Logo

प्रमुख समाचार

हावाहुरी प्रभावितलाई कांग्रेस र भातृ संगठनको बेग्लाबेग्लै सहयोग



प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र उसका भातृ संगठनहरु हावाहुरी प्रभावित बारा र पर्साका गाउँमा खटिएका छन्।हावाहुरीले २८ जनाको मृत्यु र सयौं घाइते भएपछि घटनास्थलको अवलोकन गरेर कांग्रेस सभापति शेरबहादुर देउवा फर्केपछि भातृ संगठनहरू राहत वितरणमा केन्द्रित भएका हुन्।

नेपाल विद्यार्थी संघको दुइटा टोली हावाहुरीले क्षति पुगेका घरका भग्नावशेष हटाउन र अस्थायी टहरो बनाउन हावाहुरी प्रभावित गाउँमा छन्।सभापति देउवाले हावाहुरी प्रभावितलाई २५ लाख सहयोग गर्ने बताएका थिए।नेविसंघ र नेपाल तरुण दलले पनि हावाहुरी प्रभावितलाई सहयोग गर्ने बताइसकेका छन्। राहत वितरण र भगनावशेष हटाउने काम गरिराखेको नेविसंघले पीडितलाई बस्न मिल्ने अस्थायी टहरो निर्माणमा सघाउने बताएको छ।

तरुण दलले हावाहुरी प्रभावित बारा र पर्साका बासिन्दालाई नगद सहयोग गर्ने भएको छ। प्रभावित क्षेत्र पुगेका तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले मृतकका परिवारलाई जनही १० हजार रुपैंया सहयोग गर्ने घोषणा गरेका छन्।नेविसंघको दुई समूह पनि राहत सामग्री बोकेर पीडित भेट्न पुगेको छ। निवर्तमान सभापति नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्लेको समूह भिन्नाभिन्नै गाउँमा पुगेका हुन्।

महर नेतृत्वको समूहले बाराको फेटा गाउँपालिका भलुहीमा ८० परिवारलाई राहत बाँडेको जनाएको छ। यहाँ मात्रै १३ जनाको ज्यान गएको थियो। बिहीबारदेखि महर र स्थानीय कांग्रेस तथा नेविसंघ कार्यकर्ता हावाहुरीले क्षति पुर्याोएको घरका भगनावशेष हटाउन केन्द्रित छन्।

‘पीडितहरु खुला आकाशमा बस्न बाध्य छन्। उनीहरुलाई तत्काल अस्थायी टहरो आवश्यक भएकोले भगनावशेष हटाउने काम गरेका हौं,’ महरले भने।

यस्तै कांग्रेस केन्द्रिय सदस्य प्रदीप पौडेल, नेविसंघ निवर्तमान महामन्त्री कुन्दनराज काफ्ले, केन्द्रिय सदस्य सुशील भट्टलगायत नेविसंघ टोलीले बारा सुवर्ण गाउँपालिका बबई बस्तीमा राहत बाँडेर घरका भगनावशेष हटाउन सहयोग गरेको छ।

भट्टका अनुसार बुधबार २५० घरधुरीलाई म्याट, त्रिपाल, झुल वितरण गरिएको थियो भने अस्थायी टहरो निर्माणमा पनि नेविसंघले सहयोग गरिरहेको छ। सभापति देउवाले हावाहुरी प्रभावितलाई सहयोग गर्न निर्देशन दिएपछि पार्टी र भातृ संगठन क्रियाशील भएका हुन्।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार ०४:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।