प्रधानमन्त्री केपी ओलीले छिमेकी भारतसँगको बहुआयामिक सम्बन्धलाई अझ उचाइमा पुर्याउँदै सीमालगायत सबै द्विपक्षीय समस्याका विषय वार्ताका माध्यमबाट समाधान गर्न नेपाल तत्पर रहेको सन्देश भारतीय पक्षलाई दिएका छन्।
बिहीबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेटका लागि पुगेका भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गलासँगको कुराकानीमा प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई उक्त सन्देश पुर्याइदिन आग्रह गरेका हुन्।
भेटको सुरुमै सचिव श्रृङ्गलाले आफ्ना प्रधानमन्त्री मोदीको दुई देशबीचको आपसी सम्बन्धलाई ‘राम्रो’ बनाएर अगाडि लैजान चाहेको सन्देश प्रधानमन्त्रीलाई सुनाएका थिए।
भेटवार्ताबारे जानकारी दिँदै प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले भने, ‘दुवै देशका प्रधानमन्त्रिस्तरका सकारात्मक सन्देश आदानप्रदानले सीमा विवादलगायत विषयमा आगामी दिनमा वार्ता र छलफल तथा आपसी उच्चस्तरीय भ्रमणको आदानप्रदान हुने वातावरण सिर्जना भएको छ।’ यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।




















प्रतिक्रिया