महान्यायाधिवक्ता अग्नि खरेलले सरकारसँग भएको सहमतिविपरीत अखण्ड नेपालविरुद्ध गतिविधि जारी राखे सिके राउतलाई पक्राउ गरिने चेतावनी दिएका छन् ।
दाङको तुलसीपुरमा मंगलबार नवनिर्मित सरकारी वकिल कार्यालयको भवन उदघाटन कार्यक्रममा खरेलले नेपालको अखण्डताविरुद्ध गतिविधि गर्नेलाई छुट दिन नसकिने स्पष्ट गरे । उनले नेपालमा राज्य र कानून रहेको भन्दै मुलुकको अखण्डतामा खलल पार्न खोज्ने तत्वलाई छुट दिन नसकिने बताए । ‘सम्झौत ागर्ने अनि अलिकति पर पुगेर सहमतिविपरीत अभिव्यक्ति दिनेलाई राज्य र कानूनले छाड्दैन’, खरेलले भने ।
खरेलले नेपालको अखण्डता र सार्वभौमिकताविरुद्ध गतिविधि गर्नेलाई सरकारले तत्काल नियन्त्रणमा लिनुपर्ने उल्लेख गरे । अखण्ड नेपालवरुद्ध काम गर्नेलाई नियन्त्रणमा लिन नसके राज्य भएको आधार नै नहुने उनको कथन थियो ।
‘अदालतको आदेशबाट छुटेका मानिसले सरकारसँग भएको सम्झौताविपरीत काम गर्न मिल्दैन’, उनले भने, ‘राज्य र कानुनले त्यस्तालाई छुट दिन मिल्दैन ।’ उनले सिके राउत समूहले जनकपुरमा छुट्टै राज्यको व्यानर र झण्डा प्रदर्शन गर्नु अखण्ड नेपालविरुद्ध गतिविधि भएकाले तत्काल नियन्त्रणमा लिनुपर्नेमा जोड दिए ।


















प्रतिक्रिया