँदै शर्माले ‘सामान्यतया संसदीय प्रणालीमा प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताको बीचमा भेटघाट हुनका लागि यो विषयवस्तु र त्यो विषयवस्तु हुनै पर्छ भन्ने नभएको बताए । 

प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताले सूचीका साथ भेटघाट गर्नु पर्छ भन्ने कुरा उचित जस्तो लाग्दैन शर्माले भने । । लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउने हो भने निरन्तर भेटघाट र संवाद हुनु पर्छ भन्नेमा प्रवक्ता शर्माको जोड रहेको थियो ।

आईतबार प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा डेढ घण्टासम्म भेटवार्ता भएको थियो । उक्त भेटवार्ता लगत्तै प्रधानमन्त्रीले आफूलाई सहयोग गर्न र सरकारमा सहभागी हुन आग्रह गरेको गोप्य कुरा बाहिरिएको थियो । 

काँग्रेस सभापति देउवासँग प्रधानमन्त्रीले सरकार सञ्चालनको साझेदार बन्न प्रस्ताव राखेको भन्दै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रतिपक्षीको रुपमा रहेका पूष्पकमल दाहाल ‘प्रचण्ड’ र बरिष्ठ नेता माधव कुमार नेपाल पक्ष तथा ओली पक्षका नेता तथा कार्यकर्ताबीच सामाजिक सञ्जालमा दोहोरी चलेको छ । प्रचण्ड/माधव पक्षका नेता तथा कार्यकर्ताहरुले ओलीले घर चलाउन नसकेपछि आफ्ना दाजुभाइ छोडेर छिमेकी गुहारेको भन्दै आलोचना गरेका छन् भने ओली पक्षकाले खासै मुख खोलेका छैनन् । 

आफूले ओलीसँगको भेटमा गरेको छलफलका विषयमा देउवा नबोलेको भन्दै चर्को आलोचना भई रहेका बेला प्रवक्ता मार्फत बोलेको काँग्रेसको प्रतिकृयालाई धेरैले फेक प्रष्टिकरण भनेका छन् । 

प्रकाशित : ८ मंसिर २०७७, सोमबार