प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार विस्तारको एक बर्षमा मन्त्रिपरिषदका सदस्य फेर्ने तयारी गरेका छन् । प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनबारे कुराकानी भएको छ ।
प्रचण्डकाअनुसार मंगलबार विहान प्रधानमन्त्री ओलीसँग कुराकानी भएको थियो । ‘यो कुरा प्रधानमन्त्रीजीले कसरी हिसाब गर्नुभएको छ त्यसमा भर पर्छ। हाम्रोमा प्रधानमन्त्री प्रणाली छ। साँचो कुरा के हो भने आज बिहान मात्रै बालुवाटारमा कुरा भएको थियो। म बालुवाटारबाट सिधै आएको छु।’ विराटनगर विमानस्थलमा अध्यक्ष प्रचण्डले भने, ‘ प्रधानमन्त्रीजीको भनाई छ कि, म हेरिरहेको छु, दुवै अध्यक्षको बीचमा सामान्य सल्लाह गरेर गर्नैपर्यो भने केही परिवर्तन गर्नुपर्छ। तर अहिले हतारो छैन।’
प्रचण्डले आफूले मन्त्री परिवर्तन गर्ने अधिकार प्रधानमन्त्रीको भएकाले आफै गर्न भनेको बताए। प्रधानमन्त्रीले मंगलबार बिहान मात्रै नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन।
सरकारले जन अपेक्ष अनुसार काम गर्न नसकेको भन्ने आलोचना बढ्दै गएको समयमा प्रधानमन्त्री ओली कामलाई गति दिन केहि मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने मनस्थितिमा पुगेकका हुन् । केहिदिन अघि मात्रै पनि प्रधानमन्त्री ओली र प्रचण्डबीच मन्त्रिपरिषद् पुनर्गठनका बारेमा छलफल भएको थियो ।
बालुवाटार निकट स्रोतका अनुसार ओलीले बढीमा तीन जना नयाँ अनुहार ल्याउने तयारी गरेका छन् भने केही मन्त्रीको जिम्मेवारी पनि हेरफेर हुने देखिएको छ । नयाँ मन्त्रीमा जनमुक्ति सेनाका पूर्व कमान्डर जनार्दन शर्मा ‘प्रभाकर’ र सुरेन्द्र पाण्डेका नाममा सहमति भइसकेको छ । तर अन्य एकको नाम भने अझै टुंगो लागिनसकेको स्रोतले बतायो ।
नयाँ तीन मन्त्री थपिने भएपछि वर्तमान तीन मन्त्री विदा हुने लगभग पक्कापक्की भएको छ । कुनै अबरोध नभए विदा हुनेको सूचिमा भौतिक योजनामन्त्री रघुविर महासेठ, संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री रविन्द्र अधिकारी र कृषिमन्त्री चक्रपाणी खनालको नाम रहेको छ ।
अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि विदा दिने पक्षमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् । तर अर्थमन्त्री खतिवडाले परिणाम निकाल्न केही समय मागेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको मनसाय फेरिएको छ । खतिवडालाई एउटा मौका दिन सोचमा उनी पुगेका छन् ।
रिक्त रहेका मन्त्रालयमै नयाँ मन्त्रीको पदपुर्ति भने नगरिने बालुवाटार स्रोतले जनाएको छ । लगभग आधाभन्दा बढि मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने तयारी नेकपाका दुई अध्यक्षले गरेका छन् ।
मन्त्रीको हेरफेरमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सुचना प्रविधिमन्त्री गोकुल बास्कोटा पर्ने लगभग निश्चित छ । गृहमन्त्रीमा जनार्दन शर्मालाई ल्याउने दुई अध्यक्षबीच सहमति भइसकेको छ भने सुरेन्द्र पाण्डेका बिषयमा मन्त्रालय टुंगीसकेको छैन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने पाण्डेलाई अर्थमन्त्री नै बनाउन चाहेका छन् । अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओली डा. खतिवडालाई नै अहिलेलाई जिम्मा दिने पक्षमा छन् ।
भौतिक मन्त्रालयको जिम्मा रामबहादुर थापालाई दिने तयारी गरिएको छ भने पर्यटनमन्त्रीको जिम्मा गोकुल बास्कोटालाई दिने तयारी गरिएको छ । भौतिक मन्त्रालयमा प्रदीप ज्ञवालीले पनि दावी गरिरहेका छन् ।
धेरै नबोल्दा राम्रो
नेकपा अध्यक्ष प्रचण्डले सिके राउत समूहसँग सरकारले गरेको सहमतिमा आफ्नो समर्थन रहेको बताए । सरकार र पार्टीको अहिलेको ध्यान पृथकतावादी आन्दोलन लागेका मानिसहरुलाई राष्ट्रिय एकताको मुल धारमा ल्याउने र संविधानको स्वीकार्यता बढाउने भएको भन्दै उनले पार्टीका नेताहरुले यसबारे बाहिर धेरै नबोल्दा राम्रो हुने बताए ।
सिके राउत समूहलाई आफ्नो कार्यकर्तालाई सम्झाउन केही समय लागेको हुनसक्ने भन्दै सहमति कार्यान्वयनबारे हतार गर्न जरुरी नभएको बताए ।


















प्रतिक्रिया