Logo

राजनीति

नेपाली काङ्ग्रेस बलियो नभए अब सङ्घीयता खतरामा पर्छ : नेता शेखर कोइराला



नेपाली काङ्ग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस बलियो नभए सङ्घीयता खतरामा पर्ने बताएका छन् । नेपाली काङ्ग्रेस रत्ननगर नगर समितिले आज रत्ननगरमा आयोजना गरेको अगुवा प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले लामो सङ्घर्षपछि प्राप्त सङ्घीयतालाई सफल बनाउन आफ्नो पार्टी सजग हुनुपर्ने बेला आएको बताए ।

उनले भने, ‘गणतन्त्र र सङ्घीयता धरापमा परेको छ, त्यसको संरक्षणका लागि काङ्ग्रेस लड्नुपर्छ ।’ मुलुकमा दण्डहिनता बढ्दै गएको बताउँदै उनले अहिलेको समयमा लगानीको वातावरण बन्न नसकेको आरोप लगाए । राजनीतिक स्थिरता भए पनि वित्तीय संस्था धराशाही बन्दै जानु, व्यापार घाटा बढ्दै जानु दुःखद् रहेको उनको भनाइ छ ।

फरक प्रसङ्गमा नेता कोइरालाले पार्टीलाई गिरोहले सञ्चालन गरेको बताए । उनले भने, ‘राजनीतिक संस्कारसँगै नैतिकता सिकाउँदै पार्टीलाई बलियो बनाउनु आवश्यक छ ।’ काङ्ग्रेसलाई बलियो बनाउन महासमिति बैठकको निर्णय कार्यान्वयन गर्दै समयमा महाधिवेशन गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।

कार्यक्रममा काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, पूर्व राज्यमन्त्री शेषनाथ अधिकारी, सावित्री बोगटी पाठक, क्षेत्रीय सभापति कुमार कार्की, रत्ननगर नगर समिति सभापति रुपनराज घिमिरे, उपसभापति केदार चापागाईलगायतले बोलेका थिए । कार्यक्रममा महासमिति सदस्य देवराज चालिसे र दिनेश कोइरालाले प्रशिक्षण दिएका थिए ।

प्रकाशित मिति : चैत्र ९, २०७५ शनिबार  ८ : ३८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।