Logo

राजनीति

‘देउवा’ राजनीतिमा भाग्यभानी



 नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा राजनीतिमा भाग्यभानी देखिन्छन् । उनको नेतृत्व कति सफल र असफल रह्यो, त्यो आफ्नो ठाउँमा छ । तर, देउवा व्यक्तिचैँ भाग्यमानी देखिन्छन् ।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएर नेकपा गठन भएसँगै देखिएको जनमतले दिएको जिम्मेवारी पूरा गर्न देउवा कति सक्षम भए, यो इतिहासले देखाउला, तर आराम साथ देउवा आफ्ना इच्छा पूरा गरिरहेका छन् ।

नेकपाले दुई तिहाइ नजिक बहुमत ल्याएर सरकार चलाउँदा सशक्त प्रतिपक्षी दलको भूमिका देउवा तथा उनको पार्टीले निर्वाह गर्नुपर्ने थियो । तर, यो अवसर सत्तारुढ नेकपाकै नेताहरुले दिएनन् । सत्तारुढ नेकपाको घर झगडाले देउवालाई बुढानिलकण्ठमा आराम गरेर बस्न अवसर दियो ।

कोरोनाभाइरस संक्रमण नियन्त्रणमा भएका कमिकमजोरीबारे औँला ठड्याउनु पर्ने र महामारीमा जनताका समस्याबारे वृहत छलफल गर्नुपर्ने बेला सदनको अधिवेशन अन्त्य गर्दा पनि देउवा तथा उनको पार्टी कांग्रेसको मौनताले प्रधानमन्त्री र प्रतिपक्षी दलको नेताबीचको साँठगाँठलाई जोडेर राजनीतिमा हेरियो ।

१४ औँ महाधिवेशनको चटारोमा लाग्नु पर्ने बेला आराम गरिरहेका देउवालाई आफ्नै पार्टीभित्रबाट काम गर्न गराउन दबाब दिन सक्ने अवस्था देखिँदैन । किनकि यस किसिमको गतिविधि हुन सकेको छैन । १३ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवाले १४ औँ महाधिवेशनको मिति तोकिँदासम्म पनि पार्टीका विभागहरुमा पदाधिकारी र सदस्यहरु नियुक्ति गरे ।

जसको मधुरो आवाजले भन्दा ठूलो स्वरमा विरोध हुन सकेन । पार्टीभित्र र प्रतिपक्षी दलको नेताको रुपमा कुनै गतिविधि नगरी आराम गर्ने अवसर पाएका देउवालाई १४ औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित गराउन सहयोगको आश्वासन प्रधानमन्त्रीबाट पाएको चर्चाले कांग्रेसभित्र खैलाबैला मच्चिएको छ ।

तत्कालीन राजा ज्ञानेन्द्र शाहले चुनाव गराउन नसकेको भन्दै ‘अक्षम प्रधानमन्त्री’भनेर बर्खास्तमा परेका देउवाले २०७४ सालमा सफलतापूर्वक निर्वाचन गराएर आफ्नो दाग मेटाउन सफल भए । बर्खास्तीमा परेर पनि पछि प्रधानमन्त्री भए, पार्टी सभापति बने । प्रतिपक्षी दल कांग्रेस सत्तारुढ दलजस्तो देखियो भन्दै आलोचना हुँदा पनि सरकारप्रति खबरदारी गर्न चुकिरहेका देउवालाई न त आफ्नै नेताले, न त जनताले नै कुनै दबाब सृजना गरे ।

यसरी आरामका साथ बसेका देउवाको नेतृत्वकालमा पार्टीलाई र मुलुकलाई के कस्तो असर गर्‍यो, त्यो इतिहासमा देखिएला । तर, वर्तमानमा देउवालाई भने फाइदैफाइदा पुगेको छ ।

उनको कार्यकालमा सरकारले नियुक्त गरेका राजदूत फिर्ता बोलाइँदा उनकी सासुलाई यथावत राख्नेदेखि बालुवाटार जग्गा प्रकरण हुँदै वाइडबडी काण्डलाई दुई तिहाइ नजिकको शक्तिशाली सरकारले छानेर मुद्दा चलाउनेदेखि हातै नहाल्नेसम्मको काम गर्दा देउवालाई हाइसन्चो भएको टिप्पणी हुने गरेको छ ।

महिनौँ सत्तारुढ नेकपाको घरझगडा नियालेर बसेका देउवाबाट साथ पाएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पार्टीभित्र खेल्ने सुखद् अवसर प्रशस्त पाए । जसको गुन आउँदो १४ औँ महाधिवेशनमा देउवाले पाउनेछन् ।

देउवाको आरामदायी र कांग्रेसको मौनता (कतिपयले शालीनता भन्ने गरेका छन्)ले मुलुकलाई के कस्तो असर गर्‍यो ? यो लेखाजोखा छैन । तर, देउवालाई जस्तै ओलीलाई पनि सरकार चलाउनभने आराम मिल्यो ।

पार्टीभित्रका विरोधका स्वरलाई दबाउन जति ओलीलाई सहज हुन्थ्यो, त्योभन्दा बढी कांग्रेसको विरोधको स्वरको सामना गर्न कठिन हुन्थ्यो । तर, देउवाले यस्तो अवस्था सृजना गरेनन् । यसको गुन ओलीले कसरी चुक्ता गर्लान्, यो भविष्यमा देखिनेछ ।

प्रकाशित : ९ मंसिर २०७७, मंगलबार