Logo

प्रमुख समाचार

बेलायती मन्त्रीद्वारा प्रचण्डसँग गोप्य भेट, यस्तो छ कुराकानी



बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सग (Baroness Sugg)ले आज दिउँसो नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डसँग भेट गरेकी छन् ।

ललितपुरस्थित अध्यक्ष निवास खुमलटारमा भएको भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका बिषयमा छलफल भएको थियो । भेटमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरु आर्थिक समृद्धिका लागि अगाडि बढेको बताए ।

उनले भने, ‘ आर्थिक विकासका लागि हामीलाई धेरै प्राविधिक जनशक्तिको आवश्यकता पर्ने भएकाले हामीले शिक्षा क्षेत्रमा आमूल परिवर्तन गरी वर्तमान सरकार र पार्टीले व्याबहारिक तथा व्यवसायिक शिक्षालाई उच्च प्राथमिकतामा राखेका छौं ।’

अध्यक्षले शान्ति प्रक्रिया, नयाँ संविधान र तीन तहको निर्वाचन पश्चात अबको देशको आर्थिक समृद्धिमा नै एक मात्र लक्ष्य रहेको प्रष्ट्याए । देशमा लगानीमैत्री वातावरणका लागि वर्तमान समय उचित रहेको बताउदै अध्यक्षले कृषिमा आधारित उद्योग, पर्यटन, जलविद्युत र भौतिक पूर्वाधारका क्षेत्रमा लगानी आवश्यक रहेको औल्याए ।

बेलायतकी मन्त्री सगले नेपालमा महिलाहरुको राजनीति र सामाजिक क्षेत्रमा भएको सहभागिताले आफू अत्यन्त प्रभावित बनेको बताए। उनले स्थानीय, प्रदेश र केन्द्रका निर्वाचनमा महिलाहरुको सहभागिता दुनियाँका लागि उदाहरणीय कार्य भएको बताउए । उनले नेपालको आर्थिक समृद्धिको निम्ति बेलायत सरकार पनि सहयोगका लागि तत्पर रहेको बताए ।

प्रकाशित मिति : ८ जेष्ठ २०७६, बुधबार १७:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।