Logo

राजनीति

सेनासँग सम्बन्ध बढाउँदै चीन, चिनियाँ रक्षामन्त्रीले सैन्य मुख्यालयमा विताए अढाई घण्टा



आठ घण्टाको नेपाल भ्रमण सम्पन्न गरेर चिनियाँ रक्षामन्त्री बेई फेहङ्ग बंगलादेशका लागि प्रस्थान गरेका छन् ।निवर्तमान रक्षामन्त्री ईश्वर पोखरेलको निमन्त्रणामा नेपाल आइपुगेका चिनियाँ रक्षामन्त्रीले भ्रमणको साढे २ घण्टा नेपाली सेनासँग बिताए । भ्रमण औपचारिक भनिएपनि धेरैले यो भ्रमण सेनासँग केन्द्रित हुनुमा संशय मानेका छन् । तर, कुटनीतिक मामिलाका जानकार भने चीनले सेनासँग सम्बन्ध प्रगाढ बनाउन चाहेको बताउँछन् ।

भारतीय विदेश मन्त्रालयका सचिव हर्षबद्र्धन श्रृंगलाको नेपाल भ्रमणको केही दिनमै चीनका पहिलो नम्बरका स्टेट काउन्सिलर एवं रक्षामन्त्री जनरल वेई फेङको भ्रमणले भारतीय पक्ष सशंकित बनेको छ ।

त्यसमाथि पनि नेपालमा रहँदा अधिकांश समय नेपाली सेनाको मुख्यालयमा बिताउनुलाई पनि कतिपयले महत्वका साथ हेरेका छन् । केही भारतीय कुटनीतिज्ञले नेपाल–भारतको सम्बन्ध प्रगाढ बनाउनेतर्फ मार्गप्रशस्त हुँदा चिनियाँ उच्च अधिकारीको भ्रमणलाई खासै सहज मानेका भने छैनन् ।

त्यसमाथि चिनियाँ रक्षामन्त्रीले प्रधानसेनापतिलाई किन भेटे भन्दै शंकाको दृष्टिकोणबाट भारतीय सञ्चारमाध्यामहरुले प्रश्न उठाएका छन् ।

किन भेटे चिनियाँ रक्षामन्त्रीले प्रधानसेनापति ?

रक्षा मन्त्रालय प्रधानमन्त्रीले आफ्नै मातहतमा राखेकाबेला चिनियाँ रक्षामन्त्री जनरल वेई फेङका नेपाली समकक्षी कोही पनि छैनन् । खासमा प्रधानमन्त्री ओलीले रक्षामन्त्रालय आफू मातहत राखेपनि वरियतामा प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्नुपर्ने हुँदा समकक्षीसँगको भेटका रुपमा औपचारिक वार्ता गर्नु उचित मानिँदैन ।

त्यसैले प्रधानमन्त्री ओलीले प्रधानसेनापतिलाई आफ्नो प्रतिनिधि तोकेकाले चिनियाँ रक्षामन्त्रीले प्रधानसेनापतिलाई भेट गरेको अधिकारीहरु बताउँछन् ।

चिनियाँ रक्षामन्त्री बेईले किन बढी समय सैनिक मुख्यालयमा खर्चिए ?

चिनियाँ रक्षामन्त्री काठमाडौं ओर्लिएलगत्तै चिनियाँ दूतावास पुगे । त्यहाँ उनले केही समय दूतावासमा आफ्ना प्रतिनिधिसँग छलफल गरेर सिधै सैनिक मुख्यालय पुगे । सैनिक मुख्यालयमा उनलाई गार्ड अफ अर्नर पनि दिइयो ।

दुबैतर्फ परराष्ट्र र रक्षामन्त्रालयका अधिकारीहरु राखेर प्रधानसेनापति पूर्णचन्द्र थापा र चिनियाँ रक्षामन्त्री बेईबीच कोभिड–१९ का कारण प्रभावित सैनिक अफिसरको तालिम कसरी सुरुगर्ने र यसअघि चीनले घोषणा गरेको दुई वर्ष ४० करोडको सैन्य सहयोगबारे छलफल भएको थियो । नेपाली सेनाका अफिसरले चीनमा लिने सैन्य तालिम कोभिड–१९ का कारण रोकिएको थियो । सेनाको विपद व्यवस्थापन क्षमता अभिवृद्धिको लागि दिने भनेको सो रकम चीनले दिन बाँकी छ ।

किन प्राथमिकतामा प¥यो सेना ?

