Logo

प्रमुख समाचार

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने



साताव्यापी युरोप भ्रमणबाट फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार ११ बजे संसदमा सम्बोधन गर्ने भएका छन् । विदेश भ्रमण गरेर स्वदेश फर्केपछि प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्ने चलन छ । उनले युरोप भ्रमण र विभिन्न विधेयकमाथि उठेका प्रश्नबारे संसदलाई जानकारी दिने उदेश्यले सम्बोधन गर्न लागेका हुन् ।

गुठी विधेयक र मिडिया काउन्सिल विधेयकलाई लिएर सम्बन्धित पक्षले निरन्तर आन्दोलन गर्दै आइरहेका छन् । सरकारले पेश गरेको गुठी विधेयकको विरोधमा आन्दोलन चर्किएपछि सोमबार प्रधानमन्त्री ओलीले नेकपाबाट विजयी काठमाडौं उपत्यकाका संघीय सांसद, प्रदेश सांसद र महानगरपालिकाका मेयर, उपमेयर र वडाध्यक्षलाई डाकेर सुझाव लिएका थिए ।

प्रधानमन्त्रीले समसामयिक विषयमा संसदमा आफ्ना कुरा राख्ने नेकपाका एक नेताले बताए ।

नक्कली भ्याट बिल बनाई ४ अर्बभन्दा बढीको राजस्व छली

७ सयवटा कम्पनीले झुटो तथा नक्कली बिल प्रयोग गरी ४ अर्ब रुपैयाँभन्दा बढी राजस्व छली गरेको पाइएको छ । राजस्व अनुसन्धान विभागले गरेको अनुसन्धानबाट ती कम्पनीले नक्कली भ्याट बिल खरिद गरी राजस्व छलेको देखिएको हो ।

विभागले अहिले नक्कली भ्याट बिल खरिद गर्ने ती ७ सय कम्पनीलाई निगरानीमा राखेको छ । त्यसमध्ये ५६ वटा कम्पनीमाथि अनुसन्धान नै भइरहेको छ । ७ सय कम्पनीले साढे ७ अर्ब रुपैयाँबराबरको नक्कली भ्याट बिल खरिद गरेर राजस्व छलेको प्रारम्भिक चरणको अनुसन्धानबाट देखिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

आयातकर्ता, अस्पताल, बहुराष्ट्रिय कम्पनीदेखि जलविद्युत् कम्पनीसम्मले नक्कली भ्याट बिल खरिद गरी राजस्व छलेका हुन् । यद्यपि, ती फर्म तथा सञ्चालकको नाम भने अहिल्यै सार्वजनिक गर्न नमिल्ने उनले बताए । ‘प्रारम्भिक चरणको अनुसन्धानबाट ४ अर्बभन्दा बढीको राजस्व छली भएको देखिएको छ,’ महादिर्नेशक मैनालीले भने, ‘राजस्व छली गर्ने कम्पनी र छली गरिएको परिमाण अझ बढ्न सक्छ ।’

अहिलेको अनुसन्धानलाई आधार मान्दा राजस्व छलीमा बिगो, जरिवाना तथा ब्याजसमेत गरी १८ अर्ब रुपैयाँ माग दाबी गर्दै मुद्दा दायर गर्नुपर्ने देखिएको उनले बताए ।

शंकास्पद फर्मको कारोबार निगरानीमा

अनुसन्धान गरिएका फर्मको ०७५ मसान्तअघिको कारोबारमा राजस्व छली भएको देखिएको हो । विगतको कारोबारमा अनुसन्धान गर्दा नक्कली भ्याट बिलको प्रयोग भएको र त्यसबाट अर्बौँ राजस्व छली भएको पाइएको उनले बताए । ‘रातारात पैसा कमाउन खोज्ने व्यवसायीले यस्तो काम गरेको पाइयो,’ उनले भने, ‘त्यसैले विगतको कारोबारलाई अनुसन्धान गर्दै शंकास्पद कम्पनीको वर्तमान कारोबारलाई समेत निगरानीमा राखिएको छ ।’

