नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले आफ्ना माग पूरा गराउन नेतृत्वलाई दबाब दिने उद्देश्यले अनौपचारिक भेलाको आयोजना गर्दैछन् । भोलिदेखि काठमाडौँमा हुन लागेको दुईदिने भेलामा पार्टीको संस्थापन पक्षका सभापतिको भने उपस्थिति नहुने बताइएको छ ।
नुवाकोटका जिल्ला सभापति जगदीशनरसिंह केसीले जिल्ला सभापतिको भेला भोलि हुने र त्यहा महासमिति बैठकमा उठेका विषय र समसामयिक राजनीतिक विषयमा छलफल बताए ।भेलापछि नेतृत्वलाई दबाब दिन मागसहितको घोषणापत्रसमेत जारी हुने उनको भनाइ थियो ।
भेलामा मुख्य रुपमा पार्टीका सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषयलाई जोड्दार साथ उठाइने बताइएको छ ।
सो भेलालाई संस्थापन पक्षले भने केही जिल्ला सभापतिका अनौपचारिक भेट मात्र हो भनी टिप्पणी गरेको छ । भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले जिल्ला सभापतिका भेला हुने भन्ने हल्ला भए पनि कुनै औपचारिक भेला नभएको बताए ।
काठमाडौँका जिल्ला सभापति कृष्णसवुज बाँनियाले जिल्ला सभापतिको औपचारिक भेला नभए पनि सबै जिल्ला सभापति उपस्थिति भई छलफल हुने बताए । साङ्गठनिक गतिविधिका सम्बन्धमा पार्टीले लिनुपर्ने निर्णयबारे छलफल हुने उनले बताए ।
कांग्रेस महासमिति बैठकको भावना विपरीत पार्टी केन्द्रीय कार्यसमिति बैठकबाट निर्णय जिल्ला सभापतिहरुको आरोप छ । कांग्रेस महासमिति बैठक गत मङ्सिर २८ देखि पुस ८ गतेसम्म काठमाडौँमा भएको थियो ।
महासमिति बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्य वडा तहबाटै निर्वाचित हुनुपर्ने र पार्टीको आरक्षण सुविधा एक व्यक्तिका लागि एक पटक मात्र हुनुपर्ने विषय ठूलो मतका साथ उठेपनि पछि केन्द्रीय समितिले सो विषयलाई सम्बोधन नगरी निर्णय गरेको थियो ।




















प्रतिक्रिया