‘तपाईलाई मन्त्री बनाउँ भनेको बन्दीन भन्दै हुनुहुन्छ रे के हो योगेशजी ? होइन होइन म मन्त्री बन्दिन भनेकै छैन, यही विराटनगरमै सपथ खुवाउनु हुन्छ भनेपनि म तयार नै छु’ यो रमाइलो सम्वाद प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा प्रभावशाली नेता तथा सांसद योगेश भट्टराईबीच सोमबार विराटनगरमा भएको थियो ।
नेकपा प्रदेश नम्वर १ को प्रदेश कमिटीको पहिलो बैठकलाई सम्वोधन गर्न प्रधानमन्त्री ओली विराटनगर पुगेका थिए । त्यही बैठकमा नेता भट्टराई पनि पुगेका थिए ।ओली र भट्टराईबीच भेट भएलगतै ठठ्यौली चलेको थियो । प्रधानमन्त्री ओलीले ‘तपाईलाई मन्त्री बनाउन भनेको बन्दिन भन्नु भएछ’ भन्दै ठठ्यौली पारामा सोधेका थिए ।
प्रधानमन्त्री ओलीको प्रश्नको जवाफ भट्टराइले पनि रमालो पारामै दिए । ‘मन्त्री बन्दिन भनेकै छैन, यही सपथ गराउनुहुन्छ भनेपनि म तयार नै छु, मेरो धेरै साथीहरु यतैतिर पनि छन्’ भट्टराइले भने ‘एउटा पत्र तयार पारे भइगो नी, यही सपथ गराउनुहोस ।’
भट्टराईको जवाफपछि दुवैजना दिल खोलेर हाँसे । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अमेरिका भएका कारण अहिले सपथ गराउन नमिल्ने बताए । ‘उहाँ फर्केपछि सपथ गराउँला नी’ भन्दै प्रधानमन्त्रीले जवाफ दिए ।
नेकपाभित्रका प्रभावशाली नेता भट्टराईलाई मन्त्री बनाउन प्रचण्ड पनि तयार छन् । केही समयअघि भट्टराईलाई मन्त्री बनाउन प्रचण्डले नै प्रस्ताव गरेका थिए । तर ओलीले ‘उहाँलाई पार्टीकै जिम्मेवारी ठीक छ’ भन्दै जवाफ फर्काएका थिए । सोही सन्दर्भलाई लिएर प्रधानमन्त्री ओलीले भट्टराईसँग रमाइलो सम्वाद गरेका थिए ।




















प्रतिक्रिया