नक्कली बिल बनाउने ८० फर्म

विभागले झुटो तथा नक्कली बिलबीजक जारी गर्ने ८० व्यावसायिक फर्मको पहिचान गरेको छ । त्यसमध्ये ठूलो रकमको नक्कली बिलबीजक बिक्री गर्ने एक व्यक्तिलाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको उनले बताए । ‘८० मध्ये ८ कम्पनीले नै ३ अर्ब रुपैयाँभन्दा बढीको नक्कली बिल बनाएर बिक्री गरेको पाएका छौँ,’ महानिर्देशक मैनालीले भने, ‘नक्कली बिल बनाई बिक्री गर्ने र त्यो बिल खरिद गरी राजस्व छल्ने दुवै प्रकारका फर्मको अनुसन्धान भइरहेको छ, छिट्टै मुद्दा हाल्नेछौँ ।’

यसअघि विभागले २१ फागुनमा भुटो तथा नक्कली बीजक बिक्री गरी राजस्व छली गर्ने २४ वटा फर्मका सञ्चालकविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको थियो । विभिन्न अनपढ मजदुरहरूको नाममा व्यापारिक फर्म दर्ता गराई झुटो तथा नक्कली कर बीजक जारी गरी १ अर्ब ७५ करोड रुपैयाँ राजस्व छली गरेको भन्दै जयकिशोर साह र परमेश्वर साहसहित २४ जनाविरुद्ध मुद्दा दर्ता गराएको थियो ।

अवैध सुन कारोबार गर्नेलाई १ अर्ब ६६ करोडको मुद्दा

राजस्व अनुसन्धान विभागले १ सय ५६ किलोग्राम सुनको चोरी–पैठारी तथा अवैध कारोबार गरेको आरोपमा रौतहटका दुईजनाविरुद्ध रौतहट जिल्ला अदालतमा मुद्दा दर्ता गराएको छ । सुनको चोरी–पैठारी तथा अवैध कारोबार गरी १ अर्ब ६६ करोड २० लाख ४७ हजार रुपैयाँबारबरको राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन गरेको ठहर गर्दै गौर नगरपालिका–५ का अनुकेशकुमार साह र विजयकुमार साहविरुद्ध गत शुक्रबार मुद्दा दर्ता गराएको हो ।

प्रतिवादी विजयकुमार साह गौरमा रहेका छेमा माई ज्वेलर्सका सञ्चालक हुन् । साहद्वयले सुनको चोरी–पैठारी तथा अवैध कारोबारबाट ८३ करोड १० लाख ४७ हजार रुपैयाँ राजस्व चुहावट गरेको तथा ८३ हजार १० लाख ४७ हजार रुपैयाँ विदेशी विनिमय अपचलन गरेको विभागको ठहर छ । विभागले उनीहरूलाई राजस्व चुहावटको दोब्बरसम्म जरिवाना र विदेशी विनिमय अपचलनको तेब्बरसम्म जरिवाना गरी ३ वर्षसम्मको कैद माग दाबी गरेको छ ।

यसरी छलियो राजस्व

विभागले प्राइभेट फर्म खोल्ने, तर कुनै मालवस्तु तथा सेवाको कारोबार नगर्ने कम्पनीमाथि निगरानी बढाएको थियो । केही शंकास्पद फर्ममाथिको अनुसन्धानबाट नक्कली भ्याट बिल बनाउने र बिक्री गर्ने गिरोह नै देखिएको विभागका महानिर्देशक मैनालीले बताए ।

त्यस्ता गिरोहले ज्याला–मजदुरी गर्ने अनपढ व्यक्तिलाई प्रलोभनमा पारी उनीहरूको नाममा कम्पनी खोल्ने, उक्त कम्पनीबाट मालवस्तुको कारोबार गरेनन्, तर झुटो बिलबीजक जारी गरे र मालवस्तुको कारोबार गर्ने कम्पनीहरूलाई बिक्री गरे । अनि कम्पनीले नक्कली बिलबीजक देखाएर राजस्व छल्छन् ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलवार ०३:०६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।