कुटनीतिक मामिलाका जानकारका अनुसार उत्तरी छिमेकी मुलुक चीन लामो समयदेखि नेपालमा आफ्नो भरपर्दो सहयात्रीको खोजीमा थियो । केहीसमय अघि दुई कम्युनिष्ट पार्टी एक बनेपछि चीनले नेकपालाई भरपर्दो पात्रको रुपमा हेर्दै आएको भएपनि पछिल्लो समय नेकपामा देखिएको विवाद र फुटसम्मको राजनीतिले चीन सशंकित छ ।

चीनलाई नजिकबाट नियालिरहेका विश्लेषक प्रमोद जैसवालका अनुसार चीन सधैं नेपाली सेनालाई आफ्नो भरपर्दो र दुरगामी सहयोगीको रुपमा हेर्न चाहन्छ । सेनासँगको चीनको सहकार्य बढाउने चाहना अहिले मात्र नभई तत्कालीन राजा वीरेन्द्रको समयमा पनि थियो ।

तर, त्यससमय भन्दा अहिले सेनासँग दुरगामी सहकार्य गर्दा फाइदा चिनियाँ पक्षले देखेका छन् । सेनासँगको सम्बन्ध बढाउनुको अर्को कारण यो स्थायी शक्ति हो ।

जुनसुकै सरकार आएपनि सैन्य कुटनीति हमेशा महत्वपूर्ण मानिन्छ । यस्तै, कुटनीतिक मामिलाका जानकार शम्भुराम सिम्खडाका अनुसार पनि यो भ्रमणले अब भारतपनि सैन्य कुटनीति बढाउनेतर्फ अग्रसर देखिनेछ ।

गार्ड अफ अर्नर दिइएको विषयमा भारतीय पक्षको प्रश्न ?

मुलतः औपचारिक भ्रमणमा आउँदा सरकारले सम्मान गारद अर्पण गर्ने गर्दछ । राष्ट्रपति, प्रधानमन्त्रीको भ्रमणमा यस किसिमको सम्मान दिइरहँदा चिनियाँ रक्षामन्त्रीलाई किन भन्ने प्रश्न पनि भारतीय विश्लेषकले जिज्ञासा राखेका छन् ।

विश्लेषक जैसवालका अनुसार चिनियाँ रक्षामन्त्री चीनको सेनाका प्रमुख व्यक्ति पनि हुन् । उनलाई सम्मान दिएर नेपालले चिनियाँ पक्षको भ्रमण औपचारिक मात्र नभई महत्वपूर्ण समेत भएको सन्देश दिन खोजेको उनको दावी छ ।

तर, भविष्यमा यदि भारतीय रक्षामन्त्री नेपाल आएको खण्डमा नेपालले गार्ड अफ अर्नर नदिन पनि सक्छ । किनभने भारतमा रक्षामन्त्री राजनीतिक व्यक्ति हुन् भने चीनमा राजनीति कम रक्षामन्त्री सेनासँग बढी जोडिने पात्र हुन् ।

चीनसँगको सीमा विवाद र अन्य सीमा क्षेत्रका विषयमा कुरा भयो ?

भारतसँग सीमा विवाद जारी रहँदा चीनले नेपालसँगै दक्षिण एसियाका अन्य राष्ट्रहरुलाई निकै महत्व दिएको छ । त्यसमाथि सीमा विवाद भारतको चीनसँग मात्र नभई नेपालसँग पनि छ । र, नेपालसँग चीनको सीमा विवादका चर्चा भएपनि दुवै देशले उक्त चर्चा हल्ला भएको बताइसकेका छन् । यद्यपी, सेनासँगको भेटमा उक्त विषयमा कुरा भए नभएको त्यो समयले बताउला ।

यद्यपी, चिनियाँ रक्षामन्त्रीको नेपाल भ्रमणमा सेनालाई बढी महत्व दिनुको खास अर्थ भनेको सेनासँगको सम्बन्ध स्थापना मात्र नभई दुरगामी सहकार्यलाई लिन सकिन्छ । सैन्य कुटनीतिको माध्यमबाट मुलुकसँगको सहकार्य थप मजबुत हुने कुटनीतिक मामिलाका जानकारहरु बताउँछन् ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आईतवार २३:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।