Logo

राजनीति

प्रचण्डलाई चक्मा दिँदै राष्ट्रपतिको ‘मेरो सरकार’ भाषाणबारे प्रधानमन्त्री ओलीको यस्तो खुलासा



प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममा जानीबुझी नै ‘मेरो सरकार’ शब्द राखिएको बताएका छन् ।सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मंगलबारको संसद बैठकमा बोल्दै ओलीले भुलचुकमा उक्त शब्द नराखिएको बताए । “भुलचुकले होइन । जानीबुझी राखिएको शब्दावली हो” प्रधानमन्त्री ओलीले भने ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा राष्ट्रपतिले ‘मेरो सरकार’ भनेपछि प्रमुख प्रतिपक्ष नेपाली काँग्रेससहित विपक्षी सांसदहरुले विरोध जनाएका थिए । काँग्रेस सांसदहरुले संशोधन नै हालेका छन् ।

संसद बैठकमा बोल्दै प्रधानमन्त्री ओलीले काँग्रेस सभापति देउवालाई आलोकाँचो पन भएको बताए । उनले बेलायती महारानीको शैली भन्ने विपक्षीको भनाईलाई उपयुक्त नभएको बताए । भारतमा पनि मेरो सरकार भन्ने गरिएको भन्दै ओलीले अन्तर्राष्ट्रिय अभ्यास हेर्न सुझाव समेत दिए ।

विपक्षीदेखि सडकमा सरकार र राष्ट्रपतिको विरोध भइरहँदा (नेकपा)का अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले भने राष्ट्र प्रमुखको हैसियतले राष्ट्रपतिले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्नुपर्ने दाबी गरे ।चौतर्फी विरोध भएपछि (नेकपा)का अर्का अध्यक्ष प्रचण्डले भने आफूले पढेको बेला उक्त शब्द नभएको प्रतिक्रिया दिएका थिए । तर, प्रधानमन्त्रीको आजको जवाफले नीति तथा कार्यक्रममा सुरुमै ‘मेरो सरकार’ शब्द राखिएको देखिएको छ ।

यसैबीच मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश, कुन्ठा र निम्छरो अभिव्यक्तिहरुलाई वास्ता नगरेर प्रश्नहरुको जवाफ दिन्छु भनेपछि संसदमा हंगामा भएको छ । प्रमुख विपक्षी दल कांग्रेसका सांसदहरुले संसद अवरोध गरेका छन् ।

सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिए । लगत्तै कांग्रेका सांसदहरुले प्रश्न गरे । जवाफ दिन रोष्टममा पुगेका प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुन्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु’ भन्दै सम्बोधन सुरु गरे । लगत्तै कांग्रेस सांसद मीन विश्वकर्माले नियमापत्ति जनाए ।

सभामुखले ध्यानाकर्षण भएको बताए तर, रोष्टममा उभिएका प्रधानमन्त्री ओलीले ‘प्रश्नको सीमा र मर्यादा हुन्छ’ भन्ने जवाफ दिए । प्रधानमन्त्रीको स्पष्टीकरण – ‘भुलचुकले होइन, जानीबुझी मेरो सरकार राखिएको हो ।’ त्यसपछि कांग्रेस सांसद र प्रधानमन्त्री ओलीबीच जुहारी चल्यो ।

रोष्ट्रमबाट प्रधानमन्त्रीले भने, रेकर्ड खोलेर सुनियोस् ।’ जवाफमा कांग्रेस सांसदहरुले चुनौती दिए । प्रधानमन्त्रीले प्रश्नको जवाफ चाहिएको छ कि छैन भन्ने प्रश्न गरे ।प्रधानमन्त्री र विपक्षी सांसदहरुबचि जुहारी चलिरहँदा सभामुख भने निरिह देखिए । उनले न त विपक्षी सांसदहरुलाई चित्त बुझाउन सके न प्रधानमन्त्रीलाई रोक्न सके । कांग्रेस सांसदहरुको नाराबाजीकै बीच प्रधानमन्त्री ओलीले जवाफ दिए ।

जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस वर्षदेखि काठमाडौंमा मानिसहरु माक्स नलगाई हिँड्न थालेको बताएका छन् । गत साल माक्स लगाएर हिँडे पनि यस वर्षदेखि नलगाई हिँड्न थालेको प्रधानमन्त्रीको दाबी छ ।

ओलीले भने–‘माक्स खोलेर हिँड्ने कुरो साथीहरुले गर्नुभो । पोहोर साल माक्स लाएर हिँड्नुहुन्थ्यो, अहिले त आफैं नलाई हिँड्नुभएको छ । अरु केही प्रमाणै चाहिँदैन ।’ सरकारले काठमाडौंलाई धूलोमुक्त बनाउने र उपत्यका बाहिरबाट आउने सवारी साधनहरुलाई सफा गरेरमात्रै भित्र छिर्न दिने सरकारको नीति रहेको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले काठमाडौं शहरको सफाइ योजनाबारे जानकारी दिँदै भने, ‘हामीले अब सफा कसरी–कसरी गर्छौं पनि भनेका छौं । बाहिरबाट धुलोसहित आउने गाडीहरुलाई अटोमेटिक सफाइ केन्द्रहरु बनाएर, त्यसबाट सफा बनाएर मात्रै भित्र ल्याउने जस्ता प्रवन्धहरुसमेतका विधिहरु अपनाएर सफा गर्छौं भनेका छौं । यी काल्पनिक कुराहरु होइनन् ।’

सरकारले काठमाडौंलाई सफा शहरका रुपमा विकास गर्न चाहहेको बताउँदै प्रधानमन्त्री ओलीले अहिले नै सफा गरिसक्यौं भन्न नखोजेको स्पष्ट पारे । प्रधानमन्त्रीले संसदमा भने, ‘हाम्रो प्रयास त्यसमा केन्द्रित छ । अहिले हामीले विल्कुल सफा गरिसक्यौं, शहर एकदम धुलोरहित भैसक्यो भन्ने होइन, अहिले केही निर्माण कार्यको पनि छ, केही पुराना अब्लिकेसन्सहरु पनि छन् ।’

यस्तै प्रधानमन्त्रीओलीले प्रदेश सरकार र स्थानीय सरकार केन्द्र सरकार मातहत रहेको बताएका छन् । प्रदेश र स्थानीय सरकार स्वतन्त्र सरकार नरहेको भन्दै उनले केन्द्र सरकार मातहत नै रहेको कुरा कुनै अनौठो नभएको बताए ।नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा सांसदले प्रदेश सरकारलाई केन्द्र सरकार मातहत जस्तो व्यवहार भएको भनी गरेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले यो कुनै अनौठो कुरा नभएको बताए ।

‘अहिले ७६१ सरकार छन्, कुन सरकारले के गर्ने, सबै स्वतन्त्र सरकार होइनन् । कसैले भन्दै हुनुहुन्थ्ग्यो प्रदेश सरकार केन्द्र सरकार मातहत नै हो भन्ने जसरी व्यवहार भएको छ’ उनले भने ‘केन्द्रको मातहत नै हो । संघीय सरकार, संघीय कानूनको मातहतमै प्रदेश सरकार र स्थानीय सरकारहरु हुन्छन् । यो पनि कुनै अनौठो कुरा हो र ?’

प्रदेश सरकार स्वतन्त्र सरकार होइन भन्नेमा अलमल नराख्न पनि प्रधानमन्त्री ओलीले आग्रह गरे । ‘स्वतन्त्र सरकार त होइनन् नि, ती संघीय सरकारकै मातहत हुन् । यस्तो कुरामा अलमल राख्नुहुन्न ।’

संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय गर्नका लागि प्रदेश समन्वय परिषद र अरु समन्वयकारी कामहरु भइरहेको पनि उनले बताए । प्रधानमन्त्री ओलीले चालु आर्थिक वर्षमा कुन सरकारले के काम गर्ने भन्ने विषयमा पनि थिति बसाएको बताए ।

