नेपाली कांग्रेसका जिल्ला सभापति पछिल्लो समय पार्टीका शिर्ष नेताहरुको गुटमा विभाजित भएका छन्। केही समय अघि बसेको महासमिति बैठकमा दुई मुद्दामा एकजुट जिल्ला सभापति गुटगत राजनीतिमा होमिएका छन्। संस्थापन समूह र संस्थापनइतर समूह पछिल्लो समय एक अर्काप्रति आरोप प्रत्यारोप लगाइरहेका छन्।
महासमित बैठकमा जिल्ला सभापतिहरूले केन्द्रीय सदस्य पनि महाधिवेशन प्रतिनिधि हुन तलैबाट आउनुपर्ने र समानुपातिकमा एक पटक भन्दा बढी अवसर दिन नहुने मुद्दा उठाएका थिए। सभापति शेरबहादुर देउवाले उक्त विषय केन्द्रीय समिति बैठकबाट समेट्ने बताए पनि नसमेटेपछि असन्तुष्ट बनेका जिल्ला सभापतिहरूले बुधबार र बिहीबार दुई दिने काठमाडौंमा भेला बोलाएर छलफलमा जुटेका छन्।
सभापति देउवा समूहका जिल्ला सभापतिहरूले यो भेलामा भने सहभागिता जनाएका छैनन्। स्रोतका अनुसार संस्थापनइतर समूहका जिल्ला सभापतिको आग्रहमा यसअघि संस्थापन समूहका जिल्ला सभापतिले पनि सहभागिता जनाएका थिए। तर सभापति समूहले आफू निकटका जिल्ला सभापतिहरूलाई सहभागी नहुन चेतावनी दिएपछि उनीहरू पछि हटेका हुन्।
स्थापन समूहका जिल्ला सभापतिहरूले यसलाई गुटगत भेलाको संज्ञा दिएका छन्। ‘भेला होइन मेला हो। विधान मै नभएको भेला कहाँबाट आयो। हामी यो अवैधानिक भेलामा किन सहभागी हुने?’, देउवानिकट मकवानपुर सभापति इन्द्र बानियाँले भने, ‘यो अनुशासन उल्लंघनको पराकाष्ट हो।मेरा जिल्ला सभापति यति छन् भनेर नेताले नै देखाउन खोजे।’
जिल्ला सभापतिहरूले यसरी अनुशासन उल्लंघन गर्दा पार्टीको तल्लो तहमा पनि नराम्रो सन्देश जाने उनको भनाई छ। ‘अहिले जिल्ला सभापतिहरूले गर्ने। भोलि जिल्ला सभापतिको विरुद्ध गाउँसभापतिहरूले गर्लान्’, उनले भने, ‘त्यसपछि पार्टीको अनुशासन कहाँ पुग्ला? नेतालाई गएर असन्तुष्टिका कुरा भन्ने की नेता कै विरुद्ध क्याम्पेनिङ गर्ने?’
संस्थापनइतर समूहका जिल्ला सभापतिले यो भेला गुटगत नभई आम पार्टी कार्यकर्ताको भवनाको विषयमा छलफल गर्ने भेला भएको बताइएको छ।




















प्रतिक्रिया