शुक्रबार जेठ ३ गते सम्म नेकपा पार्टी एकताको बाँकी काम सक्ने भनेर सार्वजनिक प्रतिवद्धता व्यक्त गरेका शिर्ष नेताहरुले केहि हद सम्म भए पनि आफ्नो वाचा पूरा गरेका छन् । जेठ २ गते बिहिबार बसेको नेकपा सचिवालयको बैठकले अधिकांश जनवर्गीय संगठनको संयोजक र सह-संयोजक टुंग्याएको हो ।
बिहीबार सचिवालय बैठकले २३ जनसंगठनमध्ये तत्कालीन नेकपा एमाले पक्षलाई १६ र नेकपा माओवादी केन्द्र पक्षलाई ६ जनसंगठनको नेतृत्व दिएर भागबन्डा टुंग्याएको हो । मधेसी संगठनको नेतृत्व भने टुंगो लाग्न अझै बाँकी छ । पहिला एउटा पक्षले संयोजकको जिम्मा पाएको थियो अहिले तेही संगठनमा अर्को पक्षलाई सह-संयोजक दिइएको छ ।
बैठकपछि नेकपा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मदन–आश्रित स्मृति दिवसका अवसरमा शुक्रबार बिहान तत्कालीन एमाले कार्यालय बल्खुमा आयोजना हुने श्रद्धाञ्जली कार्यक्रममा सबै जनसंगठनको नेतृत्वको नामावली सार्वजनिक गरिने बताए छन् ।
नेकपाको स्थापना पनि (आजै) शुक्रबार नै एक वर्ष पुग्दै छ । मदन–आश्रित स्मृति दिवसमा बल्खुमा आयोजित कार्यक्रमलाई अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गर्ने केन्द्रीय कार्यालयसचिव कृष्णगोपाल श्रेष्ठले बताएका छन् ।
केन्द्रीय सचिवालय सदस्य वामदेव गौतमसहित केही केन्द्रीय सदस्यसमेत जनवर्गीय संगठनको संयोजक हुन पाएका छन् । वामदेव किसान महासंघको संयोजक तोकिएका छन् । तत्कालीन एमालेमा पनि उनी किसान महासंघकै अध्यक्ष नै रहेका थिए ।
त्यस्तै, जनजाति महासंघको संयोजक तोकिएका सुरेश आलेमगर र सहसंयोजक शेरबहादुर तामाङ पार्टी केन्द्रीय सदस्य हुन् । प्रेस संगठन नेपालको संयोजक बनाइएका महेश्वर दाहाल पनि पार्टी केन्द्रीय सदस्य नै हुन् ।
जनसंगठनको नेतृत्वमा रहेका अन्य पार्टी केन्द्रीय सदस्यमा युवा संगठन संयोजक रामप्रसाद सापकोटा (दीपशिखा) , भूमिहीन किसानका संयोजक रामप्रित पासवान, मजदुर संयोजक विनोद श्रेष्ठ छन् ।
त्यस्तै, महिला संयोजक अमृता थापामगर र सहसंयोजक सीता पौडेल, पेसागत महासंघ संयोजक विश्वनाथ प्याकुरेल, जनसांस्कृतिक महासंघ संयोजक खगेन्द्र राई, दलित संगठन संयोजक तिलक परियार पनि पार्टी केन्द्रीय सदस्य हुन् ।आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।




















प्रतिक्रिया