सत्तारढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विवाद चर्किरहेको बेला नेताहरुले भेटघाट बाक्लो बनाइरहेका छन् । शनिबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले १९ को बदला ३८ पृष्ठ लामो जवाफी दस्तावेज पेश गरेपछि नेताहरु अर्को बैठक कुरिरहेका छन् ।
त्यसो त, यसबीचमा दुवै समूह आ-आफ्नो रणनीति बनाउन व्यक्त छन् भने अलि लचक देखिएका नेताहरुलाई आफ्नो पक्षमा ल्याउने प्रयास जारी छ । यसबीचमा तानातानमा परेका पात्र हुन् उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा बादल ।
बादलले पार्टी फुट्ने नै अवस्थामा आफूले माओवादी विरासत नत्याग्ने बताएको बुझिएको छ । यद्यपि खुमलटार बादलसँग ढुक्क छैन । ‘यस्तो बेला भर नभाको मान्छेको कहिले भर मान्नु,’ प्रचण्ड निकट एक नेताले भने, ‘खोई बादलले यता पानी पार्छन् कि उता, भन्न सकिन्नँ ।’
यसैबीच नेकपाका नेताहरुमा उपाध्यक्ष वामदेव गौतमले सचिवालय सदस्य तथा उपप्रधानमन्त्री ईश्वर पोखरेललाई दिएको जवाफको चर्चा छ । बालुवाटारको दूत बनेर शुक्रबार साँझ भैंसेपाटी पुगेका ईश्वर पोखरेललाई वामदेवले उल्टो दिमाग हल्लाइदिएका छन् ।
दाहाल(नेपाल समूहका एक शीर्ष नेताका अनुसार पोखरेलले झण्डै डेढ घण्टा सम्भावनाको खेती गरे पनि वामदेव टस न मस देखिए । उल्टै उनले भनिदिए, ‘मलाई सम्झाउनुअघि आफ्नो भविष्य सोच्नुभाछ । ओलीले तपाईंलाई न अध्यक्ष बनाउनेवाला छन् न प्रधानमन्त्री । मेरो भविष्यको चिन्ता छाड्नुस् । आफ्नो भविष्य सोच्नुभाछ ? त्यता तपाईंको भविष्य छैन । यतै आउनुहोस् बरु । केही सोच्न सकिन्छ ।’
त्यसो त गौतमले ईश्वरलाई मात्र होइन महासचिव विष्णु पौडेललाई पनि झाँको झारेर पठाएको बुझिएको छ । नेकपा उच्च स्रोतका अनुसार गौतमले पौडेललाई भने, ‘तपाईं महासचिव हुनुहुन्छ । आफ्नो भूमिकामा स्पष्ट हुनुहोस् । बैठक पनि बोलाउन नमान्ने अध्यक्षतिर किन लाग्नुहुन्छ ? अब म सार्वजनिकरुपमा बोल्नेवाला छु ।’
नभन्दै गौतमले सार्वजनिकरुपमै भनिदिए, ‘महासचिवले एउटा अध्यक्षले भनेपछि बैठक बोलाउनुपर्छ, झन कार्यकारी अध्यक्षले भनेको नमान्ने कुरै हुँदैन ।’
दाहाल-नेपाल समूहले ओलीले दिनसक्ने सम्भावित जवाफ र प्रस्तावबारे पूर्वमानुमान गरिसकेको र तदनुरुप नयाँ रणनीति बनाएको बुझिन्छ । युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्ने भनेर अत्ताउने ओली समूहको रणनीति बुझेको दाहाल-नेपाल समूहले त्यसको निम्ति तयार रहेको सन्देश दिन थालेको छ । आइतबार खुमलटारमा ऊर्जामन्त्री वर्षमान पुनले झण्डै डेढ घण्टासम्म प्रचण्डसँग भेटवार्ता गरेपछि सोमबार रोल्पा पुगेर भनिदिएका छन्, ‘अध्यक्षद्वय सहमत हुनुहुन्छ भने हामी पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै चलाउन तयार छौं । तपाईंहरुलाई अभिभावकको सम्मान दिऔंला ।’




















प्रतिक्रिया