Logo

राजनीति

ओलीले दिए प्रचण्डलाई काउण्टर जवाफ, नेकपा बिवाद नयाँ मोडमा



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बिवादले नयाँ मोड लिएको छ । गत मंसिर ३ गते पार्टीका कार्यकारी अध्यक्ष पूष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीमाथि गम्भीर आरोपहरु सहितको प्रस्ताव पेश गरेपछि ओलीले आज १० दिनपछि त्यसको काउण्टरमा अर्को प्रस्ताव पेश गरेका हुन् । 

शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले यसअघि कार्यकारी अधयक्ष प्रचण्डले ल्याएको प्रस्तावलाई जवाफ दिनेगरी छुट्टै प्रस्ताव पेश गरे । मंसिर ३ गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूमाथि लगाइएका अभियोगको उचित जवाफ दिने बताए बमोजिम मेहनतिलो गृहकार्य गरेर आज प्रचण्डलाई काउण्टर दिएको बुझिएको छ ।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीले कार्यकारी अध्यक्ष प्रचण्डले कुनै पनि हालतमा प्रस्ताव फिर्ता गर्नु पर्ने बताउँदै आएका थिए । ओलीले नै ताप्लेजुङमा पुगेर आफू नेतृत्वको सरकारको लोकप्रियता देखेर बिरोधीहरु आत्तिएको भन्दै कार्यकारी अध्यक्ष प्रचण्डको कटाक्षेप गरेका थिए भने ओली पक्षका नेताहरुले प्रचण्डको आरोपपत्रको बारेमा छलफल र जवाफको आवश्यकता नै नभएको बताृउँने गरेका थिए ।

त्यति मात्र नभई ओलीले आफूमाथिका आरोप प्रमाणित गर्न नसकेमा प्रचण्डले पद छोड्नु पर्ने वा प्रमाणित भएमा आफैंले पद छोड्नु पर्ने समेत भनेका थिए । कात्तिक २८ गतेको बैठकमा प्रचण्डले गत भदौको सहमति बीपरित ओलीले एकलौटी रुपमा सरकार चलाएको, नियुक्तिहरुमा स्वेच्छाचारी बनेको, भ्रष्टाचारीहरुसँग साँठगाँठ गरेको लगायतका गम्भीर प्रश्नहरु सहितको प्रस्ताव पेश गरेका थिए । प्रचण्डको उक्त प्रस्ताव र ओलीको आजको प्रस्तावका बारेमा मंगलबार छलफल हुने गरी आजको बैठक सकिएको छ ।

आजको बैठकमा अध्यक्षद्वय ओली र प्रचण्डसहित सचिवालयका ४ नेताले आफ्नो धारणा राखेको बताइएको छ । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले यस बारेमा जानकारी दिएका हुन् । प्रवक्ता श्रेष्ठले अब दुबै प्रतिवेदनमाथि छलफल हुने जानकारी दिए । दुबै प्रतिवेदन अध्ययन गरेर आगामी मंसिर १६ गतेका लागि अर्को बैठक तय भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका हुन् । मंगलबार भने पार्टी कार्यालय धुम्बाराहीमा सचिवालय बैठक बस्नेछ । 

 

प्रकाशित : १३ मंसिर २०७७, शनिबार