Logo

प्रमुख समाचार

सबै जनतालाई खर्पनमा बोकेर हिँड्ने प्रधानमन्त्री केपी ओलीको घोषणा



प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका लागि अहिले उपयुक्त समय भएको बताएका छन् । राष्ट्रिय युवा परिषदले आयोजना गरेको संघीय नमुना युवा संसदको बैठकलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले विगतका शासकका कमजोरी र निजी स्वार्थले नेपालको विकास हुन नसकेको उल्लेख गरे । ‘विगतका शासकहरुको अदुरदर्शिता र निजी स्वार्थका कारणले देशको विकास हुन सकेन तर अब त्यो अवस्था छैन’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले आफ्नो लागिभन्दा देशको स्वार्थलाई माथि राख्नेहरु सरकारमा छन् । त्यसकारण नेपालको विकास गर्न समस्या छैन ।’

प्रधानमन्त्री ओलीले देशमा अहिले काम गर्न सक्ने जनसंख्याको बाहुल्यता भएकोले पनि देश विकासका लागि अनुकूल समय भएको बताएका छन् । ‘हामीसँग यतिबेला युवा जनसंख्या ४० प्रतिशत र काम गर्न सक्ने जनसंख्या ६० प्रतिशत छ’ प्रधानमन्त्री ओलीले भने, ‘जनसांख्यिक लाभको यो अवसरलाई हामीले सदुपयोग गरेर देश विकास गर्न सक्दछौं ।’

प्रधानमन्त्री ओलीले आफूले २०४० सालतिर जेलमा छँदा खर्पन भन्ने कविता लेखेको स्मरण गर्दै देश विकासका लागि आफू सबै जनतालाई खर्पनमा बोकेर हिँड्न तयार भएको उल्लेख गरे । ‘देशको विकासका लागि म युवालाई, बालबालिकालाई, ज्येष्ठ नागरिकलाई दुवैतिर खर्पनमा बोकेर हिँड्न तयार छु’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नमुना युवा सांसदले युवाहरुमा देश कसरी सञ्चालन गर्ने, वकास कसरी गर्ने त्यसका सैद्धान्तिक तरिकाहरु के कस्ता हुन्छन् भन्ने कुरा जानकारी दिने बताए । ‘उहिले हाम्रा पालामा सरकारले तँ राजनीति गर्ने, मन्त्री हुने भन्दै जेलमा लगेर कुट्थ्यो’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले सरकारले बोलाएरै तपाईंहरुलाई राजनीति गर्न सिकाइरहेको छ । यो सिकाइलाई समाज सुधारसँग तपाईंहरुले जोड्नुहुन्छ भन्ने अपेक्षा छ ।’

प्रकाशित मिति : २९ असार २०७६, आईतवार १२:०८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।