यस्तै प्रचण्डले दलहरुले परम्परागत संसदीय प्रणालीको अभ्यास गर्ने र एक अर्कालाई निषेध गर्दै लड्ने बेला भइनसकेको बताएका छन् । आन्दोलनबाट प्राप्त उपलब्धीलाई एक दशकभन्दा बढी रक्षा गर्न नसकेको विगत स्मरण गर्दै उनले फेरि पनि खतरा आउन सक्ने बताए ।

राजनीतिक नेतृत्व आन्दोलन गर्न, परिर्वतनका निम्ति संघर्ष र बलिदान गर्न र त्याग तथा तपस्याका कीर्तिमान बनाउन सक्षम भएको तर, प्राप्त उपलब्धीलाई संस्थागत गर्ने, त्यसमार्फत जनतालाई सन्तुष्ट बनाउने र परिर्वतन अनुकुल राज्यका संरचनाहरुलाई प्रशिक्षित गर्ने, रुपान्तरण गर्न राजनीतिक नेतृत्व चुकेको उनको विश्लेषण छ ।

उनले भने, ‘राज्यका सबै संरचनालाई राजनीतिक परिर्वतन अनुकुल बनाउने क्षमता राजनीतिक नेतृत्वले प्रदर्शन गर्न सक्यो कि सकेन भनेर हे¥यो भने उत्साहवर्धक चित्र हाम्रो अगाडि आउँदैन ।’

‘यो पटक यो परिस्थितिलाई दोहोरिँदैन भनेर विश्वास गर्न सक्ने आधार हामीसँग छ त ? कि दिनप्रतिदिन परिर्वतन डाइलुट हुँदै र राज्य संरचनाका अन्य अवयवहरुले राजनीतिक नेतृत्वलाई भुत्ते बनाउन सक्ने र कहिँ न कहिँ पुरातन वा परम्परागत सोच र शैली हावी हुने खतरा छ ? यो प्रश्न अब हल भइसक्यो । अब केही हुन सक्दैन भन्ने अवस्था अझै छैन’ प्रचण्डले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्ने प्रक्रियामा यो एक वर्षका अनुभवलाई हेर्दा थुपै जटिलता देखिएको उनले सुनाए । परिर्वतन सुदृढ हुँदै जान्छ । विकास, समृद्धि हुन्छ भन्ने विश्वास जनतामा बढेको छ वा घटेको घट्दै गएको छ भन्ने अझै टुंगो लागिनसकेको भन्दै उनले भने, जनता धैर्यताका साथ हेरिरहेका छन् । सरकार र पार्टीहरुले प्रयास गर्दैछ भन्ने विश्वास लिएका छन् ।’

जसरी विगतका परिर्वतनहरु रक्षा गर्न सकेनौं, अब त्यो स्थिति हुने छैन भन्ने विश्वास दिलाउन दलहरु एकजुट हुनुपर्ने उनले बताए । हिजोको जस्तै त्याग, तपस्या र बलिदान गर्ने संकल्न नगर्ने हो भने खतराको घन्टी बज्न सक्छ । आज नभए भोलि, भोलि नभए पर्सि खतरा आउन सक्छ ।’

दलहरुको एकतामा जोड दिएका उनले अब एकअर्कासँग जति सकिन्छ निषेधात्मक रुपमा लडे हुन्छ भन्ने समय आइनसकेको बताए । सरकारको नीति तथा कार्यक्रम ठूलो आकांक्षासहित आएको उनले बताए ।तर, त्यसबारे प्रमुख विपक्षीको आशंका रहेको भन्दै उनले भने, आश्वासनको पुलिन्दा जस्तो भनेर शंका गरेको छ । त्यसो भन्नु प्रतिपक्षको धर्मभित्र छै । त्यसलाई सकारात्मक चुनौतीका रुपमा लिएर सम्पूर्ण रुपमा कार्यान्वयनका लागि जिम्मेवार हुनुपर्ने ठान्छु ।’

प्रकाशित मिति : २५ बैशाख २०७६, बुधबार ०३:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।